स्वास्थ्य क्षेत्र अस्तव्यस्त: पूर्वाधार र संरचना पर्याप्त नहुँदा बिरामी प्रताडित


असोज २७, काठमाडौँ । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो ।

अस्पतालमा बिरामीहरू पुग्दा सजिलै उपचार पाउँदैनन् । यस्तै, बिरामीले अस्पतालमा आईसीयू र भेन्टिलेटर खोज्दा सहजै नपाएको गुनासो गर्दै आएका छन् । कतिपय लक्षणसहितका संक्रमित घरमा बस्न विवश छन् ।

कीर्तिपुर मैत्रीनगरका ४८ वर्षीय एक पुरुषमा लक्षणसहितको संक्रमण देखियो । उनका आफन्तले आईसियूका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर, आईसीयू बेड खालि नभएको अस्पतालबाट जानकारी पाए । उनका आफन्तले भने, ‘के गर्नु धेरै अस्पतालमा फोन गरें, बेड छैन भन्ने जबाफ पाएँ । सोर्सफोर्स भएकाले मात्रै पाउँछन् होला । अन्त्यमा वयोधा अस्पतालमा लगें ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर २ हजार ६ सय आईसीयू बेड र ९ सय वटा भेन्टिलेटर रहेका छन् । जब कि सक्रिय संक्रमित नै ३३ हजार ८ सय ८० पुगेका छन् । तीमध्ये अधिकांशमा लक्षण देखिएको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर दर्तावाल चिकित्सकको संख्या २६ हजार ३ सय ४६ रहेको छ । पर्याप्त चिकित्सक ग्रामीण क्षेत्रमा नपुग्दा पनि बिरामीहरू घरमै रोग पालेर बस्न विवश छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये ६७ जना भेन्टिलेटरमा र २७९ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ७६ भेन्टिलेटर र १ सय ८१ वटा आईसियू छन् । हाल बाग्मती प्रदेशमा १ सय ५५ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा उपचाररत छन् । यसरी हेर्दा पनि ३० वटा भेन्टिलेटर र २१ आईसीयू खाली देखिन्छन् । तर, गम्भीर प्रकृतिका बिरामीले अस्पताल पुग्दा भेन्टिलेटर र आईसीयू नभएको जबाफ पाउने गरेका छन् ।

तर, स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटरहरू अन्य बिरामीहरूलाई पनि प्रयोग भएका कारण कोरोना संक्रमितहरूले पाउन नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सार्न सकिने इलेक्ट्रिक सर्जरीहरू अलिकति सारेर इमर्जेन्सी अप्रेसन मात्रै गरौं । त्यसबाट खालि हुन आएका आईसीयू तथा भेन्टिलेटरहरू कोभिड १९ का बिरामीका लागि प्रयोग गर्न दिनुपर्छ ।’

सरकारले अस्पतालहरूमा बेड अभाव हुन थालेपछि आकस्मिकबाहेकका शल्यक्रिया तत्काल नगर्न उपत्यकाका सरकारी अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले मन्त्रालयले सबै सरकारी अस्पताललाई आकस्मिकबाहेकका नियमित शल्यक्रिया हाललाई नगर्न निर्देशन दिएको बताए ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारले स्वास्थ्य पूर्वाधार विकासमा जोड नदिएको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संरचना विकासमा जोड दिनुपर्छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधारको निकै अभाव छ ।’ कोरोना व्यवस्थापनमा सरकारको तयारी अपूरो भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

२०७७ आश्विन २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको