कोराना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा


साउन २९, काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । केही दिनदेखि अस्पतालमा उपचाररत मुखर्जीको ‘भाइटल प्यारामिटर’ भने स्थिर रहेको सेनाको अनुसन्धान र रेफरल (आरएन्डआर) अस्पतालले बताएको छ ।

उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको मस्तिष्क शल्यक्रिया पनि गरिएको थियो ।

८४ वर्षीय मुखर्जीले सोमबार ट्वीटरमा आफुलाई कोरोना संक्रमण भएको जानकारी गरेका थिए । उनको मृत्युबारे अफवाह फैलिरहेको भन्दै परिवारले गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् ।

उनका छोरा अभिजितले बिहीबार ट्वीट गर्दै संचारमाध्यमहरूलाई मुखर्जीको स्वास्थ्यको बारेमा नक्कली समाचार बन्द प्रसारण गर्न आग्रह गरेका छन् । “प्रतिष्ठित पत्रकारहरूले सोशल मीडियामा प्रसारण गरिरहेको अनुमान र नक्कली समाचारले भारतमा मिडिया फेक न्यूजको कारखाना भएको कुरा स्पष्ट पार्छ,” उनले भने।

मुखर्जीको छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट गर्दै भनेकी छिन्, ‘मेरो बुवाबारे फैलाइएको हल्ला अफवाह हुन् । खासगरी मिडियालाई मलाई फोन नगर्न आग्रह गर्छु । अस्पतालबाट आउने सूचनाका लागि मैले फोन फ्रि राख्नुपर्ने हुन्छ ।’

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

स्रोत : हिन्दूस्तान टाइम्स

२९ श्रावण २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको