कर्णालीबाट विप्लव नेकपाका १३ जना कार्यकर्ता पक्राउ


साउन २९, सुर्खेत । देशभर कोरोना महामारीको जोखिम र संक्रमण बढीरहेका बेला पनि सरकारले विप्लव नेतृत्वको नेकपामाथिको धरपकड तीव्र पारेको छ । एक सातामा मात्रै प्रहरीले कर्णाली प्रदेश अन्तर्गत १३ जना नेकपाका नेता कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईरदुई, दैलेख र डोल्पाबाट एकरएक गरी १३ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट नेकपाका कार्यकर्ता कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ । दुवै जना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।
प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले पक्राउको पुष्टी गरेका छन् ।

रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ । रावलसहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, पार्टीका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेका हुन् ।

त्यस्तै, दैलेखको आठबीस नगरपालिका–६ का उदय विक, मुगुको सोरु गाउँपालिका–६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, जुम्लाको हिमा गाउँपालिका–७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँपालिकाकी सपना बुढा पक्राउ परेका छन् । जुम्लाको गोठीचौर गाउँपालिका–१ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका–४ का मोहन केसी र सोही नगरपालिका–२ का सेजन चन्द पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये सल्यानबाट एक जनालाई छाडिएको छ भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एक जनालाई मुद्दा दर्ता गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता बास्तोलाले उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको जनाए ।

०७५ साल फागुण २८ मा प्रतिवन्ध लगाए पछि नेकपामाथि सरकारले निरन्तर दमन र धरपकड शुरु गरेको थियो ।

हाल सम्म १५ सय बढी नेता कार्यकर्ता पक्राउ गरिएको, त्यस मध्य कोही जेलमा , कोही हिरासतमा रहेका छन् भने कतिपय रिहा भएका छन् ।

कोरोनाले प्रहरी थुनुवा सबै संक्रमित भईरहेको अवस्थामा समेत नेकपाका नेता कार्यकर्ता पक्राउ गर्न भने छाडिएको छैन ।

२०७७ श्रावण २९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको