कर्णालीमा राजनीतिक विवाद: मुख्यमन्त्रीले हटाए संसदीय दलका प्रमुख सचेतकलाई


असोज २६, सुर्खेत । नेकपाको कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाएका छन्। मुख्यमन्त्री समेत रहेका शाहीले शाहको ठाउँमा सांसद सीता नेपालीलाई नियुक्त गरेका छन्।

प्रमुख सचेतकको रूपमा रही सन्तोषजनक कामकारबाही नगरेकोले उनलाई हटाइएको शाहीले जानकारी गराएका छन्।

‘प्रदेश सभा दलको विधान ७ बमोजिम प्रदेश सभा प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले जिम्मेवारबाट मुक्त गरिएको छ,’ संसदीय दलका नेता शाहीले लेखेको पत्रमा भनिएको छ।

आइतबार मुख्यमन्त्री शाहीविरूद्ध पूर्वमाओवादीका ३ जना‍सहित १८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव तत्कालीन संसदीय दलका प्रमुख सचेतक शाहलाई बुझाइएकोमा उनले आइतबार नै दर्ता गराएका थिए।

अविश्वासको प्रस्ताव दर्ता गरेको केही घन्टापछि उनले संसदीय दलको बैठकसमेत आह्वान गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता गर्न नेतृत्व गरेका ओली पक्षका नेता तथा मुख्यमन्त्रीका आकांक्षी यामलाल कँडेलको पक्षमै रहने शाहले छिट्टै बैठक बोलाएपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरेको बुझिएको छ।

२६ आश्विन २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको