भुम्या पर्व नाम कसरी रहन गयो ?


 

धुर्ब पुन ‘गुमाने’, रुकुम पुर्ब:

यो पर्व विभिन्न जिल्ला र गाउँमा विभिन्न नामले परिचित छ । रुकुम जिल्लाको गाउँहरुमा यस पर्वलाई मगर खामबाट कतै बलकै कतै बुल्कु र कतै नोगोवाङ्गे पनि भन्ने गरिन्छ । रोल्पा जिल्लाको गाउँहरुमा यस पर्वलाई मगर खामबाट नामक र नोगोवाङ्गे भन्ने गरिन्छ भने बागलुङ जिल्लाको गाउँहरुमा यस पर्वलाई मगर खामबाट नाम पुजा भन्ने गरिन्छ । खसकुरामा भने समग्रमा सबैले बलपुजा भन्ने गर्दछन् ।

बसाइँसराइको कारणले शहरिय क्षेत्रमा आजभोलि सबैले भुमे, भुम्या पुजा भन्ने गरिएको छ । बास्तबमा यो पर्वको नाम मगर खामबाट नाम पुजा र नेपाली भाषाबाट भुमि पुजा हो । मगर खामबाट त्यही नाम रहे पनि खसकुराबाट भने भुमिबाट अपभ्रमस भएर भुम्या भएको कारणले अहिले भुम्या पर्व भन्ने गरिएको छ ।

“भुम्या पर्व मगर जातिको इतिहास र राज्यसत्तासंग जोडिएको छ ।”

भुम्या पर्व मगर जातिहरुले भुमिदेवता माथि बिजय प्राप्त गरि दैवीय बिपत्तिबाट आफुलाई जोगाएको उपलक्ष्यमा मनाएको एक उत्सव हो । यो भुम्या पर्व मगर जातिका १२ गणराज्य र १८ गणराज्यहरु मध्य बिशेष गरि १८ गणराज्य भित्रको क्षेत्रमा मनाउने गरिन्छ ।

अहिले बसाइँसराइको प्रभावले देश तथा बिदेशहरुमा पनि मगर खाम बोल्ने बाहुल्यता भएको सबै ठाँउहरुमा धुमधामका साथ मनाउने गरेको पाइन्छ । तर यो साल भने कोरोना भाइरसको आक्रान्तले गर्दा मनाउने सम्भावना देखिदैन ।

यो भुम्या पर्व मनाउन जेठको एक गते नै गाउँका युवा युवतीहरु जम्मा भइ रक्सी लगि गाउँका दमाईहरुको घरमा बाजा फुकाउन जाने गर्दछन् । दिनभरि आ-आफ्नो काम गरेर साझ पख गाउँका युवायुवती, बुढापाका र केटाकेटीहरु सबै खुला ठाउँमा जमा भई दमाइहरुले दमाह, झ्याली, सनाई लगायतका बाजागाजाहरु बजाइ महिला र पुरुषहरुको लाइन छुट्टै गोलो भइ दमाहको तालमा सबै मिलि नाच्ने गर्दछन् ।

यसरी जेठको एक गते देखि शुरु गरिएको समसान्तसम्म अभ्यासको रुपमा नाच्ने गरिन्छ भने केही युवा युवतीहरुले बुकीबाट बुकी फुल टिपेर मसान्त साझ सम्म ल्याउने गर्दछन् ।

सक्रान्तिका दिन गाउँका मुखिया, पन्च भद्रबलादमी, कामी दमाई, कटुवाल, जैसी, सबै तिबिल्या अर्थात कोषाध्यक्षको घरमा जम्मा भइ जैसिले बल हाल्ने शुभ हुने राम्रो लगन घडी अर्थात समय निकालिन्छ । उक्त बल हाल्ने समयको जानकारी कटुवालले अग्लो ठाउँमा गई ठूलो स्वरमा सबैले सुन्ने गरि सन्देश प्रबाह गर्दछ र बल हाल्ने समयमा हल्ला खल्ला गर्‍यो भने भुमे देवता आउदैन भनी बन बार्ने गरिन्छ बन बारेको समयमा जो जहाँ छ त्यही हुनु पर्ने बल नहाल्दासम्म गाउँको मान्छे पनि बाहिर नजाने बाहिरको मान्छे पनि गाउँ आउन नपाउने गरि लकडाउन गर्ने गरिन्छ ।

बल तान्ने सिर्पाली र पुजारी भने पहिले नै चयन गरि राखिएको हुन्छ कदमकदाची कारण बस चयन गरिएको पुजारी र बल तान्ने सिर्पालिको घरमा जुठो परेको खन्डमा भने तुरुन्तै अरुलाई चयन गर्ने गरिन्छ । सक्रान्तिको दिन तिबिलमा जमा भएका पन्च, मुखिया, भद्रबलादमी, कामी, दमाई, सबैलाई अर्निको रुपमा तिबिल्याले रक्सी दिने गर्दछ । यहि बैठकमै गाउँको सरसल्लाह गरिन्छ ।

अर्नि खाएपछि “थाँती तेन्या” अर्थात नाच्ने ठाउँको उदघाट्न गर्न गाजाबाजाको पुजापात गरि बाजा बजाउदै थातीमा पुगि नाचको उदघाट्न गरिन्छ । सबै आ-आफ्नो घरमा खाना खान जान्छन् । पुजारी, शिर्पाली र एकजना दमाई दमाहका साथ मुलको पानीमा पुगि बल अर्थात भुमि देवतालाई भोग दिने भेडा साँधेलाई मुलको पानीले मन्छाइ चोख्याई भुकीबाट टिपेर ल्याएको भुकी फुलले सिङ्गारी जैसीले भनेको समयमा दमाइले एकोहोरो दमाह बजाउदै शिर्पालीले बललाई तानेर गाउँको बिचबाट ल्याउने गर्दछ ।

गाउँका सबै गाउँलेहरु भिर वा ठूलो ढुङ्गाहरुको वरिपरि पाउने पात (हाँपला ख्या) मा खरानी ध्वसो र दशैमा ढोकाको संघारमा राखिएको गाइको गोबरको टिकालाई उपकाइ मकैको सानो बोटसंग पोका पारेर कसैले नाङ्गलोमा राखी त्यस बललाई हाम्रो सबै दु:ख, मैलो, ग्रहदशा यसैले लगेर जाओस् भनी सबैले हान्ने र बलको माथी फ्याकी दिने चलन छ ।

बल हाल्दै गर्दा बल जुन सायद तिर हाम फाल्छ त्यो सायदमा कुनै घटनाहरु हुने संकेत समेत दिने गर्दछ । यसरी बललाई तानेर गाउँ निकाला गरि गाउँ देखि अलि टाढा लागि ढुंगाको सानो थान बनाई सिमेभुमे, भुमि देवता सबै दाइनो हुनु, हाम्रो गाउँबस्तीहरुमा बाढि, पहिरो नजाओस, अन्नमा किरामिरा नलागोस, रोग ब्यथा नलागोस भनी पुजारीले चोखो पानीले मन्छाउछ र माने पछि त्यस भेडा साँधेलाइ काटेर भोग दिई पुजा गरिन्छ र त्यो पुजा गरेको भेडाको आन्द्रा पात्रो हेरेर गाउँमा कुनै घटना घट्ने तथा अनिकाल सुबिकाल हुने समेत पत्ता लगाउने गरिन्छ ।

पुजा गरिएको भेडालाई तिबिलमा लगि पुजारी शिर्पाली र कटुवाल दमाइको भाग छुट्याइ गाउँका सबै मुखिया पन्च भद्रबलादमी बसि पकाएर प्रसादको रूपमा रक्सीसंग खाने गरिन्छ ।

यसै अवसरमा वार्षिक जनगणना तथा आर्थिक बर्षको आयव्यय प्रस्तुत तिबिल्याले गरेपछि गाउँको नियमविनियमहरु पनि हेरफेर गरि समय सापेक्ष कुनै नियमविनियमहरु खारेजी र थप गरि जनप्रतिनिधि समेत चयन गर्ने गरिन्छ । जुन प्रथा अहिलेसम्म पनि नेपालको दुरदराजका गाउँहरुको गोठालोहरुमा जीवितै छ ।

यस पर्वमा जाड, रक्सी, तेलमा पकाएको रोटी, मासु लगायत मिठामिठा खानाको परिकाहरु पकाइ खाने, टाढाबाट आएका चेली, आफ्न्त पाहुनाहरु सम्मान गर्दै दु:खसुखका कुराहरु गर्ने अनि आफ्नै भेषभुसामा सजिएर नयाँ नयाँ लुगाहरु लगाएर बच्चा देखि युवा, वृद्ध महिला पुरुष, दमाह झ्याली सनाई लगायतका बाजाहरुको बाईस बाजाको बाईस तालमा महिला पुरुष गोलो भएर नाच्दै रमाइलो गरिन्छ । केटाहरुले “कोइ बाचम्ला कोइ मरम्ला फेरौ रहर” भन्दै हंकार हाल्दै नाच्ने गरिन्छ भने केटीहरुले “गाई भैसीलाई किन न दाम्लो बाखरीलाई खोर साइलो” भन्दै गीत गाउदै दमाह झ्याली सनाइहरुको तालमा नाच्ने गरिन्छ । यो गीतको अर्थ त्यो समयमा गाइभैसी गोठमा नबाँधिकन छडिएका हुन्थे भने बाख्रालाई भने खोर भित्र थुनिएको हुन्थ्यो सुरक्षाका हिसाबले बाख्रालाई जंगली जनावरहरुले सजिलै आक्रमण गर्ने भएकोले खोर बनाएर राखिएको हुन्थ्यो त्यसैलाई महिलाहरुले प्रतिगात्मक रूपमा आफुलाई बाख्रा जस्तै बन्धनमा राखिएको र पुरुषहरु मात्र छाडिएका गाइ भैंसी झै किन हो ? जस्ता गीतहरु गाउदै रमाइलो गर्ने गरिन्छ ।

यसै कारणले गर्दा भुम्या पर्व मगर जातिको इतिहासक र राज्यसत्ता संग जोडिएको पर्व हो । यो पर्व तीन देखि पाँच दिन सम्म मनाउने गरिन्छ । अहिले आ-आफ्नो अनुकुल अनुसार मनाइ रहेको पाइन्छ ।

मगर जातिको भुमि पुजा कसरी शुरूवात भयो ?

किम्वदन्ती अनुसार परापुर्ब कालमा गाउँदेखि नजिकै एउटा खोला थियो । त्यस खोलाबाट गाउँलेहरुले पानी खाने गर्दथे । खोलामा पानी भर्न जाने क्रममा प्रत्येक दिन बेलुका पानी भर्न जाने मान्छे हराउन थाले पछि गाउँलेहरु छक्क पर्दै, त्यो पानी भर्न जाने मान्छे कहाँ हराउदो रहेछ या कुनै जीव जन्तुले खादो रहेछ भनी गाउँले सबै चिन्तित हुन्छन् ।

गाउँलेहरुले पानी भर्न जाने बाटो र खोलाको वरिपरि लुकेर चियो गरि पत्ता लगाउने निधो गर्दछन् । त्यसपछि केही ब्यक्तिहरु चियो गर्न पानी भर्न जाने बाटो र खोलाको वरिपरि लुकेर बसिरहेका बेला बेलुकी पखको समयमा एउटी आइमाई गाउँ बाट गाग्रो लिएर खोलामा पानी भर्न आउँछ, पानी भरेर गाग्रो बोकि घरतिर फर्किदै गर्दा खोला नजिकैको ठूलो ढुङ्गाको कोप (कोप्चेरा) बाट एउटा अजङ्गको भयंकर ठूलो डरलाग्दो सर्प जस्तो जन्तु निस्केर ती गाग्रो बोकि जाँदै गरेको आइमाईलाई च्याप्प समाएर क्वाप्प खाएको देख्छन् ।

त्यस्तो देखेपछि चियो गर्न बसेका ब्यक्तिहरु आत्तिदै गाउँ पुगि सबै गाउँलेहरुलाई जम्मा गरि उक्त घटनाको बारेमा बताउँछन् । गाउँलेहरु छक्क र चिन्तित हुन्छ्न । सबै गाउँलेहरु छलफल गरी त्यो अजङ्गको भयंकर ठुलो डरलाग्दो सर्प जस्तो जन्तुलाई तह लगाउने योजना बनाउछन् ।

छलफलमा गाउँको सबै भन्दा शुरो र बलियो ब्यक्ति एकजना शिर्पाली कामी रहेको र त्यस कामीको अगुवाइमा ठुलो एउटा फलामको सनासो बनाउने र त्यो सर्प जस्तो जन्तुको घाँटीमा सनासोले समाइ मार्ने निधो गर्दछन् ।

गाउँलेहरुको त्यस योजना मुताविक नै गाउँको सबैभन्दा शुरो र बलियो ब्यक्ति शिर्पाली कामीले ठूलो फलामको सनासो लिएर त्यो अजङ्गको ठुलो डरलाग्दो सर्प जस्तो जन्तु निस्कने ठूलो ढुंगाको कोप (कोप्चेरा) पछाडि लुकेर बस्छ अनि अरु ब्यक्तिहरु पनि बाटोको दायाँबायाँ लुकेर बस्छन् ।

यसै क्रममा गाउँबाट एकजना आइमाई गाग्रो लिएर पानी भर्न खोलामा आउँछ । खोलाबाट पानी भरेर घर फर्किदै गरेको आइमाईलाई खोला नजिकैको ठुलो ढुंगाको कोप (कोप्चेरा) बाट अजङ्गको ठुलो डरलाग्दो सर्प जस्तो जन्तु निस्केर ती आइमाईलाई च्याप्प समाएर क्वाप्पै खान लाग्दा पछाडिबाट शिर्पाली कामी आएर फलामको सनासो दुबै हातले दह्रोसंग समाएर त्यो सर्प जस्तो जन्तुको घाँटीमा समाइ दिन्छ र बाटोको दायाँबायाँ लुकेर बसेका ब्यक्तिहरु पनि आएर सबैले पालो पालो गरि सनासोले समाइ छोड्दैनन् ।

त्यसपछि जब सर्प मर्ने अबस्थामा पुग्यो तब सर्पले भन्छ, मलाई मर्‍यौ भने तिमीहरूलाई नराम्रो हुन्छ त्यसैले मलाई छोड । तर गाउँलेहरुले छोडेनन् र सोधे, तँलाई छोड्दैनौं तँ को होस यसरी पानी भर्न आउने मान्छेहरुलाई खाने ? नछोडे पछि त्यो भयंकर ठूलो सर्पले भनेछ, म भुमि देवता हुँ मलाई छोड बरु म तिमिहरुले भनेको कुरा मान्छु तर मेरो एउटा माग छ प्रत्येक बर्ष यहि समयमा यानकी असार सक्रान्तीका दिन बुकिको फुल टिपेर लिइ मुलको पानीले चोखाई एउटा भेडा साँधेको भोग दिनु ।

यति भनेपछि गाउँलेहरुले त्यस भुमि देवताको मागलाई सहर्ष स्वीकार गरेछन् र त्यस भुमिदेवतालाई उप्रान्त पानी भर्न आउने कुनै मान्छे वा आइमाईहरुलाई नखाने गाउँलेहरुलाई कुनै किसिमको दु:ख नदिने बाचा बन्धन गराइ छाडेछन् र त्यसै बेला देखि प्रत्येक बर्षको असार सक्रान्तिमा बुकी फुल टिपेर ल्याइ मुलको पानीले चोखो बनाई एउटा भेडा साँधेको भोग दिई भुमिपुजा गर्ने शुरूवात गरिएको हो । अहिले भुमि पुजा बाट अपभ्रम्स भएर भुमे, भुम्या पुजा भन्ने गरिएको छ ।

 

३० जेष्ठ २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको