हली देखि कमरेडसम्म


केशब पुन मगर, बिहानै उठेर तल खेत तिर गएको थिए । उसो त खेत मेरो आफ्नै नभए पनि मैले आफ्नो सन्तान झै ठानेर रेखदेख गर्नु मेरो कर्तब्य थियो । सिजन अनुसारको धान , गहुँ , मसुरो फलाएपछी जोरजाम गरि खेतको मालिक “मुखिया” संग बराबरी बाडिन्थ्यो । मुखिया गाउँको मुखिया भए पनि त्यस्तो नराम्रो व्यबहार भने कसैलाई देखाएको थिएन । देखावस पनि कसरी ? कुन कारण ? सबै गाउँले आफ्नै मान्यजन , मान्यगन्य थिए । त्यसमा अपवादमा अपवादित भएर निस्केको परिवार मात्रै हामी थियौं । अक्सर मैले मानव मूल्य र मान्यतालाई बुझेको र एकदुइ कलाश पढेको कारण जात , धर्म , भाष संसकृतीको बारे राम्रै संग बुझेको थिए । घरको बाबा आमालाई पाल्ने मेरो जिम्मेवारी थपिदै गयो । म मुखियाको हलि बनेर मालिकलाई पोषणपाषण गर्न मै ब्यस्ट । मालिकलाई खुसी बनाउनु नै मेरो खुसी हुन्थ्यो , मेरो बाबा आमाको खुसी हुन्थ्यो । सन्तानको रुपमा म एक्लो । जानेर या नजानेर हो पुरानै चलनचल्ती भए पनि म जन्मिसके पछि बाबा आमाले अर्को सन्तानको आशा कहिल्यै गर्नु भएन अरे । छोरा पढेर ठूलो मान्छे बन्ने छ भनेर बाबा आफ्नो दुख कहिल्यै म संग भन्नू भएन । औपचारिक रुपले स्कुलमा म जम्मा छ कलाश सम्म पढेको थिए तर अनौपचारिक रुपले मैले सानै उमेरमा पुरै जिन्दगी पढेको थिए । पुरै जिन्दगी बुझेको थिए ।

एक दिन म साथिहरु संग स्कुलबाट घर फर्किदै थिए । मुखियाको गैरी खेतमा बाबाले हल गोरु नार्दै गरेको देखे । साथिहरुले जिस्काए ” ओइ हेर त तेरो बाउले मुखियाको खेतमा हल गोरु नारेको ” अर्को साथी बोल्यो “यसको त खेतबारी केहि छैन यिनिहरु त सुकुम्बासी हुन , यसको बाउले मुखियाको खेतमा हल गोरु ननारी कहाँ नार्छ त ?” साथिहरुले हाँसोको पहरा छोडे । म लज्जास्पद रुपले केही बोलेन । त्यहि दिनदेखी मलाई स्कुलमा पनि साथिहरुले “हलिको छोरा” भनेर जिस्काउन थाले । हिजो अस्ति सम्म संगै खेल्ने साथिहरुले दुरी बढाउदै लगे । म संग स्कुलमा पनि कोहि खेल्न मान्दैन्थे । खस्न लाएको जाँगी समाएर म रामे , स्यामे , काले को पछि दगुर्थे । मलाई पनि खेलाउ भनेर बिन्ती गर्थे । तिनिहरुले मलाई वास्ता गर्दैन्थे । म रुन्थे एकान्तमा गएर । म नितान्त एक्लो बन्दै गए , स्कुलमा , मेलापातमा , चाडपर्वमा ।

सरकारी स्कुलमा पढे पनि त्यतिबेला बार्षिक परीक्षा फिस तिर्नु पर्ने नियम थियो । छ कलासको फिस ६×५= ३० । बार्षिक परिक्षामा ३० रुपियाँ तिर्न सक्ने मेरो बाबा आमा संग हैसियत नभएपछि मैले बार्षिक परीक्षा दिन पाएन । त्यसपछि हो म मुखियाको हलि बनेको । पहिले साथिहरुले “हलिको छोरा” भनेर जिस्क्याउदा रिस उठ्थ्यो अहिले म आफै हलि भए । त्यसपछी निरन्तर मैले नै मुखियाको काम गर्दै गए । बाबालाई घरमै बस्न लगाए । बाबा आमाको छोरा पढाएर ठूलो मान्छे बनाउने इच्छा ३० रुपियाले फर्लक्कै फर्काइदियो । म स्कुल जान नपाए पछि बाबा आमा धेरै चिन्तित हुनु भएको थियो । बाबाले बेलाबेला भनिहरहनु हुन्थ्यो – गरिबिकै कारण म मुखियाको हलि बने , पेटकै लागि म मुखियाको हलि बने अब त पनि त्यही बाटो लागिस । तलाई पढाउने इच्छा हुदाहुदै पनि पढाउन सकिएन । अब तेरो जिन्दगी पनि मेरो जस्तै अर्काको घरमा हलि बसेर बित्ने भयो । अनुहार भरी निराशाका भाव पोख्दै बाबाको मुखारबिन्दुको यी शब्दहरुले आमाको सपना माथी पनि कुठाराघात गरेको देखिन्थ्यो । आबा आमा दुबैको अनुहार मलिन हुन्थ्यो जब म हलो जुवा काँधमा हाली मुखियाको खेत तिर लाग्थे । बाबाले कहिलेकाही मलाई सघाउन आउनुहुन्थ्यो । बाटामा भन्नुहुन्थ्यो बाबाले – अब म पनि बूढो भए तेरो आमा पनि बुढी भैइ , के गर्छस ? तेरो दोष नै म जस्तो गरिबको घरमा जन्म लिनु थियो त । बाबाले त्यसो भनिरहदा धनी र गरिब बिचको खाडललाई राम्रो संग बुझेको थिए । साथिहरु स्कुल जाने बेला म हलो जुवा काँधमा हाली खेत तिर जान्थे गोरु धपाउदै अनि साथिहरु स्कुलबाट फर्किने बेला म त्यही हलो जुवा काँधमा हाली मुखियाको गैरी खेत जोतेर फर्किन्थे । फरक यति देखे यात्रा एउटै तर गन्तव्य फरक । लक्ष्य फरक । साथिहरुले दैनिक स्कुलबाट नयाँ नयाँ कुरा सिकेर फर्किन्थे म जिन्दगीलाई पढेर फर्किन्थे , जिन्दगीलाई बुझेर फर्किन्थे । तर फर्किन त हामी जहाँ गए पनि फर्किनु नै थियो ।

एक दिन साँझ मुखियाको खेत जोतेर फर्किने बेला थकाई लागेर आफैले बोकेको जुवालाई सिरानी बनाएर चौतारीको बरको रुख मुनि आकाश तिर फर्केर सुते । खेत तिर आउदा जादा मेरो जिन्दगीको भारी बिसाउने नै त्यही चौपारी थियो । त्यस दिन कोइलिले माथिबाट मुखै भरी हग्दियो । मलाई रिस उठ्यो हेप्नुको पनि सिमा हुन्छ नि , स्कुलमा साथिभाइहरुले हेपे , मुख्य कुरा परिस्थितिले हेप्यो अझै मुख्य कुरा आफ्नै जिन्दगीले हेपेको बेला झन कोइलीले मेरो मुखै भरी हगेर हेप्ने ? मनमनै गन्थन गरे तर सुन्ने को ? बोल्ने को ? हो हो भनेर हो मिलाइ दिने को ? बरको रुख , हलो जुवा बाहेक अरु कोहि थिएन । उठेर कोइलिलाई ढुङ्गाले हिराकाए लागेन कोइली फुररर उडेर अर्को रुखमा गएर बस्यो त्यसपछि म जुवाको सिरानीमा एक निन्द्रा सुते । म अबेर सम्म घर नपुगेपछी बाबाआमालाई चिन्ता लागेछ । हलो जुवा काँधमा हालेर उकालो उक्लीदै थिए । माथिबाट कसैको आवाज आयो “छोरा ……. छोरा ……” । दुई तीन पटक सुनिसके पछि मैले सजिलै आवाज चिने त्यो आमाको आवाज थियो । मैले हजुर भन्न नपाउदै बाबाले मलाई देख्नु भएछ । नकरा तल आउदैछ बाबा बोल्नु भएको प्रष्ट नै सुनेको थिए । त्यति बेला झिसमिस हुदैथियो । बाबाआमालाई छोराको कत्रो पिर रैछ ? मैले त्यो दिन बुझे । आमाले भन्नू भयो किन दिला गरिस ? मेला छिटो सकेनस के हो ? नाइ मेला त दिउसै सकेको नि आउदै थे थकाइ लागेर चौपारीमा एक छिन सुतेको भुसुक्कै निदाएछु – म बोले । बाबाले मैले बोकिरहेको हलो बोक्दिनु भयो मैले जुवा मात्रै बोके । अलिक सजिलो भयो मलाई । बाटामा जाँदै गर्दा बाबा बोल्नु भयो ” यो उमेर मै थकाइ मान्नेले कसरी गरि खालास ? जिन्दगी कसरी चलाउलास ? जिन्दगी लामो छ केटा ” म सुनी रहे बाबाको कुरा तर आमा बोल्नु भयो बिचमै “चुप लाग्नुस ” कति अर्ति उपदेश दिएको ?

बाबाआमालाई छोराको चिन्ता नलागोस पनि कसरी ? एक्लो सन्तान । बुढेसकालको साहारा । मारे पनि , पाले पनि म नै , मैले नै । आमाको चिन्ताले मन निरास बनायो बाबाको अर्तिले मन अमिलो बनाए पनि जिउने तागत दिलायो । म बाबाआमा संगै घर पुगे । त्यो दिन मुखियाको गएन । जानू पनि कति जानू ? ” आज यो काम सके मालिक , भोलि यो काम गर्छु मालिक , यति जोतेर सके उति जोतेर सके । दिनको कामको बेलि बिस्तार सुनाउनलाई मुखियाको घर नै जानू पर्ने थियो । त्यतिबेला सम्म देशमा जनयुद्ध सुरु भैइ सकेको थियो । बाबाआमाको मुख्य चिन्ता त्यता तिर पनि थियो । छोरा कतै माओवादी बन्ला कि ? माओवादीमा जाला कि भन्ने डर सबै अविभावकलाई हुन्छ भन्ने कुरा धेरै पछि आएर बुझे । तर मलाई त्यति चासो लाग्दैन थियो । मलाई मेरै “हलि संसार ” प्यारो थियो । हलिया जिन्दगी रमाइलो थियो । कहिलेकाही अक्कलझुक्कल बाटामा छिरबिरे कपडा लगाएका , क्यापमा रातो तारा भएका , कपडाको हरियो जुत्ता लगाएका , निधारमा रातो तालो बाँडेका अनि मुख रुमाल छोपेका मान्छेहरु संग भेट हुन्थ्यो । माओवादी कस्ता हुन्छन ? देखेको थिएन । मात्रै माओवादीको नाम सुनेको थिए । म आगनमा बसेर आमाले भुत्नु भएको मकै चपाउदैथिए । आमाले बोल्नु भयो – माओवादीमा नजा है त्यता गएपछि त मरिन्छ । कस्तो हुन्छन माओवादी मैले देखेको त छैन -आमाको उत्तर फर्काए । हिजो अस्ति देखेन्स ? छिरबिरे कपडा लगाएका , निधारमा रातो कपडा बाँडेका , कपडाको हरियो जुत्ता लगाउने मान्छेहरु माओवादी हुन -आमाको कुरा नसकिदै मैले हाँसेर भने ए …… त्यस्ता मान्छेलाई कति देखेदेखे नि मैले । आमा छोराको भलाकुसारी सकिए पछि म मुखियाको खेत तिर गए हलो जुवा बोकेर । सदा झै फर्किदा साँझ त्यही चौपारीमा जिन्दगीलाई बिसाइ रहेको थिए । त…..ल खेत तिर हेर्दै जिन्दगी सम्झिरहेको थिए । भबिस्य खोजी रहेको थिए । बिगत बिर्सी रहेको थिए । यो बर्तमानमा । बर्तमान पनि कस्तो ? साथिभाइ , परिस्थिति हुदाहुदा चौपायाले पनि हेप्ने मेरो बर्तमान । बिगत सम्झेर बर्तमान अनि बर्तमानमा परिस्थिति संग सामना गरि भबिस्य खोज्ने मेरो लागि त्यहि चौपारी थियो । त्यही बरको छाया थियो । कति पटक त बरको छायामा जिन्दगी नै माया नमारेको पनि हैन मैले ।

त्यही चौपारीमा बसिरहेको बेला एक हुल मान्छे आएर , सोधे , हाङबाङ जाने बाटो यहि हो ? मैले हजुर यहि हो भने । को हुनुहुन्छ मैले चिनिन नि ? प्रश्न खस्न नपाउदै -बिस्तारै चिन्नु होला – हुल भित्रबाट आवाज आयो । फलाना मुखियाको घर कहाँनेर हो ? एउटाले सोध्यो – उनिहरुले आफ्नो परिचय नदिएपछी र मुखियाको नाम लिएपछि मैले मुखियाको आफन्त होलान भनेर सबै बेलिबिस्तार खोल्दिए । र म मुखियाकै कामदार भएको खुलासा गर्दिए । त्यसपछि हामी संगसगै उकालो लाग्यौं । गाउँ पुगेपछी मुखियाको घर देखाइदिए । तिनिहरु मुखियाको घर तिर लागे । म आफ्नो घर तिर लागे । घरमा गएर बाबाआमालाई कुरा भने आमा आतिनु भयो । बाबाले चालै गर्नु भएन । त्यो रात तिनिहरु मुखियाको घरमा खाना खाएर उकालो लागेछन । बिहान हलो लिउन जादा को लाई पठाइस ? यहाँ चामलको सत्या नास गरेर गए । हप्काए मुखियाले मलाई । “मालिक तपाईंको आफन्त हैन्न र “? विनम्र भएर बोले । हैन्न मुखियाले ठूलो स्वरमा बोल्यो । आउदाजादा बाटामा (माओवादीहरु संग) हिमचिम बढेपछि एक दिन एउटा साथिले भन्नू भयो – हेर्नुस तपाईं अर्काको घरमा हलि बसिरहनु भएको रैछ । यसरी अर्काको घरमा यो जमानामा हलि बस्नु भनेको राम्रो कुरा हैन । हामी संग पार्टीमा लाग्नुस हलि बस्नु पर्दैन । भोलि हाम्रो राज्य सत्ता स्थापित भएर हाम्रै जनसकार गठन हुन्छ । हाम्रो जनसरकार गठन भएपछी त न हलि बस्नु पर्छ । न मालिक हुन्छ न नोकर हुन्छ हामी सबै बराबर हुन्छौं । अहिले तपाईंले जस्को जोतिरहनु भएको छ नि हो त्यो नै भोलि तपाईंको हुनेछ । मतलब “जसको जोत = उसको पोट” ।

त्यपछी हामी छुटियौं । म चुपचाप आफ्नो घर गए । आमाले खाना खान बोलाउनु भयो खाना खान मन लागेन मलाइ भनेर आमालाई ढाँटेर सुते । हुन पनि साँझको कुराले मलाई घोचिरह्यो । खाना खान मन साँच्चै थिएन । म जसको जोत – उसको पोटको माध्यमबाट मुखियाको गैरी खेत हड्प्नलाई हैन , तर न मालिक न नोकर हामी सबै बराबर भन्ने शब्दले निद्रा नलागेको हो । कस्तो होला जनसरकार ? अझै सम्म सरकारको नाक मुख नदेखेको मान्छेले गाउँमै जनसरकारको कुरा सुने पछि मनमा उथलपुथल मच्चियो । कस्तो होला जनअदालत ? कस्तो होला जनसरकार ? साच्चिकै न मालिक न नोकर हामी सबै बराबर भएको दिन कस्तो होला ? मनमा यी कुराहरु खेलाएर निद्रै लागेन रात भरी ओल्ट्याइपल्ट्याइ गरिरहे । मालिक बन्ने सपनाले हैन सम्मान हैसियतले मलाई लालायित बनायो । त्यसपछि हप्तादिन सम्म भेट भएन । म सदा मुखियाको खेतबाट फर्किदा त्यही चौपारीमा बसेर जिन्दगी नियाल्थे । ती मान्छेले भनेका कुराहरु सम्झिन्थे । एकातिर हलिया जिन्दगी थियो अर्को तिर ती मान्छेले मलाई मिठा सपना देखाएकाथिए । नाराहरु भित्ताभित्तामा देखिन्थ्यो । “वीर सहिद अमर रहुन ” – नेकपा माओवादी जिन्दावाद । जस्को जोत – उस्को पोट – नेकपा माओवादी जिन्दावाद ।।” नेकपा माओवादी – जिन्दावाद । ” यी नाराहरु यी वाक्यहरु कसले लेख्यो थाहा भएन तर लेखिएका नारा निकै सार्थक लाग्थ्यो ।

महिना दिन पछि फेरि उहीँ मान्छेले उहीँ कुरा दोहर्‍यायो । त्यही चौपारीमा । त्यही स्थानमा । त्यही बरको छाया मुनि बसेर त्यो दिन निकै गन्थन र मन्थन गरेका थियौं । त्यो मान्छेको कुरा भित्र आक्रोश थियो । उर्जाशिल थियो । निकै सुन्दर सपनाहरु थिए । निकै मनमोहक लाग्दो स्थतिले भरिपुर्ण हुन्थ्यो । निरासाको त कुरै छैन । “जिन्दगी भनेको हलिया भएर जिउने हैन बलिया भएर जिउने हो ” यहि कुराहरु त्यो मान्छेको मुखारबिन्दुबाट निस्कदा म आफैमा पनि तागत आउथ्यो । जोस जाग्थ्यो । त्यो दिन त्यो मान्छेलाई मैले मेरै घर लगे । बाबाआमा डराउनु भयो । सदा तिनजनाले खाने खाना त्यो दिन चार जना भएपछि नपुगेर आमाले एकघान मकै भुट्नु भएको थियो । मैले मकै खाए , साथिलाई मेरो भागको खाना खुवाए ।
त्यति सम्म हामी साथी भैसकेका थियौ । बिहान त्यो मान्छे गयो । म हलि , हलो जुवा समाएर मुखियाको खेत तिर लागे । त्यसको एकहप्ता पछि पुलिशआर्मी हाम्रो गाउँमा पसे । कसले भन्दियो कुन्नी ? त्यो साथिलाई खाना खुवाएको न्यूमा बाबा र आमालाई गाली गरे । बाबालाई लाट्टिले हाने । आमालाई नराम्रो नराम्रो शब्दमा गाली गरे । म त्यो सब छेउबाट सुनिरहेको थिए । हेरिरहेको थिए । बाबाले आखाको इसाराले मलाई भाग भन्दै हुनुहुन्थ्यो । म भाग्ने स्थतिमा थिएन । पछि डगुर्दै आएर बाबालाई उठाए । मन निकै रोयो । सकिन्छ भने यहि कात्दिउ झै गरि रिस उठ्यो । म बोल्न सकेको थिएन । तिनिहरुले मलाई मेरो हात बाँड्दिए । आफू संगै लिएर गए । बाबा आमा रुनु भयो , कराउनु भयो । तर छोडेन्न । मलाई माथी लगे । आमाले मेरो लागि मुखियाकहाँ हारगुहार गर्नु भएछ । म लगायत छ सात जनालाई स्कुलमा लगेर कोठामा थुनिदियो । आर्मी पुलिश त्यही बसे । आमाको हारगुहार सुनेर मुखिया मलाई छुटाउन आएका रैछन । मुखियाले यो मेरो हलि हो छोड्दिनुस भनेपछि मलाई छोडे तर बाँकीलाई आर्मी पुलिशले साथमै लिएर गए । मैले धेरै पछि सुनेको थिए तिनिहरु कोही पुलिशको भान्से भए अरे । कोही पुलिस नै भए अरे कोही सुराकी बने अरे ।

त्यसपछि मलाई गाँउमा बस्ने मन लागेन । अर्को दिन बिहानै मुखिया कहाँ गएर आफू शहर जान लागेको कुरा भने । तर मेरो मनसाय माओवादी बन्नु थियो । मुखिया संगको बिदावारी पछि बाबाआमालाई सदरमुकाम जान्छु भनेर ढाँटेर म माओवादीहरुको सम्पर्कमा पुगे । म माओवादी भएको खबर सुनेर बाबाआमा निकै रुनु भएछ । फर्किने अनुरोध गर्नु भएछ । म पार्टीमा लागे पछि पार्टीले मलाई सैन्य तालिम गरायो । एक प्रकारले सदाको हलिया जिन्दगी छोड्न पाएकोमा मलाई खुसी पनि लागिरहेको थियो । तालिम सफलता पुर्वक सम्पन्न गरेंपछि मैले सेनामा जाने अनुमती मागे । कमान्डर संग । कमान्डरले बिना हिचकिच्याहत मेरो अनुमती स्वीकार गर्नु भयो । त्यसपछि कहिले पुर्व कहिले पश्चिम । पार्टिमा लागेपछि म एक बर्ष जति घर गएन । त्यसबिचमा बाबा आमाले छोरा मर्‍यो भन्ने सोच्नु भएको रहेछ । एक सालपछि म घर गए ” मेरा बूढो बाबाले त्यही मुखियाको खेत जोतिरहनु भएको थियो ” हलोको अनाउ राम्रो संग समाउन पनि नसक्ने मेरो बाबा । गोरु छिटो हिडेपनी दमको रोगले बाबालाई हिड्न र डौडिन अप्ठ्यारो । सदा बस्ने चौपारीएमा बसेर तल मुखियाको खेत चियाउदैथे । बाबा सकि नसकी ओल्ल छेउ र पल्लो छेउ गरिरहनु भएको थियो । आमा बाबाको पछिपछी हिडिरहनु भएको थियो । त्यो दृश्य देखेर बाबाआमालाई भेट्न गएको म बाबाआमालाई सम्झेर बाबाआमाले काम गरिरहेको मुखियाको खेत तिर हेरेर आँखाबाट अन्यायसै आँसु झर्‍यो । त्यो चौपारीमा मैले थुप्रै पटक आँसु झारेको छु । त्यो चौपारीको माटो मेरो आँशुले बिझेकाछन । त्यो बरको जराजरामा मेरो आँशुले सिचाइ गरेकोछ । कहिले बिगत सम्झेर झारेको छु कहिले बर्तमानमा बर्तमान सम्झेर झारेको छु । कहिले चौपारीमा बसेर भबिस्य सम्झेर झारेको छु अनि कहिले जिन्दगी सम्झेर झारेको छु र आज आफ्नै बाबाआमाको दुख देखेर झारें ।

त्यो दिन मैले जे गरे पनि गरिबको दुख नजाने रैछ भनेर राम्रो संग ज्ञान् सिके । बाबाआमालाई बोलाउने हिम्मत भएन । हामी सिधै सरासर गाउँ पुग्यौं । गाउँमा त्यहि मुखियाकोमा बाँस बस्ने सल्लाह भयो अरु साथिहरु मुखियाको घर तिर लागे । म आफ्नो घर तिर लागे । चाबी म संग थिएन । ढोकामा ताल लगाइएको थियो । म आगनिमा बसिरहेको थिए । झिसमिसेमा नै बाबाआमा आउनु भयो । अलिक परको मान्छे देखे पनि नचिनिने भएको बेला आमाले मलाई सजिलै चिन्नु भयो । बाबाले मलाई सजिलै भन्नू भयो “छोरा” आइपुगिस ? । आमाले अंगालो हाली रुनु भयो । बाबाले काँध सुमसुम्याउनु भयो । स्यानो हुदा म बाबाआमाको पछिपछि जान पाएन भनेर रुन्थे अहिले मेरा बाबाआमा मेरो पछिपछि आउन पाउनु हुन्न भनेर रुनु हुन्छ । समय पनि कस्तो निस्ठुरी ? कस्तो खेल ? रुवाइ एउटै , आँसु एकै तर भावना फरक । म जिद्दीले रुन्थे , बाबाआमा बाध्यताले । फरक जिन्दगीको फरक बाटो । त्यो रात म बाबाआमाकै काखमा सुते । बर्षदिन पछि मैले मेरो कोठामा छिर्ने हिम्मत जुराएन । म गैसकेपछि बाबाआमाले मेरो कोठा खोल्नु भएन अरे । कयौं पटक त आमाले छोरा खाना खान आइजा भनेर पनि बोलाउनु भएको थियो अरे । ढोकामा कोहि आए पनि म आएको जस्तै मान्नुहुन्थ्यो अरे । आमाको माया अनि बाबाको साथ मैले जिन्दगीमा पहिलो चोटि राम्रै संग बुझे । बिहान भयो छुट्टिने बेला भयो बिदावारी भयौ । मैले राती बाबा आमालाई माओवादीको एजेन्डाको बारेका सम्झाएको थिए । बुझाएको थिए । त्यो सुनेर बाबाको अनुहारमा केही भाव देखिएन । तर आमाको अनुहारमा भने चमक देखिएको थियो । कहिले आउँछ त तिमिहरुको जनसरकार ? आमाले भन्नू भयो । आउँछ अब बिस्तारै सबै तिर हाम्रै सरकार हुन्छ । यसरी बाबाले अर्काको खेत जोत्नु पर्दैन । अब कोही धनी कोही गरिब हुदैन्न । हामी सबै एकै हुन्छौं । हामी आफै मालिक आफै नोकर बन्ने हो । त्यहा गएर बर्गका कुरा उठाउछौं । हेपिएका चेपिएका जनताका मुद्दा उठाउछौं ” बोलेर नसकिदै आमाले भन्नू भयो लौ लौ छिटो ल्याउ । हामी जिवित हुँदै ल्याउ ।अन्तिम पटक बाबा आमाको संग भेट थियो त्यो मेरो
। हामी त्यहिबाट रुकुमको खारा लड्न जादैथियौं ।

[ ] समय बित्दै गयो हामी लड्दै गयौं । थुप्रै सैन्य आक्रमण गरियो । थुप्रै सैन्य आक्रमणमा परियो । तर सम्झनै लायका भने डोल्पाको – दुनै । दाङको – भालुबाङ , सतबरिया , बाँकेको -कुसुम , माग्दीको -बेनी अनि रुकुमको खारा । हामी खाराको लडाइमा जान लागेको बेला मेरो घरबाट खबर आयो बाबाको मृत्यु भएको । खबर सुनेर म बेहोस जस्तै भए तर पनि लडाइको अन्तिम तयारी र लड्न जानै पर्ने बाध्यताले म बाबाको सतिगती गर्न नआएर खाराको लडाइमा गएको थिए । अन्तिम पटक बाबाको सम्झनामा टोपी फुकाली श्रद्धाञ्जली अर्पन गरेपछि हाम्रो यात्रा सुरु भयो । त्यति खेर साथिहरुले मलाई खुब हौसला दिनु भएको थियो । त्यतिका हौसलाका बाबजुद पनि हामीले खारामा पुर्ण सफलता हात पार्न सकेनौ । बाटोमा फर्किदै गर्दा फेरि आमाको निदनको खबर पुग्यो । म आफै घाइते भएर फर्किदैथे । त्यही माथि यति ठूलो बज्रपात एकै चोटि । खाराबाट घाइते अबस्थामै घर आएको थिए । ती आगनहरु शून्य लाग्यो । त्यही बरको छायाहरु पराइ लाग्यो , त्यही बाटोहरु पराइ लाग्यो । त्यसपछि माओवादीकै पहलमा २०६२/०६३ को जनआन्दोलन भयो । बर्षौ पुरानो राजतन्त्रको अन्त्य भयो । बाह्रबुढे शान्ति सम्झौता भयो । शान्ती सम्झौता पछि म समायोजन हुन चाहान्थे । तर सरकारले त घाइते छस अगाडी काम गर्न सक्दैन्स भनेर अयोग्यको तक्मा भिराइदिएर घर पठायो । मैले बिवाह पनि शान्ती सम्झौता पछि नै गरेको हुँ गाउँबाटै । अहिले मेरो स्यानी छोरी छे । मेरो श्रीमती छिन । कहिलेकाही भित्तामा झुन्ड्याएको थोत्रो कम्ब्याट तिर हेरेर छोरीले सोध्छिन यो के हो बाबा ? तपाईं आर्मी हुनुहुन्छ हो ? अबोध छोरिलाई मैले ढाट्न पनि सक्दैन मेरो बिगत बताउन पनि चाहान्न । बाबा आमाको फोटोलाई जोडिराखेको छु अहिले । भित्तामा झुन्ड्याएको छु । कहिलेकाही आमाको निर्जीव तस्बिरले सोधे झै लाग्छ “छोरा त केको लागि युद्ध लडिस ? ” कहिलेकाही ती बाबाको निर्जीव तस्बिरले भने झैं लाग्छ छोरा कसको लागि युद्ध लडिस ? म नजवाफ छु अचेल । कहिले श्रीमतिले भन्छिन आखिर के को लागि युद्ध लड्नु भयो ? जवाफ छैन म संग । म मौनतामा हराउछु श्रीमतिले घचघच्याउछे छोरी हाँस्छे । न आमाको जनसरकार देख्ने चाहाना पुरा भयो । न सर्बहाराको जिन्दगी फेरियो । फेरियो त केबल लडाउनेहरुको जिन्दगी फेरियो हामी लड्नेहरुको जिन्दगी संग खेलवाड गरियो । अहिले आगन तिर घस्रीदै बाबाले “जिन्दगी लामो छ ” भन्नू भएको कुरा सम्झिन्छु । र भन्न मन लाग्छ “बाबा साँच्चै तपाईंले भन्नू भएको जस्तै जिन्दगी लामो रहेछ ।

३० बैशाख २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको