हामीलाई कम्जोर नआँक्नु, क्रान्ति कहिलै कम्जोर हुँदैन – विप्लब


२५औं जनयुद्द दिबशको अबसरमा प्रतिबन्धित नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ले समसामयिक राजनीतिक बिषयमा आफ्नो धारणा सार्बजानिक गरेका छन् । रातोखबरमा अन्तर्वार्ता दिंदै आफ्नो पार्टी कम्जोर नभएको प्ररिक्रिया दिएका छन् ।

महासचिव कमरेड, २५ औँ जनयुद्ध दिवस आइपुग्यो । कसरी मनाउँदै हुनुहुन्छ ?

जनयुद्ध दिवस गौरवपूर्ण दिन हो । यसैमा एकीकृत जनक्रान्तिको विकास थपिएको छ । सिद्धान्तमा व्यवहार, विचारमा भावना र बलिदानमा विजय मिसिएको दिवसलाई नयाँ भावमा मनाउँदैछौँ ।

पार्टी प्रतिबन्धभित्रको दिवसको अनुभूति कस्तो गर्नुभएको छ ?

एकदमै फरक अनुभूति भएको छ । जनयुद्धका महान् सहिद तथा बेपत्ता योद्धा र घाइते योद्धाहरूको बलिदानमा एकीकृत जनक्रान्तिको रगत, सपना र मेहनत मिसिएको छ । यति गह्रुङ्गो अनुभूति विरलै हुन्छ ।

सहिद तथा बेपत्ता योद्धा परिवार, घाइतेहरूसँग यो दिवसको सम्बन्ध विशेष छ । कसरी सम्झिनुहुन्छ ?

अधुरो क्रान्तिको मार्गलाई पकडेर नयाँ क्रान्तिमा लम्किरहेको समयमा महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रति विशेष श्रद्धा गर्दै स्मरण गर्न चाहन्छु । सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूलाई जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै पार्टीका नेता–कार्यकर्ता, आमश्रमिक जनता, मित्रशक्तिहरूप्रति जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दछु ।

माओवादी आन्दोलनबारे कस्तो महसुस गर्नुहुन्छ ?

क्रान्तिले नकारात्मक पात्रहरूलाई इतिहासको पर्दाभित्र पटाक्षेप गरिदिन्छ र आफ्नो कार्यभार नयाँ उत्तराधिकारीहरूलाई जिम्मा लगाइदिन्छ । हामी त्यही युगीन कार्यभार पूरा गर्ने गहन जिम्मेवारीमा जुटिरहेका छौँ ।

देशमा जनअधिकार र राष्ट्रियताको विषय जटिल भएको छ । कसरी सोचिरहनुभएको छ ?

जनतालाई हराइएपछि जनअधिकार र राष्ट्रियता निकै कमजोर बिन्दुमा पुगेका छन् । जनतामाथि फासिवाद लादिएको छ । केपी वलीको सामाजिक दलाल सरकार झूट्टा मुद्दा, व्यापक गिरफ्तारी, ह’त्या–आ’त’ङ्कमा उत्रिएको छ । केपी सरकार देशलाई बेचेर खाने, द’लाली गर्ने र कुर्सी बचाउने अनै’तिक खेलमा लागेको छ । हाम्रो पार्टीले सबै मोर्चामा प्रतिरोध गरिरहेको छ । जनताले सत्य बुझ्दै गएका छन् र प्रतिरोध शक्तिशाली बन्दै गएको छ ।

नेकपामाथिको प्रतिबन्ध यथावतै छ । तपाईंहरूलाई कस्तो प्रभाव परेको छ ?

प्रतिबन्ध नेपालका फासिस्ट शासकहरूको नकारात्मक इतिहासको भद्दा रूप हो । सारा राजनीतिक शक्तिहरूको विरोध–प्रतिरोधका कारण प्रतिबन्ध औचित्यहीन एवम् प्रभावहीन बन्दै गएको छ । तथापि जनतालाई सहज ढङ्गले विचार राख्ने, न्यायपूर्ण सङ्घर्ष गर्ने र पार्टीको नेतृत्वमा सडकमा आउन गाह्रो भएको छ । यसतर्फ सबैको ध्यान जानुपर्छ ।

नेकपालाई शान्तिपूर्ण कार्यक्रम पनि गर्न नदिएपछि सङ्घर्ष हिंसात्मक नै गर्नुपर्ने बाध्यता आएको हो ?

केपी वली सरकारले हिंसाको विषयलाई त केवल बहाना मात्र बनाएको हो । वास्तविक रूपमा यो सरकार हाम्रो पार्टीको लोकप्रियता, जनआकर्षण, जनसङ्घर्षबाट अत्तालिएको छ । हामीले त सबैसामु खुलेआम राखेका छौँ– केपी सरकारले राजनीतिक कार्यक्रम गर्न दिनुपर्छ । हामी जनताको आवाज शान्तिपूर्ण तरिकाले बुलन्द गर्न तयार छौँ । यसो भनेर अहिले नगरेको होइन, देशमा खुला कार्यक्रमहरू पनि भइरहेकै छन् । तर केपी सरकार हिंसा मच्चाएर जनताको न्यायपूर्ण सङ्घर्षलाई बन्दुकको बलमा दबाउन चाहन्छ । दमनको समाधान विद्रोह हो । यो त हामीले प्रस्टै भनेका छौँ ।

पार्टी नेताहरूको ह’त्या, गि’रफ्तारी, जेलनेलले कतिको समस्या पारेको छ ? क्षति हेर्दा कठिनाइ परेको हो कि भन्ने पनि अनुमान गरिन्छ बाहिर ?

हो, प्रतिबन्धपछि हाम्रोतर्फ केही गम्भीर क्षति भए । कमरेड कुमार पौडेल, कमरेड महान, कमरेड नीरकुमारलगायत एक दर्जन नेता–कार्यकर्ता, कमान्डर र सदस्यहरूको स’हा’दत भएको छ । केन्द्रीय नेताहरू कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, शिलु, रणवीर, आदर्श, माइला, प्रज्वलन, हितमान, सुवास, बन्धु, दीपेशलगायत पार्टीका सयौँजना कमरेडहरू हिरासत र जेलमा हुनुहुन्छ । तर हामीले आफूलाई समाल्दै, सुदृढ गर्दै र रूपान्तरण गर्दै एकीकृत जनक्रान्तिलाई माथि उठाउँदै गएका छाैँ । बलिदान र क्षतिले पार्टीमा केही कठिनाइ स्वाभाविक रूपमा आउँछन् तर बलिदान र क्षतिले पार्टीलाई खार्ने र ऊर्जा भर्ने काम पनि गर्दछन् । हाम्रो विजयलाई कसैले पनि रोक्न सक्नेछैन ।

केही क्षतिले पार्टीलाई धक्का दिएकै देखिन्छ नि, होइन र ?

निश्चय नै । तर मैले भनेँ नि क्रान्तिमा घेरा–प्रतिघेरा, दमन र प्रतिरोध, क्षति र उपलब्धि, पराजय र विजय अनिवार्य कुरा हुन् । कहिलेकहीँ अनावश्यक क्षति हुँदा गम्भीर पनि बनाउँछ परन्तु धक्कालाई शिक्षामा बदल्न सके विजयहरू आइपुग्छन् । हामीले त्यस्तो सफलता प्राप्त पनि गरेका छाैँ ।

नेकपाका नेता–कार्यकर्ताहरूले प्रतिकूल परिवेशमा कठोर सङ्घर्ष गर्नु परिरहेको छ । नेता–कार्यकर्ताहरूको अवस्था कस्तो पाउनुहुन्छ ?

कुनै पनि क्रान्ति सत्तासीन वर्गसँग भीषण टक्कर नलिएसम्म पूरा हुँदैन । जुन वर्गले आफ्नो विचारअनुरूप सत्ताका लागि लड्ने असल, इमानदार, सङ्घर्षशील, त्यागी नेता–कार्यकर्ता तयार गर्न सक्छ उसैले विजय हासिल गर्छ । आजको नेपालमा त्यस्ता नेता–कार्यकर्ता हामीसँग हुनुहुन्छ । हाम्रा नेता–कार्यकर्तासामु अनेकौँ कठिनाइ र प्रतिकूलताहरू छन् तर हाम्रा कमरेडहरू तिनलाई पचाउँदै, झेल्दै सानदारसँग अगाडि बढिरहनुभएको छ । त्यसैले यो क्रान्ति र प्रतिक्रान्तिको लडाइँमा हाम्रो विजय हुनेछ ।

तर पार्टीका केही नेताहरू आत्मसमर्पण गरी पार्टी छोडेर सरकारी नेकपामा प्रवेश गरिरहेका छन् । उनीहरूले पार्टीले युद्धको बाटोमा मात्र जोड दिएको प्रचार पनि गरिरहेका छन् त ?

हो, केही कमरेडहरू एउटा अवधिसम्म हामीसँग रहे । उनीहरूले एक चरण आ’त्मस’मर्पणवाद, विसर्जनवाद, संशोधनवादका विरुद्ध विद्रोह गरे । त्यसले उनीहरूलाई पनि राम्रै भएको थियो, पार्टीलाई पनि राम्रै गरेको थियो तर क्रान्तिले नयाँ जोड पकड्न थालेपछि उनीहरूको विद्रोहले थेग्न सकेन । उनीहरू सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक विद्रोह गर्नसम्म सक्षम थिए तर सत्ताका विरुद्ध क्रान्ति गर्ने, विद्रोह गर्ने स्तरमा तयार रहेनछन् । उनीहरू तर्सिए, गले र जसका विरुद्ध विद्रोह गरेर क्रान्तिकारी प्रतिष्ठा बनाएका थिए उतै गएर लम्पसार परे । यस्तो प्रवृत्तिबाट कुनै पनि क्रान्ति अपवाद हुनसक्दैन । यसलाई पचाएर नै पार्टीले आफूलाई परिपक्व र अपराजेय बनाउने हो । तर क्रान्तिमा आत्मसमर्पण गर्ने मात्र देखिएनन् अन्य पार्टीबाट विद्रोह गरेर क्रान्तिको मोर्चामा आबद्ध हुन आइपुग्ने कमरेडहरू पनि प्रसस्त छन् । जहाँसम्म पछि फर्किने साथीहरूले गर्ने प्रचार छ त्यसको कुनै तुक छैन । एउटा सपाट र सोझो सत्य के हो भने रत्नपार्क, खुलामञ्च, राष्ट्रिय सभागृहमा भाषण, नाराजुलुस र नाचगान गरेर जनताले राज्यसत्ता प्राप्त गर्न सक्दैनन् । क्रान्ति हाँक्ने कार्य जति गौरवपूर्ण छ त्यत्तिकै चुनौतीपूर्ण पनि छ । चुनौती उठाउन नसक्नेले बढी बोल्नु आफैँलाई दुःख दिनु मात्र हो ।

केही नेता–कार्यकर्ताले पार्टीभित्र आर्थिक हिनामिना गरेको र कारबाही गर्नुपरेका समाचार पनि आए नि, के होला ? के आर्थिक विचलनका समस्या बढेका हुन् ?

हो, पार्टीभित्र केही गम्भीर खालका आर्थिक समस्याहरू देखिने गरेका छन् । तर पहिलेभन्दा बढेको भन्ने होइन । पार्टीले निकै राम्रो आर्थिक प्रणाली विकास गरेको छ । यसको विकास पनि तीव्रतामा भइरहेको छ । समस्याहरू पत्ता लाग्नु पनि पार्टी बन्दै गएको चिह्न हो । जसले जे गरे पनि पच्ने अवस्था छैन । तर द्रव्यमोह निकै शक्तिशाली हुन्छ । आफैँले लिएको विचार, सिद्धान्त र लक्ष्यभन्दा द्रव्यमोह माथि भयो भने नेता–कार्यकर्ताहरू विचलनमा भासिन पुग्छन् । यसले पार्टीलाई क्षति पनि गर्छ । केही यस्ता दृश्यमा आएका छन् । केही अदृश्य पनि हुनसक्छन् तर पार्टीले समाधान गर्दै जान्छ । ठूलाठूला शुद्धीकरण गरेर समस्याहरूलाई समाधान गर्न सकिन्छ ।

सरकारले त बेलाबखत पार्टीलाई कमजोर बनायौँ पनि भन्ने गरेको छ नि ?

को कमजोर र को बलियो भन्ने विषय क्रान्ति बढ्दै जाँदा थाहा हुन्छ । सैद्धान्तिक रूपले भन्दा आत्मसमर्पणवाद, संशोधनवाद, सामाजिक दलाल चरित्र कमजोर प्रवृत्ति हो । आज जुन व्यवस्था छ भोलि त्यो हुनेछैन । आज जुन छैन भोलि त्यो हुनेछ । केपी सरकार र सरकारी नेकपा दिन–प्रतिदिन कमजोर बन्दै गएको देखिँदैछ ।

अमेरिकी एमसीसी परियोजनाको विरोध गर्नुभएको छ, किन ? अनि अब कसरी बढ्नुहुन्छ ?

एमसीसी देशमा सङ्कट हुल्ने परियोजना हो । यसले अमेरिकासँगको सम्बन्धलाई मात्र बिगार्दैन, चीन र भारतसँगको सम्बन्धलाई पनि बाधा हाल्छ । नेपाली सेना, नेपाली अदालत, प्रशासन र जनतालाई पङ्गु बनाउँछ । यसर्थ यो राष्ट्रघाती छ । केहीले यसलाई चीन घेर्ने अमेरिकी योजना मात्र भनेका छन्, यो सत्य होइन । यसका राष्ट्रिय आयाम पनि छन् जसको दीर्घकालिक मारमा सरकारी नेकपा पनि पर्ने नै हो । त्यसैले यसलाई रोक्नुपर्छ ।

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मिचेको विषय छायामा परेजस्तो भयो नि ?

होइन, हाम्रो पार्टीले भारतीय साम्राज्यवादी अतिक्रमणका विरुद्ध देशव्यापी जागरण अभियान चलाइरहेको छ । जनताको साथ–सहयोग पनि राम्रो छ तर दलाल केपी सकरकार त राष्ट्र बचाउने सङ्घर्षमा आउनुको साटो हामीमाथि दमन गरेर भारतलाई रिझाउने अनैतिक कार्यमा लागेको छ । हेर्नुस्, साम्राज्यवादी शक्तिहरूले कमजोर देशमाथि अतिक्रमण गर्दा कहिलकहीँ मोर्चा बनाएर संयुक्त रूपले अतिक्रमण गरेका दृष्टान्तहरू पनि छन् । यतिबेला कालापानी क्षेत्रको भारतीय हस्तक्षेप र अमेरिकी एमसीसी (सहस्राब्दी चुनौती परियोजना) को कानुन पारित गर्ने विषय भित्री साँठगाँठमा भएका छन्–छैनन् भनेर हेर्नुपर्ने भएको छ । हामीले जागरणमा यसलाई पनि जोडेका छाैँ ।

सरकारी नेकपाभित्र एमसीसीका विरुद्ध लड्ने केही नेताहरू पनि देखिएका छन् नि, कसरी हेर्नुहुन्छ ?

यो खुसीको कुरा हो । राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने नेता–कार्यकर्ताहरू धन्यवादका पात्र छन् । उनीहरू अन्तिमसम्म लड्न सक्छन् कि सक्दैनन् भन्ने कुराले अरू महत्व राख्छ । उनीहरू आफ्नो अडानमा उभिऊन्, हामी सहकार्य गर्न तयार छौँ ।

ललिता निवासकाण्डमा अख्तियारले गरेको निर्णयबारे वक्तव्य दिएर विरोध गर्नुभयो नि, किन ?

ललिता निवासले अनेकौँ अनुहारहरू देखाइदिएको छ । पहिलो त यो ललिता निवासकाण्ड देशकै बेइज्जत गर्ने परिघटना हो । प्रधानमन्त्री कार्यालयको जग्गासमेत बेचर खाने मान्छेहरूको हातमा देश छ । चाहे पहिलेका होऊन्, चाहे अहिलेका । अर्को कुरा, अख्तियारले जुन निर्णय ग¥यो त्यसमा सरकारी पार्टी, विशेषतः केपी वली पक्षको प्रभाव प्रस्ट देखिन्छ । केपीले यो काण्डलाई काङ्ग्रेस र आफैँभित्रका विरोधीहरूलाई समाप्त पार्ने हतियारका रूपमा प्रयोग गरेको देखिन्छ । भ्रष्टहरूलाई त कडाभन्दा कडा कारबाही गर्नैपर्छ तर पक्षपात नगरेर ।

एनसेललाई निरन्तर कारबाही गर्नुभएको छ तर उसले त कर तिर्ने भनेको सुनिन्छ नि ?

एनसेलले राज्यलाई पौने एक खर्ब तिर्नुपर्छ भनेर त प्रधानन्यायाधीशको नेतृत्वमै फैसला सुनाइएको हो । अनि किन अहिले बाईस अर्बको कुरा मात्र आएको छ ? यो निकै गम्भीर छ । यसमा वली सरकारकै साँठगाँठ देखिन्छ । एनसेलले जनतालाई ठगेसम्म कारबाही रोकिँदैन ।

यतीकाण्डबारे के सोचिरहनुभएको छ नि ?

केपी सरकार त काण्डे सरकार भइसक्यो । एनसेलकाण्ड, निर्मलाकाण्ड, वाइडबडीकाण्ड, सुनकाण्ड, चिनीकाण्ड, यतीकाण्ड सबै वली सरकारका रकम कमाउने खेती बनेका छन् । यिनको समाधान वलीको आदेशमा चल्ने सरकारी संस्थाबाट सम्भव छैन । जनताको अदालतबाट समाधान गर्नुपर्छ ।

महँगीले जनतालाई सास फेर्नै गाह्रो भइसक्यो । के सोचिरहनुभएको छ नि ?

हाम्रो पार्टी लगातार महँगी, कालोबजारी, तस्करी, लागूपदार्थ दुव्र्यसनजस्ता समस्याका विरुद्ध सङ्घर्षमा छ । यी समस्याले जनता चल्नै नसक्ने बन्दै गएका छन् । केपी सरकार चलिरहेमा देशको अवस्था वर्बाद हुँदै जानेमा कुनै शङ्का नगरे हुन्छ ।

आजको परिस्थितिमा सेना–प्रहरीले कसरी सोच्नुपर्छ भन्ने ठान्नुहुन्छ ?

देशको स्वाधीनता धरापमा छ । जनता कुशासनबाट प्र्रताडित छन् । भ्रष्टहरूको रजाइँ गाउँदेखि केन्द्रसम्म चलेको छ । जनतामाथि खुलेआम लूट छ । एनसेललगायतले ब्रह्मलूट मच्चाएका छन् । यस्तो अवस्थामा सेना–प्रहरीहरूले कसरी सोचिरहेका होलान् भन्ने गम्भीर उत्सुकता सबैमा छ । हामी चाहन्छौँ– दलाल, राष्ट्रघाती, भ्रष्ट, माफिया, तस्करहरूविरुद्ध सेना–प्रहरीले पनि लड्न तयार हुनुपर्छ ।

मित्रशक्तिहरूसँगको सम्बन्ध र सहकार्य कसरी अघि बढिरहेको छ ?

दिन–प्रतिदिन मित्रशक्ति र मित्र पार्टीहरू बढ्दै गएका छन् । उहाँहरूसँग विभिन्न स्तरमा सहकार्य भइरहेकै छ । यसलाई अरू सुदृढ गर्नमा हामी तयार नै छौँ । यस दिशमा राम्रो सम्भावना देखिएका छन् ।

सर्लाहीका जुझारु नेता कमरेड कुमार पौडेलको मुद्दामा राष्ट्रिय मानवअधिकार आयोग र अधिकारवादी संस्थाले ह’त्या’राहरूलाई कारबाही गर्न सरकारलाई दबाब दिइराखेका छन् । यसलाई कसरी लिनुभएको छ ?

कमरेड कुमार पौडेललाई सीधा सर्बेन्द्र खनालको आदेशमा इन्स्पेक्टर कृष्णदेव साहको टोलीले योजनाबद्ध रूपले गोली हानी ह’त्या गरेको हो भन्ने त छ्याङ्छ्याङ्ती देखिसकियो । मानवधिकारवाद आयोग र अधिकारवादी संस्थाले समेत उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही गर भनिसके । यस हदसम्म मानवअधिकार आयोग र संस्थालाई धन्यवाद नै दिनुपर्छ । तर ह’त्याका पछाडि दुईखाले अनुहार छन् : एउटा कृष्णदेव साहहरूको ह’त्या’रो अनुहार, अर्को भित्र बसेर पुलिसलाई गो’ली हा’न्ने योजना बनाउने र उक्साउने योजनकारहरूको अनुहार । हामीसँग तथ्यहरू आइरहेका छन् । यिनीहरूलाई कारबाही हुनुपर्छ ।

यतिबेला पार्टीको योजना के छ ?

हाम्रो पार्टी देशको स्वाधीनता र जनताका अधिकारका लागि सारा वामपन्थी, देशभक्त, लोकतान्त्रिक र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध पारेर दलाल पुँजीवादी सत्ताको जरो उखेल्ने र वैज्ञानिक समाजवादको स्थापना गर्ने उद्देश्यमा केन्द्रित छ । पार्टीका समग्र कामहरू उत्साहपूर्वक अगाडि बढिरहेका छन् । केपी वली सरकारका राष्ट्रघाती, जनघाती कार्यले गर्दा क्रान्तिकारी परिस्थिति अनुकूल बन्दै गएको छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

रातो खबरलाई धेरैधेरै धन्यवाद । महान् जनयुद्धको २५ औँ दिवस भव्य रूपले मनाउँदै एकीकृत जनक्रान्तिको महान् यात्रालाई अरू प्रज्वलित बनाऔँ ।

-रातोखबरबाट साभार

२०७६ माघ २९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको