नेपालमा पनि कोरोनासँग लक्षण मिल्ने बिरामी भेटिए, एकै जिल्लामा एकसय बढी बिरामी


माघ २९, काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइरससँग लक्षण मिल्ने शंकास्पद रोगको लक्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सूचना जारी गर्दै संक्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।

मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएकाले कोरोनाको आशंका गरिएको भन्दै जुगल गाउँपालिकाले तुरुन्त चिकित्सकको टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।

जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ : विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ । त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनाराय श्रेष्ठले मंगलबार बिहानसम्म १२ जनजति बिरामी भएकामा त्यही साँझसम्म बिरामीको संख्या सय जना नाघिसकेको बताएका छन्।

बिरामी संख्या तीव्र गतिमा बढी रहेको पनि उनले उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा फेसबुकमार्फत अध्यक्ष श्रेष्ठले रुघाखोकी, ज्वरोले भाइरल रूप लिएको जानकारी दिएका हुन्।

उनले स्टाटसमा लेखेका छन्, ‘कोरोना नहोस् तर यसका लक्षण मिल्दाजुल्दा भएकाले चनाखो हुनुपर्छ भन्ने मात्र हाम्रो आग्रह हो।’

चीनमा कोरोनाको संक्रमण फैलिरहेका बेला चीनसँग जोडिएको सिन्धुपाल्चोकमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामी फेला परेपछि स्थानीय त्रसित बनेका हुन् ।

२९ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको