‘द ग्रेट पृथ्वीनारायण शाह’


तात्कालीन विश्व परिस्थति र छिमेकी देशको अवस्थालाई केलाउँदै नेपाल निर्माण महाअभियानको नेतृत्व गर्नु गलत हो ? घर बलियो बनाएर पराईसँग लड्ने सामथ्र्य विस्तार गर्नु अपराध हो ? यूनानी, मंगोल, इरानी, पोर्चुगीज, फ्रान्सेली, मुगल र अंग्रेज (इष्ट इण्डिया) को पञ्जामा छट्पटाइरहेको भारतको दशाबाट अलग राखेर स्वाधीन, अक्षुण्ण र संगठित नेपाल निर्माण गर्नु नाजायज हो ?

सन् १७६६ (विस १८२३) मा यदि कप्तान किनलक नेतृत्वको अंग्रेज सैनिक सिन्धुलीगढीमा कील्ला बाँधेर बसेका वीरभद्र पाण्डे र वंशु गुरुंगको मोर्चा पराजित गर्दै जयप्रकाश मल्लको गद्दी सुरक्षार्थ काठमाण्डौ आइपुगेको भए के हुन्थ्यो ?

निःसन्देह ढिलो चाँडो इष्ट इण्डिया कम्पनीले अरु भारतीय राज्यहरुलाई जस्तै दवाव र प्रभावमा राखेर एउटा सहायक सन्धीमा हस्ताक्षर गराउँँथ्यो ।

त्यस्तो सहायक सन्धीको मस्यौदा कस्तो हुन्थ्यो ? अनुमान गरौं, यस्तो हुन्थ्यो;

क. नेपालका राजाको बिदेशी सम्बन्ध कम्पनीको अधीनमा हुनेछ ।
ख. नेपालका राजा आफैंले कुनै युद्ध गर्नेछैनन् र अरु राज्यसँगको सम्बन्ध कम्पनीको परामर्शमा मात्र हुनेछ ।
ग. राज्यको राजधानीमा कम्पनीको आवाशीय प्रतिनिधि राखिनेछ ।
घ. कम्पनीको अनुमतिविना कुनै राजाले कोही विदेशसँग सल्लाह र परामर्श गर्न पाउने छैन । राज्यको सुरक्षाको जिम्मा कम्पनीले लिनेछ । आदित्यादी ।

किनकि, यही नै इष्टइडिया कम्पनीको तरिका थियो । तर नेपालको हकमा यो भएन वा हुन पाएन । ‘दक्षीणको बादशाह चतुर छ’ भन्ने बुझेका पृथ्वीनारायणले पहिल्यै रणनीतिक महत्वका स्थानमा किल्ला बाँधे र वंशराज र वीरभद्रको सेनाले पौवागढीमै अंग्रेज सेनालाई धूलो चटाइदियो । आधुनिक अखण्ड नेपालको अभियान मूर्तिकृत हुन बाटो खोल्ने यो ठूलो कडी बन्यो ।

यसैले मलाई पृथ्वीनारायण शाह मन पर्छ ।
***
२७४ वर्ष भयो मेरो पुर्खा नुवाकोट राज्यको रैतीबाट गोरखाली अधिनस्थ प्रजा भएको । भन्नलाई गोर्खालीसँग हारेको राज्यको दरसन्तान भने पनि भयो । सवाल कसले को माथि किन गर्व गर्ने भन्ने हो । हाम्रा पुर्खाका हातबाट नुवाकोट खोसेकोमा आपत्ती हैन, सिंगो नेपालको पहिचान दिएकोमा पृथ्वीनारायणप्रति गर्व गरौं ।

कोतघरमा को काटियो, बेलकोटमा कसको नाउँमा मौलो गाडियो भनेर रुन छाडौं । गिंढिनु र काटिनु युद्धकै स्वरुप हो । इतिहासमा शत्रु राज्य कज्याइसकेपछि पूर्ववत् राज्यका राजालाई दाम÷मोहर चढाएर पुरस्कृत गरिएको दृष्टान्त भेटिन्न ।
***
हाम्रो अभ्यासमा गणतन्त्रको अर्थ पुराना नामहरु मेट्नपर्छ, पुराना संरचना ढाल्नपर्छ तर पुराना बेथिति सँगै बोकेर हिंड्नपर्छ भन्ने छ । राजमार्ग लोकमार्ग भएपछि बाँकि भगवान भरोसा । सज्जनहरु इतिहास केलाउन भन्दा नंग्याउन अभिषप्त छन् । नेपाल कहिल्यै सिंगो थिएन र छैन भन्ने स्थायी कोणबाट तिनीहरुले गर्ने सस्ता र बिकाउ टिप्पणी एकाध दिन बिक्नु र हराउनु आकस्मिकता होइन । पोखराको साहित्य उत्सव हुन् या शहरका तामसी भोज, यस्ता कुरा आइरहन्छन् । दूलामा बसेर वीष सञ्चय गर्ने हरिया साँपहरु ऐनमौकामा मैदान निस्कने र डसेर हिंड्ने अभ्यास उस्तै छ ।

पृथ्वी जयन्ती वरपर त्यस्ता साँपहरु मैदानमा देखिने नै छन् । अस्ती जस्तै । हिजो जस्तै ।
***
पुष २७ । खासमा पृथ्वीनारायण शाहलाई सम्झने दिन । राजाहरुका पनि राजा भएकाले बडामहाराज भनियो, कुरा सकियो । एकता दिवस मान्नु वा नमान्नु अलग कुरा । एकता दिवस कसले चलायो भनेर बहस गर्नुको पनि औचित्य देख्दिन । सार्वजनिक बिदा हुनु र नहुनु पनि अर्को कुरा । तर पृथ्वीनारायण शाह नेपालको इतिहासका श्रेष्ठ पात्र हुन्, विशाल र अखण्ड नेपालको स्वप्नद्रष्टा । तात्कालीन गणराज्यको रुपमा रहेका बाइसी चौबीसीलाई एउटै मालामा उनेर सिंगो नेपाल निर्माण अभियानका बलशाली अभियन्ता । पश्चिमको बाइसीचौबीसी, पूर्वको पल्लो किराँत, र माझ किराँत, मध्यको सेन शासन, उपत्यकाको मल्ल शासन यी सबका बीचमा सग्लो देशको रुपमा एकीकरण अभियान सफलतापूर्वक नेतृत्व गरे । त्यो एकीकरण भुगोलको कि भावनाको ?, जातको कि संस्कृतिको ? राजाको कि रजौटाको ? गोरखाको कि कान्तिपुरको ? यस्ता प्रश्न तात्कालीन यथार्थबाट निरपेक्ष बसेर बुद्धि खियाउने तामस बुद्धिजीवीबाट धेरै आउँछ ।

यसैले केही सवाल उपयुक्त हुन्छ ।

पर्सियन वा इरानीको खेती राजा साइरसलाई गाली गर्नमा सीमित छ ? यूनानी वा ग्रीकहरुले सिकन्दरको गौरवगाथा गाउँछन् वा उछितो काड्छन् ? भारतमा चन्द्रगुप्त मौर्यको सौर्यको निन्दा गरिन्छ ? अखण्ड भारतका अर्का युगपुरुष अशोकको मानमर्दन गर्दा बुद्धिजीवीहरुको हैसियत र प्रतिष्ठाको अनुहार ऐनामा कस्तो देखिएला ? अमेरिकी स्वतन्त्रता संग्राम वा क्रान्तिको नेतृत्व गर्ने सप्तऋषी (हेमिल्टन, जोन एडम्स, फ्रेंकलिन, जोन जे, जेफर्सन, म्याडिसन, जर्ज वाशिंगटन) को खोइरो खनेर ठूला बन्न खोज्नेको हविगत के होला ? रोमन साम्राज्यको अधीनबाट निस्किएर बेलायतलाई अधिराज्य बनाउने राजा जेम्स र चाल्र्स प्रथमलाई बेलायतीहरुले कसरी बुझ्छन् ?

पृथ्वीनारायणकालीन जापानी साम्राज्यका नायक अकिहितो र तोशिकोको निन्दा गर्दा कती हाँस्दा हुन् जापानी ? साम्राज्यको रुपमा जर्मनीको नेतृत्व गर्ने विश्मार्कलाई जर्मन बुद्धिजीवीहरुले पनि नेपालका स्वनामघोषित बुद्धिजीवीले जस्तै कौडीको तहमा राखेर व्याख्या गर्लान् ? अथवा, पूर्व र पश्चिम बाँड्ने बर्लिन पर्खाल ढलेपछिको एकीकृत जर्मनीको नेतृत्व गर्ने हेल्मुट कोल पनि बुद्धिको कोपभाजनमा कति पर्लान् ?

प्रश्न सिधा छ । तात्कालीन विश्व परिस्थति र छिमेकी देशको समेत अवस्थालाई वेवास्था गरेर नेपाल निर्माण महाअभियानको नेतृत्व गर्नु गलत हो ? घर बलियो बनाएर पराईसँग लड्ने सामथ्र्य विस्तार गर्नु अपराध हो ? ३ लाख ३४ हजार बर्गकिलोमिटरको क्षेत्रफलको नेपाल निर्माणको जग हाल्नु सामान्य हो ? यूनानी, मंगोल, इरानी, पोर्चुगीज, फ्रान्सेली, मुगल र अंग्रेज (इष्ट इण्डिया) को पञ्जामा छटपटाइरहेको भारतको दशाबाट अलग राखेर स्वाधीन, अक्षुण्ण र संगठित नेपाल निर्माण गर्नु नाजायज हो ?

सीमान्तकृत समुदायको आवाज बोल्ने दावी गर्ने लेखकहरुले पृथ्वीनारायण शाहलाई लगाउने फासीवादको झल्लु आरोपको प्रतिकार गर्न कोही खस हुनपर्दैन । कोही ब्राम्हण हुनपर्दैन । कोही आर्य र मंगोल पनि हुन पर्दैन । कोही पहाडी, कोही मधेशी हुनपर्दैन । विश्व मानचित्र हेरेर सदाबहार स्वाधीन नेपाली भइदिए पुग्छ । नेपाल एकीकरणको नेतृत्व मात्र पृथ्वीनारायण शाहले गरेका हुन्, तरबार र खुँडा चलाउने किराँत र थारु, मगर र तामांगहरुको भागमा पनि विजयको श्री जान्छ भनेर बुझिदिए पुग्छ । अब चार जातको व्याख्यालाई गर्दा ब्राम्हण, क्षेत्री, ठकुरी र, मगरको रुपमा लिने बबुरासँग कुनै तर्क हुनसक्दैन । यसर्थ, पृष्ठभूमीको बलशाली नेपालको दृष्टान्त नहेरी आरोप र आलोचनाको प्रायोजित खेती बन्द गरौं भन्ने हो ।

कुनैबेला जसरी तीब्बतले नेपाललाई वार्षिक कर तिर्नपर्दथ्यो । तर, तात्कालीन भारत अफगानीलाई समेत वार्षिक कर तिर्दथ्यो । मेरठमा बाजीरावको ‘हिन्दुपाद पादशाही’ अभियान उत्कर्षमा पुग्दा गोरखाको राजा भएका पृथ्वीनारायण शाहले राज्य बचाउने हेतु सफलतापूर्वक चलाएको राज्यविस्तार अभियान नै आजको नेपालको यथार्थ हो भनेर बिर्सन हुँदैन ।

आजको युवा पुस्ताले पोहोर रणवीर–दीपिका अभिनित चलचित्र ‘बाजिराव मस्तानी’ को स्वाद मज्जाले लिए । तर, बाजीरावकालीन नेपालमा पृथ्वीनारायण शाहको रणनीतिक चातुर्यता र दूरदर्शिताको कुनै भेऊ प्राप्त गरे भन्ने लाग्दैन । बाजीरावको पतनपछि कसरी मेरठ साम्राज्यको पतन भयो र पृथ्वीनारायणको शेषपछि पनि कसरी नेपाल अखण्ड नेपाल रह्यो भनेर नेपाली युवापुस्ता जानकार हुँदा पृथ्वीजयन्तीको महत्वले अझ उचाई लिनेछ ।
***
व्यापारका लागि अनुमति दिएर राखिएका युरोपियनले आखिरमा कसरी भारतवर्ष कज्याए ? कसरी एक एक गरेर भारतका राजा र राज्यमाथि हैकम जमाउँदै गुलम बनाए ?आधुनिक भारतको मुगल शासनको पतनको अध्यायबाट यो थाहा हुन्छ ।

केरलामा डच, मैसुरमा फ्रेञ्च, बंगालमा यूरोपीय व्यापारीको छल र कपटको खबर महिना दिनमा कान्तिपुर नै आइपुग्थ्यो । बंगाल र बिहार हडप्दै अहिलेको नेपालको सीमासम्म आइपुगेको इष्ट इण्डिया कम्पनीको दबदबा रोक्न कसरी पृथ्वीनारायण शाहले विजयपुर (हालको मोरंग) र चौदण्डी (हालको उदयपुर) मा किल्ला बाँधे ? वल्लो किराँत, पल्लो किराँत र माझ किराँतमा बाँडिएको शासकीय स्वरुपमाथि नियन्त्रण नगरी कसरी पुग्थ्यो नेपालको पहूँच सिक्किमसम्म ? त्यसैले यो बृहत् राज्यविस्तार अभियानको आधार तयार गर्ने पृथ्वीनारायण शाह नेपालका सिकन्दर हुन्, अलेक्जेण्डर द ग्रेट भने जस्तै द ग्रेट पृथ्वीनारायण शाह ।

(यस अघि प्रकाशित लेख अध्याबदी गरिएको हो )

‘द ग्रेट पृथ्वीनारायण शाह’ [भाग -२]

२०७६ पुष २७,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको