जारी स्थायी समिति बैठकबाट आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली


भदौ २६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्।

शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्ना कुरा राखेर बाहिरिएका हुन्।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली सहमतिमै बैठकको सुरुमा आफ्ना कुरा राखेर बाहिरिएका हुन्।

आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

गत असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्किएपछि साउन १३ पछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

यो विचमा पार्टी नै फुटाउने तहसम्म पुगेका नेताहरुबीच पटक पटकको संवाद र विवाद समाधान गर्न कार्यदल गठन गरेर विवादलाई समाधानतर्फ लगेपछि बैठक पुनः बस्ने वातावरण बनेको हो ।

गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।

कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेशन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् ।

कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने र बैठक स्थगित गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । तर कार्यदल हुँदै अध्यक्षले अन्तिम रुप दिएको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन्।

२६ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको