संक्रमण बढ्दा आत्तिए प्रदेश र स्थानीय तह


साउन २७, काठमाडौँ — दिनदिनै कोभिड संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अधिकारको सीमितता तथा कमजोर पूर्वाधार क्षमताका कारण उनीहरू अप्ठ्यारोमा पर्न थालेका छन् ।

संक्रमितहरूको उपचारका लागि अस्पतालका शय्या, उपकरण र चिकित्सकको अभाव देखिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत स्थिति नियन्त्रणमा लिन संघ (केन्द्र) सरकारको सक्रिय सहयोगको आवश्यकता रहेको बताउँछन् । ‘चिकित्सककै अभाव हुन थाल्यो, रातारात कहाँबाट चिकित्सक ल्याउने ?’ उनले भने, ‘केन्द्रले नेपाली सेना र प्रहरीका चिकित्सकहरूलाई फिल्डमा पठाउन जरुरी छ ।’
प्रदेश २ को एक्लो वीरगन्ज महानगरपालिकामा मात्रै संक्रमितहरूको संख्या एक हजार नाघिसकेको छ । १९ जनाको मृत्यु भइसकेको छ । अस्पतालहरूले बिरामी लिन नमानेका घटना सार्वजनिक भइरहेका छन् । प्रदेशभरिमा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ । पछिल्लो समय लक्षणसहितका संक्रमितहरूको संख्या बढेको र उनीहरूलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएपछि चुनौती थपिँदै गएको छ ।

प्रदेशका अस्पतालको अवस्था नाजुक छ । सरकारी अस्पतालको क्षमताले मात्रै संक्रमितहरूको उपचार सम्भव छैन । प्रदेशभरिका सरकारी अस्पतालमा ७/८ को संख्यामा मात्रै भेन्टिलेटर छन् । यतिबेला निजी अस्पताल तथा मेडिकल कलेजलाई परिचालन गर्नुपर्ने आवश्यकता छ । अधिकारको सीमितताले प्रदेश सरकार त्यसमा लाचार बनिरहेको छ ।

दक्ष स्वास्थ्य जनशक्ति र थप कोभिड अस्पताल चाहिएकाले केन्द्र सरकारसँग सहयोग माग गरिएको मुख्यमन्त्री राउतले बताए । त्यसैका लागि काठमाडौं आएका राउतले उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटेर प्रदेश २ मा स्वास्थ्यको ‘स्पेसल प्याकेज’ पठाउन आग्रह गरेका हुन् ।

संकटका बेला निजी अस्पतालहरू सेवा बन्द गरेर बसेका छन् । सुरक्षा निकायलाई आदेश दिएर ती अस्पताललाई नियन्त्रणमा लिई त्यहाँको जनशक्ति र पूर्वाधारलाई प्रयोग गर्नुपर्ने, सेना प्रहरीका चिकित्सक पठाउनुपर्ने, स्वास्थ्य सामग्री तथा उपकरणको उपलब्धता गराउनुपर्ने राउतको माग छ । ‘पैसा मात्र भएर पुग्दैन, हामीसँग भएको स्रोत खर्च गरेका छौं । खर्चिन तयार छौं,’ राउतले कान्तिपुरसँग भने, ‘स्थिति बिग्रिँदै गएको छ । यस्तो बेलामा ज्वाइन्ट इफोर्टको आवश्यकता छ । अहिले आरोपप्रत्यारोप होइन, समन्वयको खाँचो छ । कहाँ के कमजोरी भइरहेका छन् । मिलेर समाधान खोजिनुपर्छ । कोही एक्लैले सक्ने अवस्था छैन ।’ तर, केन्द्रबाट राम्रो समन्वय नभइरहेको प्रति प्रदेशको असन्तुष्टि देखिएको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसँग मुख्यमन्त्री राउतको गुनासो थियो, ‘प्रदेशका जनता आक्रान्त बनिरहँदा तपाईं वा स्वास्थ्यमन्त्री त्यहाँका जनताका पीरमर्का बुझ्न किन आउनुभएको छैन ?’ कोरोना नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तह तीनवटै सरकारले काम गरे पनि आपसी समन्वयको अभाव देखिएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल संघ सरकारका मन्त्रीले प्रदेशसँग बिल्कुलै समन्वय नगरेको गुनासो गर्छन् । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् |

२०७७ श्रावण २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको