२ दिन आउँदिन है भनेर गेस्टहाउसबाट निस्किएका थिए बोहोरा !


साउन २७, काठमाडौं । आइतबार बिहान गोंगबुको गणेशथान नजिकै सुटकेसमा मृत भेटिएका कृष्णबहादुर बोहोराको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले सोमबार हत्या भएको घरसमेत फेला पारेको छ ।

आइतबार बिहानै बोहराको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । शरीर सुटकेस थियो भने टाउको र खुट्टा करिव ३ सय मिटर पर जेब्रा झोलामा फालिएको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीले हत्यामा संलग्न भएको अभियोगमा एक महिलालाई सोमबार बेलुका नै चितवनबाट पक्राउ गरिसकेको छ । उनी महिला भएको र हत्यापछि शव फालेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको बताए ।

प्रहरी उच्च स्रोतका अनुसार शव फालिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा कोठामा बोहोराको हत्या गरिएको प्रहरी अुसन्धानले देखाएको छ ।

मृतक बोहोरा सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । उनी मंसिरदेखि मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बस्दै आएका थिए । २ दिन आउँदिन है भनेर शनिबार बेलुका करिब ३÷४ बजेतिर निस्किएको गेस्ट हाउसका सञ्चालक बताउँछन् ।

प्रहरीले सोमबार दिउँसो नै बोहोराको हत्या गरिएको घरलाई घेरा हालेर हत्या गरिएको स्थानको मुचुल्कासमेत तयार गरिसकेको छ । प्रहरीले शवको सनाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सार्वजनिक गरेको थियो । अपराध महाशाखाले मृतकको अनुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो ।

यो पनि

गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !

गोंगबु घटना : शवको पहिचान भएन, अपराधी खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

गोंगबु घटना : शवको पहिचान हुन नसकेपछि प्रहरीद्वारा तस्वीर सार्वजनिक

गोंगबुमा सुटकेशभित्र फेला परेको शवको सनाखत, अपराध भएको स्थान फेला पर्यो !

कृष्णबहादुर बोहराको हत्या अभियोगमा एक महिला पक्राउ

२०७७ श्रावण २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको