‘पाटीमा कोरिएका निरक्षरहरु’


पहिले पाटी एउटै थियो कालोपाटी । कालो पाटीमै अक्षरज्ञान सिकियो । पछि सेतो र राटोपाटी पनि थपिए । पछिल्लो समयमा बाह्रखरी पनि थपियो । पहिले बाह्रखरी पनि कालो पाटीमै पढेका हौं ।

अहिले चाहिँ प्रत्येक मान्छेले कुनै न कुनै पाटी खोलेको छ । कालोपाटी, सेतोपाटी, रातोपाटी, गोरोपाटी, खैरोपाटी, पहेंलोपाटी, बैजनीपाटी, निलोपाटी, हरियोपाटी । पाटी खोलेर रंगका नामहरु नै सकिए ।

रंगका नामहरु सकिएपछि बिकल्प खोज्नु पनि बाध्यता नै हो भन्छु । जसरी पनि नामको पछाडी पाटी जोडिएकै हुनुपर्छ । मोटोपाटी, पातलोपाटी, लामोपाटी, छोटोपाटी, अग्लोपाटी, होचोपाटी, हटपाटी, कोल्डपाटी सायद यस्तै यस्तै पाटीहरु । यी पाटीहरु भन्न त आफुलाई स्वातन्त्र पाटी भनेको सुन्छु तर सारमा पार्टीका मुखपत्र जस्तै लाग्ने । तब यी पाटीका अक्षरहरु पढेर समुदायले के सिक्छ ?

आजभोलि सबै मान्छेहरु कुनै न कुनै पाटीमा संलग्न भएको देख्छु । यो माहोलमा म पनि अछुतो रहन सकिन र एउटा पाटीसंग जोडिएको छु, ‘पोष्टपाटी’ ।

हिजो कालोपाटीले धेरै मान्छेहरुलाई शिक्षा दियो । डाक्टर जन्मायो, इन्जिनियर जन्मायो, पाइलट जन्मायो, बैज्ञानिक जन्मायो । आजका पाटीहरुले के दिए ? के सिकाए ? मलाई यसो भन्नलाई डर लाग्दैन कि यी पाटीहरुले दिग्भ्रमित समाज र समुदाय जन्माए ।

मैले जमानामा खोलेको एउटा फेसबुक अकाउन्ट छ ।आजभोलि फेसबुक अकाउन्ट नभएको युवा सायदै होला । त्यो अकाउन्टबाट यी पाटीहरुको पेज लाइक पनि गरेको छु । मलाई लागेको थियो कि कालोपाटीमा पढेर त यतिको जान्नेसुन्ने भइयो भने सप्तरङ्गी पाटीहरुमा पढे झन थुप्रै कुरा जान्ने छु । तर त्यसो भएन ।

आजभोलि आतंककारी कोरोनाको महामारी चलिरहेको वेला ती पेजहरुमा शेयर हुने पाटीमा लेखिएका कुराहरुले मेरो हौसला टुटिरहेको छ र मनमा भय उत्पन्न भएको छ । कालोपाटी पढेका डाक्टरले सुझाउछ, यस घडीमा आत्मबल बलियो बनाएर भाइरसलाई जित्न सकिन्छ ।

आफू मरिरहेको भ्रम पालेको मान्छेको आत्मबल कतिको बलियो हुन्छ ? त्यो त चिन्तैले मर्छ । रोगले भन्दा शोकले मर्नु परिरहेको छ । मेरो आत्मबल आधा मरिसक्यो यी पाटीहरुमा लेखिएका निरुत्साहित बनाउने अक्षरहरुले गर्दा ।

मान्छे मरेको बाहेक कुनै अक्षर नलेखिने रहेछ ती पाटीहरुमा । फलानो देशमा यति मान्छे मरे । यति लाख संक्रमित भए । उनिहरुको धावा यहि हो कि मानौं पृथ्वीका सबै मान्छे मर्न गइरहेको छ । कसैले लेख्दैन कि आज कति जना कोरोना बिरामी निको भए ? मृत्युको समाचार लेख्न मिल्ने पाटीमा निको भएका समाचारहरु लेख्न किन मिल्दैन ? पराजित कथाहरु लेखिने पाटीहरुमा बिजयका कथाहरु किन लेखिदैन ?

मैले सुनेको एउटा कथालाई समयसापेक्ष बनाएर यहाँ समाबेश ग-यो भने अन्यथा नहोला । “एकदिन एकजना मान्छे कालसंग भेट भएछ । कालले आफ्नो भेष बदलेर नाम कोरोना राखेको थियो । उक्त मान्छेले कोरोनालाई सोध्यो, ‘के कामले पृथ्वीमा आउनु भयो ?’ तब कोरोनाले जवाफ दियो, ‘यो पृथ्वीबाट दस हजार मान्छेहरुलाई उठाउन आएको हुँ ।’

त्यसपछि शहरमा मान्छेहरु भटाभट मर्न थाले । लाखौं लाख बिरामी भए । एक लाख भन्दा बढी मान्छेहरु मरे । मृत्यु कहिले रोकिने हो थाहा थिएन । त्यसपछि उक्त मान्छेले आफुलाई कोरोनाले झुट बोलेको ठान्यो र खुब रिसायो ।

एकदिन फेरि उहीँ कोरोनासंग त्यो मान्छेको जम्काभेट भएछ र सोधेछ कि ‘तिमले मसंग किन झुट बोल्यौ । दस हजार मान्छे उठाउछु भनेर लाखौं मान्छे उठाइदिने ?’ तब कोरोनाले जवाफ दिएछ, ‘उठाउन त दशै हजार उठाएको हो । बाकी मान्छेहरु त भयले आफै मरे । यसकारण मलाई दोष लगाउन मिल्दैन ।”

त्यो मान्छेलाई थाहा भयो कि लाखौं मान्छेहरु मर्नुको कारण ‘भय’ हो । खासमा त्यो मान्छे आफै पनि मर्छु कि भन्ने भयले सताइरहेको रहेछ । तब कोरोनाको कुरा सुनेर आत्मबल बलियो बनायो र अरुलाई पनि बलियो बनाउन सुझाव दियो । तब शहरमा मान्छेहरु मर्न बन्द भयो ।

हामी पनि मृत्युहरुलाई रोक्न सक्छौं । जीवन भनेको एउटा दियो हो । दियो बल्छ त केवल उर्जाले बल्छ । बिना उर्जा कुनै दियो बल्दैन । जीवनको दियो बाल्ने आधा उर्जा नै हाम्रो मनोबल हो ।

हामीले धेरै काम गर्नुछ । मृत्यु जितेर मात्रै केही गर्न सक्छौं । यो निराश मनाउने समय होइन । आत्मबल बढाउने समय हो । कोरोनासंगको निर्णायक युद्धमा हाम्रो बिजय निश्चित छ । जसको लागि पाटीहरुमा बिजयका कथाहरु पनि लेखिनुपर्छ । आत्मबल बढाउने खालका अक्षर लेखिनुपर्छ ।

२९ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको