माग्दै हिड्छन् रोल्पाका यी नावालक, कहाँ छन् अधिकारकर्मी ?


फागुन २८, राेल्पा । “झोलामा कापी कलम बोकेर विद्यालय जाने उमेरका एक बाल हिजोआज रोल्पाको लिबाङमा सडक पेटीमा माग्दै हिडिरहेका छन् । केवल पेट भर्नकैलागि उनी माग्दै हिड्ने गरेको उनका छरछिमेक तथा आफन्तहरु बताउछन् ।

आफ्नो नाम टंके विक बताउने बालक करिव ७ वर्षका छन् । मैलो शरिर, पट्पटी फुटेका हातखुट्टा, उस्तै फोहर कपडा तथा नाकभरी सिंगान बोकर उनको दैनिकी बितिरहेको छ । पढ्ने, लेख्ने, खेल्ने तथा नयाँनयाँकुरा सिक्ने उमेरका बालक यसरी सडक पेटी माग्दै हिडको भनी बजारबासीहरुले दुःख प्रकट गरिरहेका छन् । तरपनि उनको भविष्यको बारेमा न उनका बाबुआमा चिन्तित छन् न त बालअधिकार क्षेत्रमा चर्काचर्का भाषण ठोक्नेहरु ।

उनको बारेमा कसैलाई वास्ता छैन । एकाबिहानै घरबाट निस्कन्छन् । साँझ अबेरसम्म मागेर हिड्छन् । न कसैले उनको खोजी गर्छ न उनलाई कसैको वास्ता छ । देशले सुखी नेपाली समृद्ध नेपालको नारा अघि सारेको छ । जिल्लापनि बालअघिकारका क्षेत्रमा अग्रसर देखिन्छ तरपनि उनको बारेमा कसैलाई चासो चिन्ता नहुनु अत्यन्त दुःखद पक्ष भएको स्थानीय ब्यापारी सिर्जना सुवदीले बताइन् ।

श्री बाल कल्याण नमूना माध्यमीक विद्यालय लिबाङ रोल्पाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानले उनको बालअधिकारको हनन भइरहेको बताए । न्यौपानेका अनुसार विककी आमा केहीवर्ष अघि घरबाट निस्केर हिडेपछि उनको बिचल्ली भएको हो । विकका बाबु श्यालाल विक पनि मागेर दैनिकी चलाइरहेका छन् भने विकका भाइ कुपोषणको शिकार भएर बोझिलो जीवन बाँचिरहेका छन् । गतःवर्ष बालमन्दिर प्राविमा कक्षा एकमा भर्ना भएका विकको पढाइर्, अभाव र गरिवीका कारण बीचमै रोकिएको छ ।

यस्ता बालबालिकाको भविष्यका बारेमा स्थानीय सरकार गम्भीर बन्न जरुरी हुने उनले बताए । साथै आयश्रोत नभएका परिवारका बालबालिकाहरुको भविष्य सधैं अन्यौलमै रहने भएको हुँदा यस्ता बालबालिकाका अभिभावकहरुलाई आयमूलक क्षेत्रमा सहयोग पुर्‍याउन सके थप राहतहुने न्यौपानेको सुझाव छ ।

यस्तै मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले यस विषयमा सबैभन्दा बढी स्थानीय सरकारको ध्यानाकर्ष हुनुपर्ने बताए । उनका अनुसार बालबालिकाका क्षेत्रमा काम गर्दै आएको हुरेकद्वारा संचालित कार्यक्रम हाल रोल्पाको लुंग्री र त्रिवेणी गाउँपालिकामा मात्र संचालनमा रहेको हुँदा रोल्पा नगरपालिका भित्र तत्काल केही गर्न सकिने अवस्था छैन । तरपनि यी बालकको बारेमा सरोकारवाला निकायहरुलाई जानकारी गराउँदै समन्वय गर्न सकिने उनको भनाइ छ ।

यस विषयमा रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले आफूहरुको ध्यानाकर्षण भएको बताए । उनका अनुसार यस अघि विकको परिवारलाई बैदेशिक रोजगारीमा गएकाहरुले आर्थिक सहयोग गरेका थिए । “विकका बाबुले काम गरेर दुइवटा बच्चा पाल्न सक्ने अवस्था भएपनि त्यसो हुन सकिरहेको छैन । हामीले ती बालकहरुको कसरी हेरचाह गर्ने भन्ने विषयमा कार्यविधि बनाएर अघि बढ्ने सोच बनाएका छौं” केसीलेे भने ।

गतः वर्ष आफ्नो जन्मदिनको अवसर पारेर पत्रकारद्वय लोकेन्द्र चन्द र उमा केसीले विकको परिवारलाई चामल, अण्डा, कापी, कलम तथा अन्य खाद्य सामाग्री सहयोग गरेका थिए ।

२०७६ फाल्गुन २८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको