नेकपाले मनाउने ‘जनयुद्ध’ दिवसमा प्रधानमन्त्री ओली पनि सहभागी हुने


माघ २८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले यसपालि पनि जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवस मनाउने भएको छ । उक्त दिवसमा मनाइने कार्यक्रममा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने नेकपाले जनाएको छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध थालनी गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको थियो। माओवादी र तत्कालीन नेकपा एमालेबीच एकीकरण भएर बनेको नेकपाले गएको वर्ष जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवस मनाएको थियो। त्यो बेला आयोजित कार्यक्रममा ओली उपस्थित भएका थिएनन्।

यसपालि भने फागुन १ गते बिहीबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुँदैछन्।

केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले सोमबार निकालेको सूचनामा दुवै अध्यक्ष कार्यक्रममा सहभागी हुने उल्लेख छ।

सूचना अनुसार बिहीबार विहान ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनआन्दोलन/जनयुद्धका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनेछन्।

पार्टी एकीकरणपछि नेकपाले गएको वर्ष नै जनयुद्ध दिवस मनाउने निर्णय गरेको थियो। त्यसबेला जनआन्दोलन शब्द थपेर नेकपाले जनयुद्ध दिवस मनाउने सहमति गरेको थियो।

नेकपाले नेता तथा कार्यकर्तालाई पनि कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।

२८ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको