यसकारण अप्ठेरोमा परे ओली

फाइल तस्बिर

कात्तिक २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाएर छलफल गर्दै आएका छन् ।

पार्टीमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताका साथै पूर्वमाओवादी समूहका नेताहरूले सचिवालय बैठक तत्कालै बोलाउन आग्रह गरिसकेका छन् । यसअघि प्रधानमन्त्री ओलीप्रति सहानुभूति राख्ने नेताहरूले समेत बैठकबाटै समस्याको समाधान खोज्न आग्रह गर्न थालेका छन् ।

‘केही समयअघि ओलीप्रति सहानुभूति राखेका र पूर्वमाओवादी खेमाका नेताहरूले पनि बैठक राखेर विवाद अन्त्य गर्न दबाब दिँदा प्रधानमन्त्री झन् अप्ठेरोमा परेका छन्’, नेकपा उच्च स्रोतले भन्यो । पार्टी महासचिव विष्णु पौडेलले भने केही दिनमै सचिवालय बैठक बस्ने बताएका छन् । ‘परामर्शपछि सचिवालय बैठक बस्छ’, उनले भने ।

तोकेको समयसम्म पनि ओलीले सचिवालय बैठक नबोलाएपछि सोमबार साँझ दाहालसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा छलफलमा जुटेका थिए । उनीहरू मंगलबार एक दिन कुर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो । त्यसअघि बिहान महासचिव पौडेल खुमलटार पुगेर ओली स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्न तयार रहेको र विधानअनुसार बैठक बोलाउन लागेको जानकारी गराएका थिए ।

पौडेलसँगको भेटमा दाहालले सचिवालय बैठक तत्कालै बोलाएर विवादित विषयबारे छलफल गर्नुपर्नेमा जोड दिएका थिए । दाहालले सचिवालय बैठक आफैं पनि बोलाउन सक्ने संकेत गरेका थिए । स्रोतका अनुसार दाहालले पौडेलसँग भने, ‘कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक बोलाउन म पनि सक्छु तर ओलीजीले नै बैठक बोलाऊँ भन्नुभयो भने झन् सहज हुन्छ, विवाद हुन्न । पार्टी एकीकरणको मर्म र भावनाको सम्मान हुन्छ त्यसकारण चाँडै बैठक बसौं ।’ यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

२५ कार्तिक २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको