सन्तोष पुन मगर,
दोहाको त्यो भट्टि डाडा । लव डाडा भन्दा पनि फरक नपर्ला । गएको शुक्रबार तिलु शर्मा र रमेश पौडेलसंग भेटौ भनेर चाजोपाजो मिलाएका थियौं ।
बिहान भेटौ भन्ने थियो तर साथीहरुले एउटा दोहोरी गितको छायांकन गरौं भनेर कटक बुढाले निमन्त्रणा गरे पछि म त्यो भेटलाई साझ तिर सारेर ग्राण्ड मल तिर लागे ।
दिनभरी त्यही लाइभ दोहोरिको छायांकन गरियो र बेलुका ४:३० बजे सकियो । त्यसपछि तिलु शर्मालाई फोन गरे कहाँ हुनुहुन्छ भनेर ।
तिलु शर्माले म मिसाइड छु केटा समुन्द्रतिर पौडिन आएको छु, कर्नेसमा आएर बस म त्यही आउछु भने पछि म सरासर ट्याक्सी चढेर कर्नेस तिर लागे ।
कर्नेस एउटा पर्यटकीय स्थलको जहाँ नेपाली वा अन्य कुनै देशका मान्छे भेटघाट हुने र हप्तामा एक दिन हुने बिदाको समयमा मनोरञ्जन लिने घुम्ने ठाउँ रहेकाले शुक्रबारको दिन त्यहाँ निकै भिडभाड हुन्छ ।
एक बर्ष अगाडी त्यहाँ खाली घुम्ने रमाइलो गर्ने मात्रै गरिन्थ्यो तर अहिले त त्यहाँ चटपट देखि बियर र श्रीलंके समेत बेच्ने अड्डा बनिसकेछ ।
खासमा म त्यता खासै जादैन । खाली साथीभाईहरुले बोलाए भने जाने फरक कुरा हो । कोरोना सिजन शुरु भइसकेकाले पनि नजानुको कारण हुनसक्छ ।
लगभग ६:०० बजे म कर्नेसमा पुग्दा तिलु आइपुगेको थिएन । यसो फोन घुमाएको उहाँबाट जवाफ आयो- “कतै त्यता झगडा प-यो भने भिडियो खिचेस ।”
तिलु शर्मा जसले कतारबासी नेपालीहरुको त्यो गैरजिम्मेवारी क्रियाकलापको घोर बिरोधी थिए र स्थानिय प्रशासन र सम्बन्धित निकायहरुको सहयोगमा ती गतिबिधिहरु रोक्न चाहन्थे ।
उनै तिलुले भनेपछि त्यहाँ वरपरका नेपाली युवा युवतीहरुको रमाइलो माहोलमा झुलिएर केही समय घुमे ।
घुम्दाघुम्दै मैले एक्कासी अगाडी एकजना मान्छेलाई १०/१५ जना केटाहरुले भुइँमा लडाएर फुटबल खेलिरहेको दृश्य देखियो । एउटा लामो कपाल पालेको फिस्टे केटो बढी उफ्रीरहेको थियो । उसले छातीमा मुक्का हान्दै भनिरहेको थियो- “कतारमा हामीलाई कसले छुन्छ ? कुन नेपालीको पाखुरामा तागत छ, आइज सिङ्गल सिङ्गल ।”
खासमा भन्ने हो भने त्यो फिस्टे त्यो १०/१५ जना ग्रुपको सबैभन्दा ख्याउटे र कमजोर होला भन्ने मेरो अनुमान छ । केवल अरुको आडमा उफ्रीरहेको थियो ।
भिडियो खिच्नको लागि क्यामेरा मात्रै अन गरेको थिएँ त्यसैवेला एकजना चिरपरिचित ब्यक्ति त्यो भिडबाट कुलेलाम ठोक्यो । यसो चियाएर हेरेको ठ्याक्कै चिने । बहुत बेजोडमा म्युजियमको गेटनेरबाट भाग्ने ब्यक्ती तिलु शर्मा थियो ।
किन दौडिए ? यसो कुरा बुझेको त्यहाँ फोटो वा भिडियो खिच्नेलाई खोजीखोजी कुटिहाल्ने अभियान चलेको रहेछ । तब मेरो गोडाले भुइँ छोडिसकेको थियो ।
भाग्नु भएन । भाग्यो भने उनिहरुकै घेरामा थिएँ । यसो एकजनालाई किन कुटेको भनेर सोधेको जवाफ आयो- “रक्की दादाको गर्ल फ्रेन्डलाई जिस्काउदोरैछ यार ।”
“को रक्की दादा ?” मुख चिलाइहालेकाले सोधेछु ।
“तिमी कहाँबाट आएको ? टाढैबाट आएका हौ ?” उसले मलाई प्रतिप्रश्न सोध्यो । हो भन्नै प-यो ।
यो एरियामा रक्की दादालाई नचिन्ने कोहि छैन । उहाँ हो भनेर एकजना जगल्टेलाई देखायो ।
उसको कुरा सुनेर पेटमा हासो मडारियो तर बाहिर निस्किन दिएन । नत्र राम धुलाई निश्चित थियो । त्यो रक्की भनेर चिनिने मान्छेसंग अरुको तुलनामा खासै भिन्न विशेषता थिएन । पाखुरामा टाटु खोपेको र उसको कपाल महिलाहरुको जस्तो लामो कपाल पालेर पछाडी बाधेको थियो ।
एउटा स्यानो उत्तरदायित्व बोकेको मान्छे भनेर आफुलाई सम्झिएँ । तब त्यो दुब्लो केटोलाई सम्झाउदै भने- “हामी यहाँ कमाउन आएको आफ्नो परिवारको लागि होकि गल्डफ्रेन्डको लागि हो ?”
मेरो जवाफ दिन नपाउदै उसलाई रक्की दादाको आदेश आयो- “साले त्यो रण्डिको छोरा हिरो बन्छ । त्यो एउटा भिडियो खिच्ने सेतो तिसर्ट र हाफ पाइन्ट लगाएको टिसर्टमा नेपालको झण्डा भएको मान्छे यतै कता गएको छ त्यसलाई खोजेर त्यो भिडियो डिलिट गर्न लगाएर धुलाई गर्नुपर्छ ।”
त्यो जगल्टे रक्किको नाम मनमनै राखिदिएँ- “जांड बहादुर ।”
त्यो जांडबहादुरले भनेको हुलिया भएको मान्छे अरु कोहि नभएर हाम्रै तिलु शर्मा थिए ।
मैले त्यो फिस्टेलाई भने- “कुनै नेपाली सिआइडी, दुतावासले पठाएको मान्छे वा पत्रकार हुनसक्छ ।”
मेरो कुरा त्यो रक्की भनेर चिनिने जांडबहादुरले सुनिरहेको रहेछ । उसले कसम खादै भन्यो- “पत्रकार होस् वा राजदुत नै । आमा कसम भेट्यो भने सिधै समुन्द्रमा फाल्दिन्छु । रक्किलाई चिन्या छ ? कोहो दुतावास ? को पुलिस ? को पत्रकार ? यत्राको पत्रकार ?”
त्यो फिस्टे मेरो धेरै नजिक आएर सोध्यो- “सोल्टी मोबाइलमा ब्यालेन्स छ ?”
मलाई लागेको थियो कि पक्कै कसैलाई लोकल फोन गर्नलाई होला । तर होइन रहेछ ग्यालरीमा गएर चेक गर्न थाल्यो । रोक्न पनि नमिल्ने । सोचे, आज दशा ठिक छैन । धुलाई भेटिने भयो । मोवाइल छोडेर भागौ भने महत्त्वपूर्ण डकुमेन्टहरु सेभ गरिएको छ ।
तर भाग्यले साथ दियो । यत्तिकैमा उनिहरुले खोजिरहेको तिलु शर्माको फोन आयो । उनिहरुले तिलुलाई नचिनेकाले मलाई काम लाग्यो ।
फोन आयो भनेर त्यो फिस्टेले मोवाइल दियो । कसो दस हात पर उफ्रेन । कसम मेरो खुट्टा लगलग कापिरहेको थियो । त्यहाँ बचाउने कोहि थिएन । केही फोटाहरु खिचेको थिएँ । ती फोटाहरुकै कारणले कुटाई खाने निश्चित थियो ।
उनिहरुको पन्जाबाट फुत्किसकेपछी तिलु शर्मालाई फोन गरे । वारीपट्टि गाडीमा रहेछ । त्यतै लागे ।
तिलु शर्मासंग भेट भयो र गाडीमा बसियो । त्यसैवेला रक्की भनेर चिनिने जांड बहादुरहरुको अखडामा पुलिसको भ्यान आएर रोकियो । तब अघि भर्खरै को पत्रकार ? को पुलिस ? को राजदुत भनेर खोक्ने रक्की सुइँकुच्चा ठोक्यो । त्यो दृश्य कम रोमान्टिक थिएन ।
प्रतिक्रिया दिनुहोस