तल शहरमा त सरकार बहुलायो रे !


पृथीछक बुढा | म त रुकुमको पुच्छारको मान्छे । कर्णालीको सिमानाको मान्छे । सदरमुकाम पुग्नै दुई दिन लाग्छ । बर्खामासको यो हिलहिले मौसममा फोनले पनि त्यति गतिलो काम गरेको छैन । जोग्या नाम गरेको एकजना साथीले फोन ग-यो । स्क्र्याच भिसिडी बजाउँदा निस्किने आवाज जस्तै थियो फोनमा उसको आवाज । निचोडमा यहि भन्यो- “शहरा त सरकार ननाम्रोसंग बहुलायो ।”

मान्छे बहुलाएको देखेको छु । बहुलाह मान्छेले के गर्छ ? त्यो हामी सबैले देखेकै हौं । बहुलाहले परिवार चिन्दैन, आफ्नो बिरानो चिन्दैन । आफैलाई त चिन्दैन भने अरु त कुरै सकियो नि । अहिले अरुलाई खुकुरीले छप्काउन वेर मान्दैन । कहिले भिरमा फालहाल्न खोज्छ त कहिले खोलामा ।

एकजना नगर गोत्यार भाईले अलिकती मानसिक सन्तुलन गुमाएका के थिए, छिमेकीलाई खुकुरीले छप्काएर बित्यास पारे । झण्डै उसको गतिलो साहिलो भाइ थिए र हेलिकप्टर मगाएर घाइतेलाई अस्पताल पु-याए । नत्र सकिन्थे ।

बौलाहा कुकुर पनि देखेकै छौँ । सबैलाई थाहै छ बहुलाह कुकुर बडो खतरनाक हुन्छ । टोक्यो कि रेबिज सरिहाल्छ । बुटवलमा एकजना नजिककै चिनेको दिदिलाई बौलाहा कुकुरले टोकेर अन्ततः रेबिजले मारेरै छाड्यो ।

हात्ती बहुलाएको पनि सुनेका छौँ । तर मैले देखेको होइन । नदेखेको कुरालाई देखे भनेर गफ दिनु उपयुुक्त नहोला । सबैले सुनेकै हौंला, बौलाहा हात्तीले उपद्रो गर्छ ।

तर साथीले नयाँ कुरा सुनायो । सरकार बहुलायो । सरकार बौलाउदा त्यसको नेचर कस्तो हुन्छ ? खासमा सरकारै नदेखेको मान्छेलाई यी कुराहरु थाहा हुने कुरै छैन । सरकार कस्तो हुन्छ भन्ने कुरा बबुरा हामी जस्तो कुनाको मान्छेलाई के थाहा ? उ बहुलाउदा के गर्छ भन्ने कुरा त थाहा हुने कुरै भएन । धरोधर्म थाहा छैन । बरु किरिया खान तयार छु ।

उसले अरुले सुन्ला कि भने झैँ गरेर भन्यो- “सरकार बौलाएको त तिमलाई थाहै होला । यो बौलाएपछी शहरमा हुने नहुने काण्डहरु भएको छ । हुन त पहिलै अलिअली खुस्केको हो कि भन्ने लागेको हो । रेल ल्याउँछु भन्यो, ल्याएन । ल्याउन कसले छेक्या हो ? पानीजहाज ल्याउँछु भन्यो, ल्याएन । शहरमा सबैको घरघरमा ग्यास पाइप जोडिदिन्छु पनि भन्याथे । हावा फुस्केकैले हो कि हावाबाट बिजुली निकाल्छु पनि भन्यो । यति मात्रै कहाँ हो र ?”

जोग्याले शहरका काण्डहरु साउतीमै बताउन थाल्यो- “३३ किलो सुन त गायबै भो नि । आमामामा ! वाइडबडी पनि छानबिन भएन । अनि त्यो ७० करोडको काण्ड थाहा होला नि ? सुन्छु, अख्तियारले उसलाई उन्मुक्ति दिदैछ रे । बालुवाटार जग्गा प्रकरण पनि सुनेकै हौला । आमा हो ! सरकारैले सांसद अपहरण पनि गरेको भनिन्छ । यसको छानबिन पनि फुस्स भयो त । अनि कोरोना राहात सामाग्री खरिद प्रकरणमा पनि ठुलै खेल भएको छ है शहरमा । सरकार बौलाएपछी कसको के लाग्छ र ?”

जोग्याले कुरा लम्ब्याउन थाल्यो- “शहरमा बसिनसक्नु भएको छ । तिमी त गाउँमा आनन्दै छ । न लकडाउनको चिन्ता, न भोकको सुर्ता । सुन्छु आजभोली क्यान्सर, क्षयरोग, दम, हर्टहट्याकले मान्छे मर्न बन्द भए रे । पुरै कोरोनाले म-यो भनेर सरकार बोलिरहेको छ । बौलाह हो जे पनि बोलिहाल्छ । लकडाउन लम्ब्याएको छ । हिजो मात्रै भोक लाग्यो भनेर भोको पेटमा नाम्लो कसेर एकजना मजदुर धुरुधुरु रोएको देखेको हुँ । केही महिना अगाडी मात्रै त्यस्तै भारी बोक्ने सुर्यबहादुर तामाङले सडकमै देह त्यागे । शहरको हालत यस्तै छ मित्र । अब कोरोनाले होइन भोकले ज्यान लान्छ जस्तो छ ।”

जोग्या बोलिरह्यो । मानौं सुन्ने ठेक्का मेरो हो । सरकार नदेखेको मान्छेको लागि उसको बौलाहपनको बखान सुन्नु पनि मेरो लागि नौलो कुरा थियो । मैले सुनिरहे । जोग्याले भट्याइरह्यो- “हिजो अस्ति पनि उपद्रो गरेको सुन्छु । मजदुर ल्याउँछु भनेर दुबईमा जहाज लिएर गएथ्यो, के सनक चढ्यो खै एकजना मजदुर नलिइ रित्तै आएछ । उता घर फर्कन नपाएर डिप्रेसनले चेत गुमाएर एक महिलाले बर दुबईको नजिकै समुन्द्रमा हाम फालेर देह त्यागे रे । त्यस्तै अध्ययन गर्न युएई आएका एकजना लमजुङका २० बर्षिय युवकले समुन्द्रमै हाम फालेर देह त्यागे । अस्पतालमा उपचाररत रुपन्देहीका रामसेजवन केवट घरपरिवार सम्झिदासम्झिदै सास छिन्यो । परिवारले शब कहिले पाउछन टुङ्गो छैन रे । साथीले भनेको अधिकतम १५-१६ सय धिराममा टु वे टिकट पाइन्थ्यो रे पहिले । अहिले त्यसको दोब्बर छ त्यसका बाजे । नेपालमा भने सरकारले भनिरहेको छ- “बिदेशबाट मजदुरहरुलाई निशुल्क उद्धार गर्छौं । गर्छु गर्छु भनेर हुन्छ ? कहिले गर्छ ? एकजना मान्छे बौलायो भने परिवार बर्बाद पार्छ तर सरकारै बौलायो भने त देशै डुबाउदोरहेछ ।”

जोग्याले फोन राख्नुअघी भन्यो- “हामीले सरकार छान्यौ । हामी आफ्नो लागि भनेर छान्यौं तर उसले हाम्रो लागि गरेन । आफ्नै लागि ग-यौ । उसले हामीमाथि गद्दारी ग-यो । समय आउँछ मित्र मान्छे चिनियो, सरकार चिनियो । हामी पनि आफ्नो तमास देखाइहाल्नुपर्छ ।”

फोन राख्नु अघि उ अलिकती भावुक भएर भन्यो- “कोरोनाले त मार्न सक्दैन तर भोकले मरिएनछ भने अबस्य भेटौला । सायद दशै पनि यतै हुन्छ होला । गाउँमा त लकडाउन छैन । पर्व राम्रोसँग मान्नु । दिग्रे नाचेका थियौं पोहोर साल । मलाई माया नमारे ।”

उ अन्तिममा धुरुक्कै रोयो र बोल्न नसकेर फोन राख्यो । तब मैले मनमनै बिचार गर्न थाले- “अब बौलाहा सरकारको राम्रो उपचार नगरी भएन ।”

२०७७ भाद्र २५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको