देशभरबाट १ हजार ८ सय १८ जनाले जिते कोरोना भाइरस


भदौ २५, काठमाडौँ । गएको २४ घण्टामा १८ सय १८ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।

नेपालमा आज १८ सय १८ जना निको भएसंगै जम्मा निको हुनेको संख्या ३५ हजार सात सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमण मुक्त भइ घर फर्कनेको दर बढ्दै गएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४६ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ। मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ५६ पुगेको हो।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ७२ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ४ सय ९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जना छन् ।

अहिलेसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना, ललितपुरमा एक हजार ११ र भक्तपुरमा आठ सय १८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ।

२०७७ भाद्र २५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको