रोल्पाका पहिरो पिडितलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा राहात वितरण


भदौ २५, रोल्पा । रोल्पाको जंकोट र भाबाङका करिब २ दर्जन पहिरो पिडितहरुले राहात पाएका छन् । अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले स्थलगत अनुगमन गरि संस्थाका अध्यक्ष सन्दिप थापाको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।

जंकोटका पहिरो पिडितहरु मध्ये २ जनालाई १० हजारको दरले, ५ जनालाई ६ हजारको दरले र वडाको राहात संकलन सहयोग समितिको कोषमा २० हजार गरि ७० हजारको राहात बितरण गरेको अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार विदेशमा बस्ने रोल्पालीहरुले संस्था मार्फत राहत संकलनगरि पहिरो पिडितलाई सहयोग पठाएका हुन् । विभिन्न देशमा रहेका अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका शाखाहरु साउदी, मलेसिया, दुवई, कतारको पहलमा उक्त सहयोग रकम प्राप्त भएको थियो ।

रोल्पा नगरपालिका ८ जंकोटको विभिन्न स्थानमा भदौ ३ र ४ गतेको पहिरोका कारण १२ घर तथा भवनहरु पूर्णरुपले क्षेती भएका थिए ।जसमध्य ७ वटा व्यक्तिहरुको घर र ५ वटा सामुदायिक घरहरुमा पूर्ण क्षेत्री पुर्याएको छ । अन्य २४ घरहरु उच्च जोखिम र ४३ घरहरु जोखिममा रहेको वडाध्यक्ष सनसिङ बुढाले पोष्टपाटीलाई जानकारी दिए ।

त्यसैगरी जंकोटको नम्ली, घरबासा, गैराखुटी, भाँगाचौर, दमाकुर, मरधारा, रिची लगायतका बस्तीहरु उच्च जोखिममा रहेका छन् । यी क्षेत्रहरुबाट बस्तिस्तान्तरण गरि एकीकृत बस्ति निर्माण गर्नुपर्ने राहात संकलन सहयोग समितिका सचिव कुम पुनले बताए ।

त्यस्तै अन्तरास्ट्रिय रोल्पाली सेवा समाजले माडी गाउँपालिका ५ भाबाङका पहिरो पिडितलाई पनि राहात स्वरूप नगत रकम हस्तान्तरण गरेको छ ।

भाबाङका पिडित १४ घरपरिवारलाई ७० हजार नगत सहयोग गरेको हो। उक्त रकम वडाध्यक्ष भरत बुढा मगर र राहात संकलन सहयोग समितिका संयोजक सबिना घर्ति मगर लगायत अन्य पार्टी प्रतिनिधिको रोबरमा पिडितहरुलाई हस्तान्तरण भएको थियो ।

भावाङमा पनि राहात संकलन सहयोग समिति निर्माणगरि वडाहरुका जनप्रतिनिधि सहित सहयोग अभियानमा जुटेको संयोजक सबिना घर्तीले बताईन । देश तथा विदेशबाट सहयोग उठिरहेको संयोजक घर्तीले जानकारी दिईन ।

राहात वितरणकालागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापा, संस्थाका प्रेस सल्लाहाकार तथा पोष्टपाटी मिडियाका प्रबन्ध निर्देशक केबी गुरुङ, संस्थाका सचिव वकिल बहादुर पुन मगरको  सहभागी रहेको थियो ।

२०७७ भाद्र २५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको