गोंगबु घटना : शवको पहिचान हुन नसकेपछि प्रहरीद्वारा तस्वीर सार्वजनिक


साउन २६, काठमाडौं । काठमाडौंको गोंगबु गणेशथाननजिकै आइतबार बिहान सुटकेशमा फेला परेको शवको अझै पहिचान हुन सकेको छैन | मृतकको सनाखत हुन नसकेपछि प्रहरीले तस्वीर सार्वजिनक गरेको छ । अनुसन्धानमा सहयोग पुग्ने अपेक्षासहित प्रहरीले तस्बिर सार्वजनिक गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गरी अनुसन्धानमा सहयोग गर्न  समेत सबैसँग अपिल गरेको छ ।

आइतबार विभत्स हत्या गरि सुटकेसभित्र फालिएको अवस्थामा मंगोलियन मुलको जस्तो देखिने अन्दाजी ४०–४५ वर्ष उमेरका पुरुषको शव फेला परेको थियो | सुटकेसमा टाउको र खुट्टा बिनाको शव थियो भने त्यसको करिब ३ सय मिटरको हाराहारीमा एउटा जेब्रा झोलाभित्र टाउको र खुट्टा बेतिएको थियो ।

प्रहरीका अनुसार सुटकेसमा हालिएको भाग घाँटीभन्दा तल र घुँडाभन्दा माथि मात्र थियो । त्यसलाई प्लास्टिकमा बेरेर सुटकेसमा राखेर फ्याँकिएको थियो । पहिले सुटकेस फेला पारेको प्रहरीले पछि तालिम प्राप्त कुकुरको सहारामा करिब तीन सय मिटर परको दूरीमा अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो ।

प्रहरीले शव भेटिएको एक किलोमिटरको दुरीमा रहेका करिब १ हजार घरमा प्रहरीले सर्च अपरेशन चलाएको छ । वरपरका सिसिटिभी फुटेजबाट पनि हत्या गरेको स्थान र हत्यामा संलग्नहरुको क्लू प्रहरीले फेला पार्न सकेको छैन ।

घटनाबारे अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा ५ वटा टोली परिचालन गरिएको छ । कार्कीको नेतृत्वमा महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट हत्यारा खोज्न ५ टोलीलाई परिचालन गरिएको हो ।

प्रहरीले आइतबार नै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको थियो ।

यो पनि

गोंगबुमा सुटकेसभित्र पुरुषको शव फेला, टाउको २ सय मिटर पर भेटियो !

गोंगबु घटना : शवको पहिचान भएन, अपराधी खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

२०७७ श्रावण २६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको