होली खेलेर नुहाउन बाथरूम छिरेका पदम बाहिर निस्कन सकेनन्


फागुन २७, काठमाडौं । दिनभर साथीभाइसँग होलीमा रमाएर घर फर्केका थिए, पदम भण्डारी। होलीको रङ पखाल्न उनी सोमबार अपरान्ह डडेल्धुरा बजारस्थित घर पुगे। नुहाउन बाथरूम छिरे। तर लामो समयसम्म बाहिर निस्केनन्।

परिवारका सदस्यले बाथरूम खोलेर हेर्दा उनलाई वेहोस अवस्थामा फेला पारे। नजिकैको डडेल्धुरा अस्पतालमा उपचारका लागि पुर्‍याइयो। तर चिकित्सकहरूले पदको मृत्यु भइसकेको घोषणा गरिदिए।

२७ वर्षीय भण्डारी सानैदेखि सामाजिक काममा सक्रिय थिए। उनी डडेल्धुरा बहुमुखी क्याम्पसका छात्र हुन्। समाजसेवासँगै भण्डारी राजनीतिमा पनि सक्रिय रहेका थिए। नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ डडेल्धुराको कार्यवाहक सभापति थिए उनी।

आफूहरूसँग दिनभर होलीमा रमाइलो गरेका भण्डारीको केहीबेरपछि मृत्युको अपत्यारिलो खबर सुनेपछि उनका साथीहरू मर्माहत भए।

उनका साथी प्रतीक भण्डारीले फेसबुकमा लेखेका छन्, ‘एकछिन अगाडि त रातो कलर लगाएर सँगै होली खेल्दै थियौं नि दाइ, हजुरले त सदाको लागि रातो नै लगाएर जानुभयो।’

अर्का साथी विवश गिरीले पदम खेलाडीसमेत रहेको उल्लेख गरेका छन्। ‘क्रिकेटले जुराएको साथ आजसम्म मात्रै रहेछ साथी। यो मन मेरो कति दुखेको छ, असल साथी गुमाउँदा। तर के गर्नु यो यथार्थ हामी सबैले स्वीकार नै गर्नुपर्छ। एउटा कुरा- जबजब क्रिकेटको कुरा हुन्छ सधैं तिम्रो याद आउनेछ।’

विएन ऐरले पदमसँग भएका भलाकुसारी सम्झदै भनेका छन्, ‘धेरैपछि भेट भयो हिजो। संगै बसेर चिया पिउँदै गफगाफ भयो। होली पनि खेलियो। अब त जन्ती जानु पर्छ है भन्दै थिएँ मैले, दुर्भाग्यवश आज मलामी जाने बनायौ।’

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले नुहाउन बाथरूम छिरेका पदमको मृत्युको कारण खुल्न नसकेको बताए।

ग्यास गिजर चलाएर नुहाउन बाथरूम छिरेका पदम लामो समयसम्म बाहिर ननिस्केपछि परिवारले उद्धार गरी अस्पताल पुर्‍याएको उनको भनाइ छ। झ्याल नभएको बाथरूम वा झ्याल बन्द गरेर गिजर चलाउँदा अक्सिजनको मात्रा कम भएपछि निस्सासिएर मृत्यु हुने गरेको छ।

‘बाथरूमा बेहोस अवस्थामा फेला पारेपछि परिवारका सदस्यले डडेल्धुरा अस्पताल लैजानुभएको रहेछ। उहाँलाई बचाउन सकिएन,’ उनले सेतोपाटीसँग भने, ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन। के कारणले मृत्यु भयो भन्ने खुल्न बाँकी छ।’

शव परिवारलाई जिम्मा लगाइएको उनले बताए। पदमको शवलाई डडेल्धुरास्थित कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। यो खबर हामिले सेतोपाटीबाट लिएका हौ ।

२०७६ फाल्गुन २७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको