सभामुखबारे झनै उल्झन: ओलीले अडान नछोडेपछि बेग्लै मोर्चाबन्दी


पुस २५, काठमाडौँ । नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्ववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरूको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ ।

यो खबर बिनु सुवेदीले कान्तिपुरमा लेखेकी छन । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् । समय घर्किंदै जाँदा सभामुखको विषयलाई नेकपाका अध्यक्षहरूले नै प्रतिष्ठाको विषय बनाउन थालेपछि यसले समग्र राजनीतिमा असर पार्ने देखिएको छ ।

त्यसको पछिल्लो संस्करण हो– नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधबार साँझ भएको छलफल । ‘सभामुख पार्टी एकताको समीकरणमा असर नपर्ने गरी छान्नुपर्छ भन्ने विषयमा एकमत छौं,’ छलफलमा सहभागी एक नेताले भने, ‘त्यसो हुँदा प्रधानमन्त्रीजीले आफ्नो अडान छाड्नुपर्छ ।’ बैठकमा गौतमबाहेक अरू नेताले सभामुख पूर्वमाओवादी पक्षबाटै हुनुपर्ने दाहालको कुरामा समर्थन जनाएका थिए । ‘मैले पूर्वमाओवादीबाटै हुनुपर्छ भनेको छु तर ओलीजीले सुन्दै सुन्नुहुन्न । यसले त पार्टी एकतामै असर पार्ने भयो नि,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

पुरानै सहमतिअनुसार सभामुख पूर्वमाओवादीलाई दिने विषयमा ओलीलाई मनाउने जिम्मा अर्का अध्यक्ष दाहाललाई नै दिएको ती नेताले बताए । ‘पहिले दुई अध्यक्षले छलफल गरेर सहमति निकालून्,’ उनले भने, ‘भएन भने सचिवालयमा औपचारिक रूपमा प्रस्ताव आउनुपर्छ । हामी निर्णय गर्छौं ।’

ती नेताका अनुसार यसअघि पटकपटक सभामुख भइसकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन प्रधानमन्त्रीले किन अडान लिइरहेका छन् भन्नेबारे पनि कुराकानी भएको थियो । ‘प्रधानमन्त्री बारम्बार नेम्वाङलाई कसरी व्यवस्थापन गरौं भनिरहनुहुन्छ, उहाँ जिम्मेवार ठाउँमा हुनुहुन्छ,’ दाहालले बैठकमा भनेका थिए, ‘ओलीजीले नेम्वाङका विषयमा किन यति धेरै अडान राख्नुभएको छ, मैले बुझ्न सकिरहेको छैन ।’ तर ओलीनिकट स्रोतका अनुसार केही समयअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले नेम्वाङलाई भावी सभामुखका रूपमा तयारी अवस्थामा बस्न भनेका थिए । ‘दाहाल किन एकाएक परिवर्तन हुनुभएको हो, हामीले पनि बुझ्न सकेका छैनौं,’ स्रोतले भन्यो ।

सुरुमा दाहाल नेम्वाङलाई सभामुख बनाउन सहमत भए पनि पछि पूर्वमाओवादीकै नेताहरूले पूर्वएमालेमा समाहित भएको सन्देश जाने गरी नझुक्न दबाब दिएपछि उनको मनस्थिति फेरिएको एक थरीको बुझाइ छ । गत सोमबार प्रधानमन्त्री ओलीसँग भएको भेटमा दाहालले ‘सभामुखबारे तपाईंको त्यति धेरै अडान छ भने पार्टीको कार्यकारी हुनुस् म प्रधानमन्त्री हुन्छु’ सम्म भनेका थिए । उनले यसबारे पनि बुधबारको उक्त भेलामा ब्रिफिङ गरेका थिए । सभामुखको उम्मेदवार तयार नहुँदा प्रधानमन्त्री ओलीले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा रोकेका छन् ।

‘एमसीसीमा प्रधानमन्त्रीको अहंकार देखियो’

उक्त भेलामा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौताका विषयमा पनि छलफल भएको थियो । ‘एमसीसीबारे प्रधानमन्त्री र केही मन्त्रीको अहंकारपूर्ण अभिव्यक्ति आयो । कम्तीमा छलफल त गर्न पाउनुपर्‍यो नि,’ भेलामा सहभागी एक नेताले भने, ‘पार्टीमा उठेका कुरा राम्रोसँग सम्बोधन नगरी एमसीसी सम्झौता पारित गराएर छाड्छौं भन्नु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण अभिव्यक्ति नभएकाले स्पष्ट धारणा आउनुपर्छ भन्ने सन्देश दिन पनि हामी जुटेका हौं ।’

सुरुवाती भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल, नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । भेलाको अन्त्यतिर एमसीसीबारे छलफल हुँदा स्थायी समिति सदस्य भीम रावललाई पनि बोलाइएको थियो । रावलले आफू उक्त बैठकमा सहभागी नभएको दाबी गरे पनि स्रोतले उनी छलफलको अन्त्यतिर गौतम निवास भैंसेपाटी पुगेको उल्लेख गर्‍यो ।

प्रधानमन्त्रीनिकट एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली स्वयं अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिमा सहमत छैनन् । ‘एमसीसीको सहयोग अमेरिकाको सैन्य रणनीतिअन्तर्गतको हो भनेर अमेरिकाले भन्यो भने हाम्रा लागि ५५ अर्ब कुनै ठूलो कुरा होइन, सम्झौता रद्द हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘हामी इन्डो–प्यासिफिक रणनीति आउनुभन्दा अघि नै सम्झौता गरिएको एमसीसीलाई मात्रै चिन्छौं ।’ स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव संसद्मा पेस गर्दा सँगै एमसीसी इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतको नभएको र नेपाल कुनै पनि सैन्य रणनीतिअन्तर्गत रहन नसक्ने गरी संकल्प प्रस्ताव ल्याउन सकिने विकल्प तयार पारेका छन् ।

गौतमले दाहाललाई भने– धोका दिनुभयो

स्रोतका अनुसार झन्डै २ घण्टा भएको उक्त छलफलमा सबैभन्दा धेरै वामदेव गौतम नै बोलेका थिए । उनले दाहाल आफैंले संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने गरी राष्ट्रिय सभामा लैजान प्रस्ताव गरेर पछि धोका दिएको बताए । ‘तपाईंले नै मलाई राष्ट्रिय सभामा जानुस्, राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सकिने गरी संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउँछु भन्नुभएको थियो,’ गौतमले भनेका थिए, ‘पूर्वसहमतिबाट पछि हट्नुभयो । म प्रधानमन्त्री बन्न सक्ने ढोका बन्द गरिदिनुभयो ।’

एक साताअघि बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाउँदा गौतमलाई पनि उमेदवार बन्न प्रस्ताव गरिएको थियो । तर गौतमले संविधान संशोधनको ग्यारेन्टी हुने भए मात्रै आफू उम्मेदवार बन्ने बताएका थिए । अध्यक्षद्वयले सर्तसहित उम्मेदवार बनाउन नसकिने बताएपछि गौतमले इन्कार गरेका थिए । त्यही दिनदेखि गौतम आफूसँग रिसाएको आकलन गरेका दाहाल उनलाई फकाउनकै लागि पनि बुधबार गौतम निवास पुगेका हुन् ।

त्यहाँ उनले राष्ट्रपतिबाट मनोनयन भएर राष्ट्रिय सभा सदस्य बन्न सकिने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्न सक्ने बाटो अझै रहेको भन्दै त्यसमा सहमत हुन प्रस्ताव गरेका थिए । दाहालको प्रस्तावमा वरिष्ठ नेता नेपालको पनि समर्थन रहेको स्रोतको दाबी छ । तर वरिष्ठ नेता खनाल र प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभा र प्रतिनिधिसभालाई विभेद नगर्ने कुरा जायज भए पनि एक जना व्यक्तिलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्न नहुने धारणा राखेका थिए ।

‘दाहाल अध्यक्ष कि गुटका प्रमुख ?’

गत स्थायी समिति बैठकमा गुट/उपगुट झाँगिएर पार्टी संस्थागत हुन नसकेको भन्दै दाहालले गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनले आफ्नो लिखित प्रतिवेदनमै भनेका थिए, ‘नेताहरू पार्टीभन्दा पनि गुटप्रति बफादार भएजस्तो देखियो, यो अन्त्य गर्नुपर्छ ।’ आफैंले पेस गरेको प्रतिवेदन र गुटबारे सामना गरेका सवाललाई चुनौती दिने गरी दाहाल गुटका भेला र छलफलमा सहभागी हुन थालेका छन् ।

यसले पार्टीको कार्यकारी अध्यक्ष भइकन पनि नेतैपिच्छे छलफल चलाउन थालेको भन्दै उनको आलोचना हुन थालेको छ । ‘उहाँ त सिंगो पार्टीको जिम्मेवारीमा रहनुभएको कार्यकारी अध्यक्ष हो, यसरी नेताका घरघर गएर स्वार्थ समूहको छलफल चलाउन मिल्छ ?’ एक स्थायी समिति सदस्यले भने, ‘कार्यकारी अध्यक्षबाट अनुशासनको उल्लंघन भयो ।’

वरिष्ठ नेता झलनाथ खनालले उक्त भेला कुनै मिसनमा रूपमा नभएको बताए । ‘कुनै खास एजेन्डा, पार्टी पद्धतिबारे सामान्य छलफल भएको हो,’ खनालले कान्तिपुरसँग भने, ‘वामदेवजीले फोन गरेर बोलाउनुभयो, गइयो ।’ खनाल र नेपाललाई गौतमले नै बोलाएका थिए भने श्रेष्ठ अध्यक्ष दाहालले बोलाएर गौतमको घर पुगेका थिए । दाहाल आफैंचाहिँ गौतम यसअघिको बैठकमा रिसाएका कारण सम्झाउने अवसर ठानेर गएका थिए । गौतमलाई उनले ‘पहिले राष्ट्रिय सभामा जाँदै गर्नुहोस्, त्यसपछि त्यहीँबाट संविधान संशोधनको माहोल बनेको अवस्थामा तपार्इंको चासो पनि सम्बोधन गरौंला’ भनेका थिए । प्रधानमन्त्री बन्नका लागि मात्र भनेर संविधान संशोधन गर्दा राम्रो सन्देश नजाने भएकाले अन्य विषयमा संशोधन हुँदा त्यो विषय पनि पार्न सकिने दाहालको भनाइ थियो ।

पार्टीमा स–साना असमझदारी हुनेबित्तिकै नेताहरूको झुन्ड बसेर छलफल गर्ने र रणनीति बनाउने अभ्यास पूर्वमाओवादीमा व्यापक थियो । प्रधानमन्त्री ओलीविरुद्ध यसअघि पनि यी नेताहरूले धोबीघाटमा छुट्टै भेला गरेका थिए ।

२५ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको