असोज २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपालिको दसैंमा बुढापाकाबाट टिका नलगाउन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुढापाकासँग टीका लगाउने क्रममा संक्रमण सर्ने र दुर्घटना निम्तिने जोखिम रहेको जनाए।
उनले यो दसैंमा बुढापाकाबाट अनलाइन माध्यमबाटै आशिर्वाद लिन समेत आग्रह गरेको छ। साथै, ठूलो भीडभाड गरेर टीका लगाउने वा खाने काम पनि नगर्न मन्त्रालयले आग्रह गरेको छ।
प्रवक्ता गौतमले यो दसैंमा धेरै भीडभाड गरेर किनमेल नगर्न भन्दै पुरानै लुगा लगाएर घरका सदस्यबीच मात्र दसैं मनाउनुपर्नेमा जोड दिए।
सरकारले दसैंमा उपत्यकाबाट बाहिरिने व्यक्तिबाट परिवार, छरछिमेक र गाउँमै संक्रमण फैलिने जोखिम रहेको बताउँदै आएको छ।
उपत्यका अहिले संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले यो दसैंमा उपत्यकाबाट मानिसहरूलाई बाहिर नजान अपील गर्दै आएको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
काठमाडौं उपत्यकामा बिहीबार मात्र १ हजार १ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई ८५, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस