कोरोना पोजेटिभ व्यक्तिहरु बाहिर हिँडडुल गरेमा ६ महिनासम्म जेल सजाय हुने


असोज २३, काठमाडौं । सरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ ।

संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । अनलाइन वा फोनबाट नै यो वर्षको दशैं तिहारमा आशिर्वाद लिन उनले आग्रह गरे ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार मात्र १ हजार १ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्र दुई ८५, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो ।

२३ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको