असोज २३, काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत भरतराज पौड्याललाई सचिवमा नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो ।
नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्। यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए ।
स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत भएका थिए । निमित्त सचिव हुनुअघि सम्म उनी परराष्ट्र प्रवक्ता थिए ।
सन् १९९२ मा अधिकृत बनेका उनी दश वर्षपछि उनी परीक्षा पास गरेर परराष्ट्रको उपसचिव बनेका थिए । २०१० मा राहदानी विभागको महानिर्देशक भएका उनी २०१२ देखि २०१६ सम्म पाकिस्तानका लागि आवासीय राजदूत बनेका थिए ।
उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट डिप्लोम्याटिक स्टडिजमा पोस्ट ग्रयाजुयट डिग्री गरेका छन् भने हेगको इन्टरनेशनल इन्स्टिच्युट अफ सोसल स्टडिजबाट इन्टरनेशनल डेभलपमेन्टमा मास्टर्स गरेका छन् ।
प्रतिक्रिया दिनुहोस