नेपालका वनमा काठ कुहिने, विदेशबाट अर्बौँको आयात


पञ्चायती व्यवस्थाको उत्कर्ष २०३६ सालको आसपास माफिया र तस्करका लागि वन फडानी स्वर्णकाल मानिन्छ। वन व्यवस्थित गर्ने कुनै योजना बनेन। बहुदल कालमासमेत वैज्ञानिक वन व्यवस्थापनका लागि ठोस गुरुयोजना बन्न सकेन। मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि बल्ल

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गर्ने नीति तय भयो। वन संरक्षण प्राथमिकतामा पर्यो।आजसम्म पनि वन क्षेत्रले केबल दुईदेखि तीन प्रतिशत मात्र अर्थतन्त्रमा योगदान दिएको देखिन्छ। जसले भझै पनि वनको सदुपयोग हुन नसकेको देखाउँछ। सरकारकै अध्ययनले नेपालको उत्पादशील वन क्षेत्रबाट वार्षिक ३५ करोड घनफिट काठ उत्पादन सम्भावना औंल्याएको छ। वनबाट आर्थिक लाभ लिन सके बेरोजगारी र गरिबीको समस्या सम्बोधन गर्न ठूलो योगदान पुग्नेछ। बेरोजगारी र गरिबीको समाधान भए समृद्धि ढोका स्वतः उघ्रने छ। पछिल्ला वर्षमा वन नीति तथा कार्यक्रमहरुले वनको वैज्ञानिक व्यवस्थापनमार्फत उत्पादकत्व र उत्पादन बढाएर मुलुकलाई वन उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ। राज्यले यही नीति कार्यान्वयनका लागि साझेदारी वनबाट वैज्ञानिक व्यवस्थापन रणनीतिलाई अघि सारेको छ। वैज्ञानिक वन व्यवस्थापनमार्फत वनलाई पुनरुत्पादन गर्न कार्यक्रम लागू भएको छ। दिगो वन व्यवस्थापन लक्ष्य हो। वैज्ञानिक वन व्यवस्थापन यसलाई प्राप्त गर्ने रणनीतिसहितको एउटा साधन र प्रविधि।

यसरी हुन्छ वन व्यवस्थित
नेपालको कुल वनमध्ये तराईमा झण्डै ५० प्रतिशत र पहाडमा २५ प्रतिशत रुखहरु बूढो हुँदै धोद्रो पसेर वनको स्वरुप नै बिग्रन थालेको वन विज्ञहरु बताउछन्। वैज्ञानिक कार्यक्रम लागू भएका साझेदारी वनहरूमा यतिबेला धमाधम पुनरुत्पादन चलिरहेको छ। वन नविकरणीय श्रोत हो।रुखहरु बुढो हुन थालेपछि कार्बन संचिती पनि कम भई धोद्रो पस्न थाल्छ। वन विज्ञका अनुसार बुढा रुखहरु हटाउँदा नयाँ बिरुवाले राम्रोसँग बढ्ने मौका पाउने र कार्बन संचित पनि बढी हुन्छ। बूढा रूखले घामको प्रकाश रोकिदिन्छ। बूढो रूखमा काठ दाउरा पनि बढ्दैन। साना बिरुवालाई हुर्किन दिँदैन। वैज्ञानिक वनको सबैभन्दा राम्रो पक्ष काम नलाग्ने भएका रूखहरूलाई हटाउँदा नयाँ बिरुवा आउँछ। वन पुनरुत्पादनमा जान्छ। नयाँ बिरुवाहरूले कार्बन बढी सञ्चित गर्ने र अक्सिजन पनि बढी दिने भएकाले वातावरणलाई पनि सफा बनाउन मद्दत मिल्छ।

यसरी वनको स्थितिमा सुधार ल्याउन र उत्पादकत्व बढाउनका लागि वैज्ञानिक वन व्यवस्थापन पद्धति जरुरी हुन्छ। वन संवर्द्धन प्रणालीले वनको हैषियतको कल्पना गर्दछ। रुखविरुवा कहिले, कहाँ, कसरी रोप्ने अनुमान हुन्छ। पूर्व निर्धारित योजना अनुसार कसरी काट्ने र हुर्काउने तय गरिन्छ। जस अनुसार बूढो रूख विस्तारै झिकेर पुनरुत्पादनलाई बढावा दिने काम हुन्छ। पुनरुत्पादनका लागि बीउ तथा छहारी दिने आवश्यक माउ रुखहरु राखिन्छ। बाँकीलाई मूख्य प्रजातिको जीवनचक्र अनुसार त्यति नै प्लटमा विभाजन गरिन्छ। अनि हरेक वर्ष एउटा समान क्षेत्रफलमा पोल र लाथ्रा छाडेर कटान गरिन्छ।

वैज्ञानिक वन व्यवस्थापन प्रणालीमा सालको जीवनचक्र ८० वर्ष मानेर प्रत्येक वर्ष एउटा प्लटमा कटान गरिन्छ।विना विधि र योजना जवान रुखहरूलाई काटिँदैन। राम्रा जवान रूखहरूलाई माउ रूख बनाइन्छ। कुशल व्यवस्थापन भए साझेदारी वनको अवधारणा नेपालको सन्दर्भमा दुरगामी महत्वको हुने विश्वास गरिएको छ। वैज्ञानिक वन लागू भएका क्षेत्रमा काठ-दाउराको उत्पादन स्वाभाविक रूपमा वृद्धि भएको पाइएको छ। वनको स्थिति पनि सुधारिएको छ।पुनरुत्पानको अवस्था राम्रो भएको छ। वनको आयबाट सर्वसाधारणको आर्थिक अवस्थामा गुणात्मक सुधार आएको देखिएको छ।

२४ भाद्र २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको