ओली-प्रचण्ड छलफल सकियो, स्थायी कमिटी बैठकका एजेण्डा तय

फाइल तस्बिर

भदौ २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव २ घण्टा भएको छलफलमा शुक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । तर एजेण्डा के के तय भए भन्ने अझै खुलाइएको छैन ।

सापकोटाका अनुसार तय भएका एजेण्डा स्थायी कमिटी सदस्यहरूलाई पठाइनेछ । तिनै एजेण्डामा तयारी गरेर स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा बोलाइएको छ । नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल भएको छ।

नेकपामा मन्त्रिपरिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेका छन् । त्यसैले पनि विवाद उत्पन्न भएका हुन् ।

दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल भएपनि निचोड भने निस्किएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए ।

नेकपाका एकथरी नेताले कार्यदलले बुझाएको प्रतिवेदन अनुसार सम्पूर्ण समस्या हल हुने दाबी गर्दा माधवकुमार नेपाल पक्षधर नेताहरुले भने कार्यदलको प्रतिवेदन अस्पष्ट र अधूरो रहेको दाबी गर्दै आएका छन् ।

२०७७ भाद्र २४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको