गुम्यो सरिता गिरीको सांसद पद


असार २५, काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको हो । केही दिनअघि सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको संसद सचिवाललये विज्ञप्तिमा जनाएको छ ।

जनता समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीबाट निश्काशन गरिएको सूचनासहितको पत्र संसद सचिवालयलाई पठाएको थियो । राजनीतिक दलसम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिएकोले संविधान बमोजिम गिरीको पद रिक्त भएको संसद सचिवालयका महासचिव डा.भरत गौतमद्वारा जारी सूचनामा जनाइएको छ ।

नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन्। उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्।

त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्।

गिरीले उक्त पार्टीको सिफारिसमा समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गरिरहेकी थिइन् ।

२५ असार २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको