जनयुद्ध सम्झिंदालाई


केशब पुन मगर

दश बर्ष जनयुद्धले देशमा जति उथलपुथल बनायो त्यो भन्दा सयौं गुणा मानिसमा जनचेतनाको हक पैदा गर्दियो । युद्ध भएपछी या युद्धमा मार्नु या मरिनु दुबै जायजका कुरा हुन नै । त्याग , तपस्या , बलिदानिको रगतबाट अहिलेको राज्य सत्तामा मज्जाले सिंहदरबार भित्र खिचडी पाकिरहेको पनि तपाईं हामी जो कोहिले सजिलै अनुमान गर्न सक्छौ । जब सर्वहाराको लागि भनेर देशमा जनयुद्ध सुरु गरियो त्यो बेला स्यानै थिए । काका कमरेड , जेठान कमरेड , मामा कमरेडहरुबाट जनयुद्धको बारेमा बुझ्ने मौका पाए र जनयुद्धको एजेन्डाहरुलाई अध्यन गर्ने समय पाए तब जनयुद्धमा लागेका राता सिपाहीहरु प्रती छाती चौडा भएर आउथ्यो । अझै पनि ब्यक्तिगत हिसाबले ती राता मान्छेहरुलाई मैले “रातै” देख्छु । समयको अन्तराल संगै कोहि कालो , कोही सेतो , कोही पहेलो , हरियो भए होलान त्यो आफ्नो ठाउँमा छदैछ तर समग्र जनयुद्ध लड्नेहरु अझै पनि मेरो नजरमा रातै मान्छे हुन । जनयुद्धलाई बुझेर या नबुझेर राता मान्छेहरुले नेपालमा आमूल परिवर्तनको बिगुल फुकेको हामी बिर्सन सक्दैनौ । जनयुद्धको बेला युद्ध भुमरीमा परिरहदा या कतै युद्ध लड्ने तयारी गरीरहदा यी राता मान्छेहरुको मुटुमा के भैरहेको थियो होला ? म सोध्न चाहान्छु त्यो पल त्यो क्षण जनयुद्धको ब्याज खाएर महल ठड्याउनेहरुलाई । जनयुद्धलाई केटाकेटीको गुलेली खेल भनेर संज्ञा दिनेहरुलाई । जनयुद्ध प्रती पुर्वग्राही तर्क राख्नेहरुलाई । के साँच्चिकै कतै युद्धको चपेटामा परेका थियौ ?

युद्ध बिनास संगै बिकाशको पाटो पनि हो भनेर बुझ्दा बुझ्दै पनि हरेक नकारात्मक कृयाहरुलाई जनयुद्ध संग किन जोड्ने ? जनयुद्ध के रहरले सहेका थिए रोल्पाली जनताले ? के खान नपाएर कमरेड प्रचण्डले जनयुद्धको मोड्यालिटी तयार पारेका थिए ? बाबुराम संग के कमि थियो र जनयुद्धमा लागेका थिए ? युद्ध चाहेर हुने हैन समय र परिस्थिति अनुरुप हुने हो भन्ने कुरा हामिले बुझ्ने कि नबुझ्ने ? जनयुद्ध सुरु हुनुमा तत्कालीन राजा अनि तत्कालीन नेकपा एमाले , कांग्रेस , राप्रपा जस्ता राजनीति दलले जिम्मेवारी लिउनु पर्छ कि पर्दैन ? देशमा चरम एकतन्त्रीयवाद हाबी भैरहदा बहुवादको लाइनमा बस्नु के अपराध थियो ? सोझा सिधा जनताको निम्ति बोल्नु के अन्याय थियो ? यदी थियो भने र हामीले एकतन्त्रीयवादलाई मान्ने हो भने मानव सभ्यतामा त्यो भन्दा ठूलो भुल अरु केही हुनै सक्दैन ।

“मै लाउ मै खाउ मै बाँचौं” को सिधाान्तले हेर्ने हो भने हामी एकलप्रथाको दासी भएकै राम्रो । हामी अरुको हली भएकै राम्रो । हामी अरुको ज्यामी भएकै राम्रो । तर जनयुद्धले त्यो सिकाएन । जनयुद्धको मर्म त्यो थिएन । कहि कतै अपवादमा एकदुइ घटना ब्यक्तिगत दुश्मनीमा भए पनि समग्र जनयुद्ध सर्बहारा बर्गको लागि थियो । ती भोका पेटहरुको लागि थियो । ती नाङ्गा शरिरहरुका लागि थियो । ती पिछडिएका जनताका लागि थियो । हेपिएका चेपिएका बस्तिका लागि थियो । दबिएका आवाजको लागि जनयुद्ध थियो । हामी यसलाई स्वीकार गर्नै पर्छ । संसदीय ब्यबस्थाकै बिरोध गरेर जनयुद्ध लडिएको भए पनि बाह्रबुँदे शान्ती सम्झौताबाट त्यही ब्यबस्थालाई अंगिकार गर्नु नै जनयुद्धको अपमान थियो । त्यही ब्यबस्थाको बिरोध गर्नु अनि त्यही ब्यबस्थालाई अंगाल्नु जनयुद्धको मर्म थिएन । तर भयो त्यही ।
जनयुद्ध लडेर आएका कमान्डरहरु त्यही संसदीय ब्यबस्थालाई अंगाल्नु नै पुर्ण जनयुद्धको बिफल बन्यो । संसदीय ब्यबस्थामा आइसके पछि पार्टी जनयुद्धको मर्म बुझेर नचलेको जगजाहेर नै छ ।

बर्षौ देखि एकतन्त्रीयवादमा अल्झेका एकतन्त्रीयवादीहरुले चल्न दिने कुरा पनि भएन । उसो त युद्ध र जनता संग सरकारले नसक्ने भएपछी शान्ति सम्झौताको नाममा तत्कालीन बिद्रोही पार्टिलाई “लाइन” लिउन त्यो खेल रचिएको हो भनेर पनि अहिले चोइटिएका पुर्व माओवादी भित्र भन्न थालिएको छ । पुर्व माओवादी भित्रै केही स्वार्थी ब्यक्तिले ब्यक्तिगत फाइदाको लागि काम गरेको उदाहरण जनयुद्ध कालमा पनि देखिएको थियो र सिंगो पार्टीले संसदीय ब्यबस्था अंगिकार गर्दा पनि देखिएकै हो । मतलब सिंगो जनयुद्धलाई गलत हो भनेर भन्न सकिँदैन । जनयुद्धले थुप्रैको जिन्दगी फेर्दिएको छ । राजनीतिज्ञ बनाएको छ । बिश्लेषक बनाएको छ । मुख्य कुरा त स्वतन्त्र बनाएको छ । मान्छेलाई जिउनको लागि मुख्य कुरा उसको स्वतन्त्रता हो , त्यही स्वतन्त्रता नेपाली जनतालाई जनयुद्धले दिएको छ यसमाध्यममा जनयुद्धको खुलेरै प्रशंसा गरिन्छ । खुलेरै समर्थन गरिन्छ अनि खुलेरै सम्मान पनि गरिन्छ । कतिपय राता मान्छेहरु अहिले पनि छररा संग बाँचिरहेका छन । युद्धमा जो नहुनु पर्थ्यो त्यो भैसकेपछि बाँकी जिवनयापनको लागि जीवन सजग बनाउन राज्यले ती घाइते , ती अपांगहरुको उचित मुल्यांकन गरि अझै थप राहात सहित क्षतिपूर्ती दिइनु पर्थ्यो । तर तिनै घाइतेहरुको बलिदानमा आएको लोकतान्त्रिक गणतन्त्र नेपालमा छोटेराजा बनेर जो कोहीले पनि अतिवाद लाड्न खोज्छ भने त्यो मान्य हुदैन ।

पहिलो संविधानसभाको चुनावमा माओवादीको बहुमत आएपछि एमाले काङ्ग्रेसभित्र हलचल मच्चियो ! त्यो हलचल किन मच्चियो भने माओवादीको बहुमत आयो अब यसले जनयुद्धका एजेन्डाहरु संविधानमा लेख्छ हामी धराप पर्छौं भन्ने पिर उनीहरुमा थियोे ! त्यही कारण एमाले काङ्ग्रेसले अनेक बहाना बनाएर पहिलो संविधानसभाबाट संविधान लेख्न असहयोग गरेर संविधानसभा नै विघटन गराउन सफल भएका थिए ! जनयुद्धका सबै एजेन्डा लागू नहुनुको मुख्य कारक एमाले काङ्ग्रेस नै हुन् ! अहिले देशमा भ्रष्टाचार हुनुको मुख्य कारण संसदीय वयवस्था हो ! जनयुद्धले नेपाली जनतालाई जति सुबिधा दिनु पर्ने थियो त्यो नदिएको दुइमत छैन । जनयुद्धको बेला संसदीय ब्यबस्थाको बिरोध गरि शान्ती सम्झौता पछि त्यही ब्यब्स्थामा लिप्त हुदा कतिपय जनयुद्धको मुद्दाहरु ओझेलमा पर्नु स्वभाबिकै थियो । त्यसैको फाइदा एकतन्त्रीय जडसुत्रहरुले भरिपूर्ण रुपले लिए । हालको नेपाली राजनीतिको धरातलको जग पनि त्यसकै उपज हो भन्दा फरक नपर्ला ।

केही दिन अगाडि एउटा टेलिभिजन कार्यक्रममा नेकपाका समानुपातिक संसद नबिना लामाले जनयुद्धको कमान्डर सुप्रीमो “प्रचण्ड” लाई प्रचण्डको हैसियत के हो भनेर प्रश्न गरिन । इतिहास नहेरेर ब्यक्तिवादी भएर राजनीतिमा लागेको चिरितार्थ नबिनाले छरपस्ट नै पारीन । इतिहास नहेर्ने नबिनालाई के थाहा प्रचण्डको हैसियत ? नबिना अहिले जुन पोजिसनमा छिन त्यही पोजिसन दिलाउन प्रचण्डले के गर्‍यो भन्ने कुरा माओवादी प्रती पुर्वाग्रह नगर्ने जो कोहीलाइ पनि राम्रै संग थाहै छ । तर जसले राजनीतिक पुर्वाग्रह गरि प्रचण्ड सिध्याउने प्रपन्ज रचे तिनलाई भने नबिनाको भनाई मसालेदार नै बन्यो । माओवादी अर्थात जनयुद्धकै मुद्दा हो समानुपातिक समाबेशीता । त्यही मुद्दाको जगमा संसद बनेकी नबिनालाई हैसियत सोध्ने हैसियत बनाइदिने नै जनयुद्ध थियो अर्थात प्रचण्ड थियो भन्ने कुरा यिनले कहिले बुझ्ने हुन ? हुन त जनयुद्धका थुप्र जनपक्षीय मुद्दाहरु पार्टीको थियो त्यसमा ब्यक्तिलाई लगेर जोडियो भने जनयुद्धको अपमान होला तर ती मुद्दाहरुको जरा नै प्रचण्ड थिए ।

यहाँनेर एउटा प्रंसग जोड्न मन लाग्यो । सुर्खेतमा मेरो एउटा साथी छ । बिक थरको । उ र म पहिले कोहलपुरको बागेश्वरी क्याम्पसमा संगै पढेका थियौं । घर कता हो बिर्से , अहिले सोध्न पनि आबस्यक्ता मान्दिन । म रोल्पाली भन्ने कुरा क्याम्पसमा थाहा पाएर नै उसले म प्रती पुर्वाग्रह गर्दै गयो । तर म चुप । क्याम्पसको क्यान्टिनमा चिया पिउदा होस या बाहिर कतै जादा उसले माओवादीलाई गाली नगरेको समय नै हुदैन्थ्यो । म आजित हुन्थे उसको कुरा सुनेर । तर कहिल्यै जवाफ फर्काउदैन्थे । उ अहिले सुर्खेतको एउटा सरकारी कार्यालयमा जागिरे छ । जागिरे भएको पनि उसको दिमागले , उसको बुद्धिले या उसको पहुचले भ्याएर हैन “दलित आरक्षण कोटाबाट” । उसलाई थाहा छैन होला सायद दलित आरक्षण कोटा नै माओवादीको मुद्दा थियो भनेर । साथिले बानी अझै छोडेको रहेन्छ । सामाजिक संजाल तिर कहिलेकाही माओवादी प्रति पुवग्राही शब्दहरु छताछुल्लै बनाउछ । उसैको एजेन्डामा टेकेर , उसैको एजेन्डाले जागिर खुवाएर उहीँ पार्टी या ब्यक्ती प्रती पुर्वाग्रह गर्नु कति सम्मको बुद्धिमता हो ? त्यो म जान्दैन तर जसको एजेन्डाले जागिरे बनायो , जस्को त्यागले यो हैसियत सम्म पुर्‍यायो यो नजान्नु , यो नसुन्नु , यो नबुझ्नु भनेको मुर्खपनाको उपज बाहेक मलाई केही लाग्दैन ।

देश अहिले संघीयतामा छ । संघियता जनयुद्धकै एजेन्डा थियो । धर्म निरपेक्ष , बहुजाती , बहु भाषिक , महिला कोटा , जनजाति कोटा , अपांग कोटा , दलित आरक्षण , मधेसी मुस्लिम तथा पिछडिएका बर्गको कोटा यो सब जनयुद्धकालिन माओवादीकै एजेन्डा हुन । यो भन्दा पहिले राज्यले यसरी कोटा छुट्याएर अल्पसंख्यक जनतालाई सरकारी सेवाबृतीमा समाबेश गरेको उदाहरण मैले पढेको छैन । जानेको छैन । अहिले थुप्रै चैतेमासेहरुले यहि एजेन्डामा टेकेर हाकिम भए , जागिरे भए , घरको आर्थिक अबस्था केही हद सम्म भए पनि सुधार गरे तर यिनिहरुलाई यो एजेन्डा कसका थिए ? भनेर सोध्ने हो भने प्रायः लाई थाहै छैन । यसरी कसको एजेन्डा के हो र के थियो भनेर बुझेर बिरोध या समर्थन गर्ने हो भने कोहीपनी ब्यक्ती माओबादी प्रती पुर्वाग्रही हुनै सक्दैन ।

करिब एक साल पहिले सामाजिक संजालमा मेरो आदरणीय गुरु तथा जेठान Chakra magar ले “जसको एजेन्डामा टेकेर जागिर खायो उसैलाई दुश्मन सम्झिनु त भए नि” भनेर लेख्नु भएको थियो । अकात्य र तार्किक कुराले मन छोयो र अहिले मैले वहाँकै शब्द सापती लिएर केही व्याख्या गरेको हुँ । चित्त बुझेन भने गाली गर्ने तपाईंको स्वतन्त्र र स्वतन्त्रता माओवादी जनयुद्धले नै स्थापित गराइदिएको छ । तपाईंको सर्भवान अधिकार तपाईं भित्र भएको कारण यहाँनेर तपाईंले आफ्नो स्वतन्त्रतालाई उपयोग गर्न पाउनु हुनेछ ।

जनयुद्धले थुप्रै मुद्दाहरु आत्मसात गरे पनि जनयुद्ध बाटै अपेहेलित बर्गलाइ अहिलेका शाशकहरुले नचिन्नु दुर्भाग्यपूर्ण बिषय हो । एउटा मधेसी बस्तिका मान्छे पुर्व राष्ट्रपति बन्नु , एउटा तामाङको छोरा मन्त्री बन्नु , एउटा मगरको छोरा उपराष्टपति बन्नु , एउटी नारी राष्ट्रपति बन्नु यो सबै जनयुद्धकै देन हो । यो सबै जनयुद्धकै जगबाट निस्केका आवाजहरु हुन । ब्यक्तिहरु हुन । तसर्थ कसको हैसियत के भनेर सोध्नु पुर्व कसको हैसियत कति थियो भनेर जान्दा राम्रो हुनेथियो । म जनयुद्धमा पुर्णरुपले भुमिगत भएको थिएन तर जनयुद्धलाई आगनिमै खेलाएको छु । संगै हुर्काएको छु , बढाएको छु । बुझेको छु । जसरी एउटा सुत्केरी महिलाको कथा अर्को सुत्केरी महिलाले बुझ्छन हो ठिक त्यसरी नै मैले जनयुद्धका राता सिपाहीहरुको पिडालाई बुझेको छु ।

अब पनि राज्यबस्था जनता प्रती उत्तरदायी भएन र आम नागरिकहरुले समान्ताको अनुभूति गर्न पाउदैन्न भने अहिलेको राज्यसत्ताको विकल्प फेरि जनयुद्ध -२ नहोला भन्न सकिँदैन ।

२७ बैशाख २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको