बर्तमान दुनियाँमा कुनै खतरनाक आतंककारी छ भने नाङ्गो आँखाले त के, साधारण माइक्रोस्कोपले पनि देख्न नसकिने त्यो कोरोना भाइरस बाहेक अरु हुनै सक्दैन । शक्ति राष्ट्रहरुलाई यो आतंककारी कोरोना माथी मिसाइल बर्षाउन कसले रोकेको छ ? कि मिसाइलहरुमा खिया प-यो ? कि मान्छे मार्दा तिम्रा खजनाहरु सकिएको हो ?
ओसामाबिन लादेनले पेन्टागनमा आक्रमण गर्दा कति मान्छे मरे ? जम्माजम्मी २९९६ जना । त्यो भन्दा बढी कोभिडले मारिरहेको छ । चाइनामा तबाह मच्चाएर गयो । युरोपमा स्थिती झनै भयावह छ । यति हुँदाहुँदै पनि शक्ति राष्ट्रहरुले आतंककारी बिरुद्ध मिसाइल प्रयोग नगर्नुको कारण के ? कि मिसाइलबाट कोरोनाको हत्या गर्न सकिदैन ?
यदि तिम्रा मिसाइलहरुले आतंककारी कोरोनालाई मार्न सक्दैन भने यी मिसाइलहरु मान्छे मार्नकै लागि बनाएका हौ ? के तिम्रा क्षेप्यास्त्रहरु मान्छेको रगत पिउनको लागि बनाएका हौ ? तिमिहरु भन्छौ, यहि हतियारबाट दुनियाँको रक्षा गरिरहेका छौँ । हतियारले पृथ्वीमा मान्छेको रक्षा गर्छ भन्ने तिमिहरुको तर्क सुन्दा कहिलेकाही तिमिहरुलाई मेरो माझी औंला देखाइदिन मन लाग्छ ।
फाँसीबादको नाममा जापानमा लिटिल र फ्याट ब्वाईहरु खसाल्यौ र लाखौं जापानीजहरुलाई एक चिहान बनायौ । आइएस, अल्काइदा, तालिवान ओसामाबिन लादेनलाई आतंककारी घोषणा ग-यौ । तोराबोरा पहाड जलायौ । आतंककारीको नाममा हजारौं नागरिकलाई ड्रोन र मिसाइलको चारो बनायौ । अहिले तिमिहरुको मिसाइलको जुधाईले सिरिया जलिरहेको छ ।
यदि तिमिहरुका नाकाम हतियार र खरखजनाको एक बर्षको फजुल खर्च रोक्ने हो भने विश्वभरीका मान्छेहरुलाई स्वच्छ पानी पिलाउन सकिन्छ । २०औं हजार स्कुलहरु निर्माण गर्न सकिन्छ । भोकमरी शुन्यमा झार्न सकिन्छ । हरेक बर्ष १०औं हजार नयाँ अस्पतालहरु थप्न सकिन्छ । तर तिमिहरुलाई यो सबै हिसाब गर्न आउँदैन ।
गर्बका साथ भन्छौ, बिश्वको आत्मा हाम्रो हातमा भएको एउटा स्विचमा अडिएको छ । त्यो स्विच डब्यो कि हाम्रो आत्मा क्षणभरमै रोकिन्छ । कसलाई सिध्याउनको लागि स्विच हातमा लिएको हो ? कसलाई मार्नको लागि त्यो स्विच बनाइएको हो ? सिर्फ मान्छे मार्नको लागि होइन ?
कोरोनाले त केही हजार मान्छे मारेको छ । केही लाख मान्छेलाई बिरामी बनाएको छ । तर तिम्रो हातको स्विचले केही मिनेटमै पृथ्वी ध्वस्त बनाउने हैसियत राख्दछ । साढे सात अर्ब मान्छे क्षणभरमै खरानी बनाइदिन्छ । मान्छे त मान्छे नै भयो, पृथ्वीमा अस्तित्वमा रहेका सम्पुर्ण प्राणीको जिवन समाप्त पारिदिनेछ । यहि हिसावले गणना ग-यो भने यो पृथ्वीको सबैभन्दा ठुला आतंककारी तिमिहरु हौ ।
तिमिहरुले मान्छेहरुको टाउकोमा युद्ध थोपरेर उनिहरुलाई स्वातन्त्र रुपले सोच्न दिएनौ । प्राकृतिक प्रकोप, महामारीको बारेमा सोच्ने फुर्सद दिएनौ । सधैं युद्धमै अल्झायौ, फसायौ । त्यसको बदलामा तिमिहरुले बिज्ञानलाई दुरुपयोग ग-यौ ।
नयाँ नयाँ बैज्ञानिक अनुसन्धानहरुलाई केवल मान्छेलाई खतम बनाउने उपकरण बनाउनमा प्रयोग ग-यौ । जसले गर्दा आज त्यो सूक्ष्म भाइरसको अगाडी बुद्धिमान मान्छेले हार खान परिरहेको छ ।
अब समीक्षा गर्न जरुरी छ, मानब जातीलाई तिमिहरुको महा आतंककारी मिसाइलको कुनै जरुरत छैन । अब हामी बिज्ञानलाई सदुपयोग गर्न चाहन्छौं । अब मान्छेलाई खतम बनाउने मिसाइल होइन, कोरोनाको भ्याक्सिन बनाउन जरुरी परेको छ । जसले तिम्रो मिसाइलले मार्न नसक्ने कोरोना नामको आतंककारीलाई सजिलै मारिदिनेछ । खोल तिम्रा चिम्से र कुइरे आँखाहरु । दुनियाँमालाई एकपटक मानवीय भावनाले हेर । बिश्वलाई चाहिएको मिसाइल कि भ्याक्सिन ?
प्रतिक्रिया दिनुहोस