कक्षा कोठामा छाता ओढेर पढ्न बस्दा युगले उब्जाएका प्रश्नहरु


पुस २४, रोल्पा । केहि दिन यता मौसम चिसो बनेको छ । हिमाली तथा पहाडी उच्च भागमा हिमपात भैरहेको छ । कतै पानी परेको छ । पानी पर्दा रोल्पाको एक बिद्यालयमा भने कोठा भित्रै बिद्यार्थीहरु छाता ओढेर बसिरहेको दृश्य भाइरल भएको छ । त्यो दृश्य रहर होइन, ब्याध्यता हो।

रोल्पाको रुन्टीगढी गाउँपालिका १ जेदवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रिठाबोटको दृश्यले यति बेला सबैको ध्यान खिचेको छ।

उसो त यो बर्षादको याम पनि होइन । हिउ बिसाउन झरेको चिसोले एक झम्को झरी बर्साउदा चुहिएको पानी छल्न कोठा भित्रै छाताहरु खुल्न बिबस भए । जब छाताहरु खुले युगले प्रश्न तेर्स्यायो, ‘के यो बिज्ञान प्रबिधि बोकेको २१ औं सताब्दीको साक्षर युग हो ?

यसरि हेर्दा युगले २१ औं सताब्दीको प्रबिधि युक्त गुणस्तरीय शिक्षा खोजिरहेको छ तर रोल्पाको त्यो बिद्यालयले आकासको झरी रोक्ने छानो खोजिरहेको छ । जहाँ प्रयोगशालाका लागि चाहिने उपकरणहरुको ब्यबस्थापन त निकै टाढाको कुरा हो ।

‘कक्षाभित्र यो रहर कि बाध्यता स्थानीय जनप्रतिनिधि ज्यू ? विकास योजना माग गर्दा किन बेवास्ता गरिन्छ ? करोडौं रकममध्ये किन राखिदैन शिक्षामा बजेट ? राखिन्छ त किन आइपुग्दैन सम्बन्धित ठाउँमा ? एक रहस्यमय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका झलक अरु ठाउँ पनि यस्तै होलान।’ यी भावयुक्त प्रश्नहरु त्यसै बिद्यालयका प्रधानाध्यापक झक्कु वलीले आफ्नो फेसबुकमा पोखेका हुन् । जुन प्रश्नहरुले २१ औं सताब्दीको प्रबिधि युक्त साक्षर युगको खोजि गरिरहेका छन् ।

पटकपटक स्थानीय सरकारसँग जस्तापाता माग गरेको तर सहयोग नपाएको उनको भनाइले परिपुरक साक्षर युगको खोजि गरिरहेको छ । पुरानो जिर्ण भएको बिद्यालयको छाना चुहिएर पानी भित्र पसेपछि बिद्यार्थीहरु छाता ओढेर पढिरहेको यस्तो दृश्यले नया भवन मात्रै खोजिरहेको छ, तर खासमा यतिबेला प्रबिधि युक्त पाठ्यक्रम र आधुनिक प्रविधियुक्त कक्षा कोठा खोज्नु पर्ने बेला हो । जहाँ इ-पाठ्यक्रमहरु प्रोजेक्ट तथा इलेक्ट्रोनिक बल्याक बोर्डको सहायताले आधुनिक प्रविधिद्वारा अध्यन भैरहेको हुनुपर्थ्यो । भारिभर्कन कापी कितावहरु झोलामा सकी नसकी बोकेर स्कुल धाउनु पर्ने पुरानो प्रणाली भत्काएर, सानो पेन ड्राइभमा इ-पाठहरु पकेटमा बोकेर स्कुल जानु पर्ने सिस्टम लागु भैसकेको हुनुपर्थ्यो।

तर बिडम्बना यहाँ अझै घामपानी छल्ने भवनको छानो खोज्नु पर्ने उस्तै पुरानो युग भत्काउन बाह्र बज्ने भयो ।

केहि दशक यता रोल्पामा राष्ट्रिय नेताहरुको भिड लागेको छ । उनीहरु हरेक पटक सत्तामा सहभागी छन् तर त्यहाँका बालबालिकाहरुको यस्तो हबिगतले राजनीति र राजनीतिककर्ताको नियति माथि गम्भीर प्रश्न उब्जाएको छ ।

एकातिर राज्यद्वारा आजका बालबालिकाहरुकालागि युग सुहाउदो प्रबिधियुक्त शिक्षाको ब्यबस्थापनको ढ्वाङ फुकिरहेको छ । आर्को तिर रोल्पाको बिकट बिद्यालयमा पठनपाठनका लागि बिज्ञानशाला उपकरणको कुरा छोडौ आकाशको पानी छेक्ने भवनको गतिलो छानो समेत छैन । यो नै युगले उब्जाएको गम्भीर प्रश्न हो ।

२४ पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको