संकटलाई अवसरमा बदलेपछि…


असोज २२, काठमाडौँ । एक दिन राधा सापकोटाले दिदीबहिनीलाई सुनाइन्, ‘अब मास्क बनाउनुपर्छ ।’ सबै अलमलमा परे । त्यसअगाडि कसैले मास्क बुनेका थिएनन्, त्यसमाथि जीउ ढाक्ने पहिरन सिलाइरहेकाहरूलाई मुखमा मात्र लगाउने ‘नाथे’ मास्क सिलाएर कति नै आम्दानी हुन्छ जस्तो लागेछ ।

तर, राधाले नेपालमात्र होइन, विदेशमा पनि मास्कको अचाक्ली आवश्यकता छ भन्ने बुझिसकेकी थिइन् । तैपनि सुरुमा उनले दिदीबहिनीलाई बेच्नका लागि नभई आफू र आफन्तका लागि मास्क बनाउन प्रोत्साहन गरिन् । त्यसका लागि घरकै कपडा प्रयोग गरियो, आफूले बनाएको मास्क लगाउँदा दिदीबहिनी फुरुङ्ग, आफन्तले बजारमा पाइने मास्कभन्दा लगाउँदा सजिलो भएको प्रतिक्रिया दिएपछि झन् दंग ।

राधा सुनाउँछिन्, ‘त्यसपछि हामीले व्यावसायिक रूपमै र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप मास्क बनाउने निधो गर्‍यौं । सबै मिलेर गर्नुपर्छ भन्ने भावना विकास भएपछि एउटा समूह नै खोल्यौं ।’ समूहको नाम राखियो, हातेमालो महिला समूह । वडा कार्यालयमा समूहको औपचारिक दर्ता गरे । जसमा ३० देखि ४० वर्षका दलित, जनजाति, विपन्न र एकल महिला जोडिएका छन् । राधाचाहिँ समूहकी अध्यक्ष ।

कुर्ता–सुरुवाल र ब्लाउजलगायत महिलाका पहिरन बुनेर जीविकोपार्जन गरिरहेकी थिइन् काठमाडौं मनमैजुकी कमला परियार ।

कोठा भाडा तिर्ने, नुनतेल किन्नेदेखि बच्चाको पढाइ खर्चसमेत सिलाइबुनाइबाटै धानिरहेकी थिइन् । तर, गत चैतमा कोरोना भाइरसका कारण लकडाउन भएपछि आम्दानी ठप्प भयो । दिनमा पाँच वटा कुर्ता सिलाउँथिन् । लकडाउनपछि पाँच दिनमा एउटा अर्डर पनि आउन छाड्यो ।

सुरु–सुरुमा पछि बेच्नुपर्छ भन्दै सिलाइरहिन् तर बजार खुल्ने अनिश्चितता हट्दै हटेन । त्यसपछि सिलाउने जाँगर पनि मर्‍यो । एकातिर घरव्यवहार चलाउनै मुस्किल, अर्कातिर दिन काट्नै धौधौ । ‘काम नगरे पनि खानु परिहाल्यो, घरबहाल तिर्नैपर्‍यो । खर्च घटेको थिएन तर कमाइ बन्द भयो । भाइरसको भन्दा आफू र परिवार कसरी टिक्ने चिन्ता भयो,’ निधार खुम्च्याउँदै कमलाले दुःख पोखिन् ।

उनकी छिमेकी पार्वती परियारले पनि उस्तै तनाव झेलिरहेकी थिइन् । पार्वतीको पनि सिलाइबुनाइबाटै चार जनाको परिवार बाँचिरहेको थियो । पति पनि धेरथोर कमाउँथे, लकडाउनपछि रोकियो । यता, पार्वतीलाई कपडा सिलाउन लगाउने पनि कोही भएनन् । लकडाउन लम्बेको–लम्बै, उनीहरूको छटपटी बढेको–बढ्यै । ‘टेलरिङबाट आम्दानी मात्र हुँदैनथ्यो, दिन बिताउन सजिलो हुन्थ्यो, आफूले सिलाएको कपडा अरूले लगाउँदा मन खुसी हुन्थ्यो तर एक्कासि सबै रोकिँदा उकुसमुकुस भयो,’ पार्वतीले बह पोखिन् ।

आफ्नै बुटिक चलाइरहेकी फेसन डिजाइनर राधा सापकोटाको पीडा पनि सारमा उस्तै थियो । न्युरोडमा उनको इगल–आइज फेसन हाउस नामक बुटिक थियो, जो लकडाउनपछि बन्द भयो । थोर–थोरै भए पनि अनलाइनबाट अर्डर आइरहेको थियो । तर, कोरोना त्रास बढेसँगै उनको डिजाइनमा कपडा बुनिदिने मास्टर र कालिगडहरू आफ्नो घर भारत गए । नयाँ पहिरन बनाउन सकिनन् । बुटिकको भाडा तिर्ने अवसर गुमेन मात्र, अर्डर पुर्‍याउन नसक्दा नियमित ग्राहक भड्केलान् भन्ने सुर्ता पनि भयो ।

यही संकटका बेला राधालाई कमला र पार्वतीहरूको याद आयो । हल्काफुल्का चिनापर्ची पनि थियो तर मिलेर काम भने गरेका थिएनन् । उनले कमलासँग सम्पर्क गरिन्, उनीहरू पनि कामविहीन भएको थाहा पाएपछि राधामा झन् हुटहुटी पलायो । ‘दिदीहरूले वर्षौंदेखि सिलाइबुनाइ गरिरहेको थाहा थियो तर भनेजस्तो डिजाइनमा पहिरन बनाउन सक्नुहुन्न कि भन्ने लाग्थ्यो,’ राधाले मुस्कुराउँदै सुनाइन्, ‘तर, उहाँहरूको फिनिसिङले म आफैं लोभिएँ ।’

त्यसपछि सुरु भयो, राधाले अर्डर लिने, डिजाइन दिने अनि कमलाहरूले सिलाउने क्रम । लकडाउनको तीन महिनापछि बल्ल आर्जनको ढोका खुल्यो । ‘टेलरिङ गर्न नपाउँदा त छटपटी पो हुँदोरहेछ लकडाउनमा बल्ल थाहा भयो,’ झन्डै दुई दशकदेखि सिलाइबुनाइमा दत्तचित्त रहेकी कमलाले भनिन् । त्यतिबेला लकडाउन केही खुकुलो भएकाले पनि कुर्ता–सुरुवालको माग बढेको थियो । तर, असाध्यै कम चहलपहल हुने भएकाले पहिले जसरी लुगा बिकिरहेको थियो ।

त्यतिबेला राधासँग अरू १० जना टेलरिङ काम गर्ने दिदीबहिनीहरू जोडिसकेका थिए । ‘उहाँहरूको लगाव र उत्साह देखेर काम रोक्नु हुन्न भन्ने लाग्थ्यो तर सोही अनुपातमा कपडाको माग थिएन,’ नेपाल आइडललगायतका विभिन्न रियालिटी शोका लागि पहिरन डिजाइन गरिसकेकी राधाले भनिन्, ‘समय अनुकूल के गर्न सकिन्छ त भन्दा दिमागमा मास्क आयो ।’

अहिले यो समूहका सदस्यले पूर्ण रूपमा मास्क मात्र बनाइरहेका छन् । खुसीको कुरा के भने उनीहरूको मास्क नेपालमा मात्र होइन, विदेशमा समेत पुगिसकेको छ । ‘हामीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मार्फत तीन–चार पटक न्युयोर्कमा ‘स्याम्पलिङ’ पठायौं, त्यहाँबाट पास भएपछि यूएनडीपीले नै हाम्रो मास्क लिइरहेको छ,’ राधाले भनिन्, ‘त्यसबाहेक अनलाइन अर्डरअनुसार बेल्जियम, अमेरिका, अस्ट्रेलियालगायतका देशहरूमा पनि मास्क निर्यात गरिरहेका छौं ।’

लगाउँदा सहज, देख्दा आकर्षक र स्वास्थ्य मापदण्ड पूरा गरेकाले हातेमालोको मास्कको माग बढिरहेको उनको भनाइ छ ।

फिल्टरबाहेक मास्कमा नेपालमै उत्पादन भएका घरबुना कपडा प्रयोग गरिरहेको समूहकी सदस्य बिना गोतमे (दर्जी) ले जानकारी दिइन् । अन्य सर्जिकल मास्कमा झैं तीन वटा लेयर हुन्छ, बीचमा फिल्टर । भक्तपुरको लुबु, नुवाकोट र तेह्रथुममा घरमै तान लगाएर बुनेको ढाका र कटन प्रयोग गरिने बिनाले बताइन् । भन्छिन्, ‘ढाका अलि बाक्लो भएकाले लिनेन कटन पनि मिलाएर बनाउँछौं । नरम हुने भएकाले कटनको मास्कको पनि धेरै अर्डर आउँछ ।’

फिल्टर, इलास्टिक र आवश्यक कपडा राधाले उपलब्ध गराउँछिन् । पहिले कटिङ पनि आफैं गरेर दिन्थिन् तर अहिले सिलाउनेले नै कटिङ गर्न सक्ने भएका छन् । कतिले घरका अन्य सदस्यको सहयोग लिन्छन् । ‘केही दिन अगाडिसम्म एकै ठाउँमा भेला भएर बनाउँथ्यौं तर संक्रमण बढेपछि मेसिन घरमा लगेर छुट्टाछुट्टै बनाइरहेका छौं । मास्क उत्पादनदेखि कार्गोसम्मको काम समूहकै सदस्यहरूले गर्छौं,’ राधाले भनिन् ।

हातेमालोले दुई खालको मास्क बनाइरहेको छ । एउटाको बजार भाउ झन्डै दुई सय छ भने अर्कोको ४० रुपैयाँ । तेह्रथुममा बनेको ढाका अनि एकदमै रेशमी धागो प्रयोग गरिएको कटनको एक मिटरको झन्डै १८ सय पर्ने र मास्क पनि १८ वटा मात्र बन्ने भएकाले महँगो हुने अनि साढे दुई सय रुपैयाँ मिटर पर्ने ढाकाबाट बनाइएको मास्क सस्तो हुने राधाले बताइन् ।

‘कपडाको गुणस्तरअनुसार मूल्य निर्धारण गर्छौं,’ उनको भनाइ छ, ‘भेगनहरूले रेशमी कीराबाट बनेको मास्क लगाउनु हुँदोरहेनछ, उहाँहरूलाई कपासबाट बनेको कपडाको मास्क उपलब्ध गराइरहेका छौं ।’ प्रतिमास्क तयार पारेको ज्यालाचाहिँ औसत २० रुपैयाँ छ । घरधन्दा भ्याएरै दिनमा एक जनाले दुई सय पचास पिस बनाउन सक्ने बिनाले जानकारी दिइन् ।

राधालाई के लाग्छ भने कोरोना भाइरसको अन्त्यपछि पनि मास्कको माग भइरहन्छ । धूलो, धूवाँबाट बच्न पनि मास्क लगाउनै पर्छ । अन्य सरुवा रोगबाट पनि यसले जोगाउँछ । त्यसैले संकटले सिकाएको मास्क व्यवसायलाई निरन्तरता दिने धुनमा छ समूह । थप नयाँ डिजाइन र उच्चस्तरको मास्क बनाउन लागिपरेका छन् । त्यसबाहेक दौरा, कुर्ता, ब्लाउज, साडीहरू पनि सिलाउने छन् नै तर उनीहरूको योजना यत्तिमै सीमित छैन । चाडपर्व, पूजाआजा, बिहेलगायत अन्य कार्यमा सघाउने मान्छे उपलब्ध गराउने, घर पुगेर ब्युटिसियन सेवा दिने, सरसफाइ गरिदिनेलगायतका काम सुरु गर्दैछन् । कान्तिपुर दैनिकमा गोकर्ण गौतमले खबर लेखेका छन् ।

२०७७ आश्विन २२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको