‘शिविरमा मनाएको मार्च ८’


मातृसत्तात्मक व्यवस्था र पितृसत्तात्मक व्धयवस्थाको चर्चा विद्यालयका पुस्तकमा पढिएको हो । मुख्यगरी इतिहासमा समाज व्यवस्था पढ्दा कहीं कतै ती व्यवस्थाबारे सुनिए पनि त्यसले हाम्रो सामाजिक व्यवहारमा फरक पारेन । राजनीतिक रुपमा त त्यो विकट समय नै थियो, त्यो विकटताको हामी साक्षी हौं ।

महिला हक, महिला अधिकार, समान अधिकार, लैंगिक अधिकार, लैंगिक समानता, महिला शसक्तीकरण, नारी मुक्ति, योग्यता र प्रतिभाका आधारमा महिलालाई स्थान र अवसर आदिइत्यादि आदर्श, सिद्धान्त र पदावलीहरु परिवर्तनकारी यात्राको बाटोमा होमिने बेलासम्म गम्भीर विषय हो भन्ने नै लागेन ।

महिला दिवस किन मनाइन्छन् ? महिला दिवसको औचित्य के हो ? महिला अधिकारको सवाल कहाँबाट कहाँसम्म जोडिएको छ ? महिला मुक्ति सम्भव छ ? हामी सबैखाले दासताबाट मुक्त त हुन्छौं ? यस्ता सवालहरु जनयुद्धको मोर्चामा सामेल नहुँदासम्म मेरा लागि गौण विषय नै थिए । त्यसैले अन्तर्राष्ट्रिय महिला दिवसलाई सामाजिक राजनीतिक कार्यक्रमको रुपमा मैले कहिले मनाएँ भनेर सम्झँदा त्यो ९१ औं अन्तर्राष्ट्रिय महिला दिवसबाट औपचारिक हुने रहेछ ।

बीस वर्षअगाडि नेपालको सामाजिक राजनीतिक अवस्था कस्तो थियो ? देश स्पष्ट दुईवटा सत्तामा विभाजित थियो । दुबै सत्ता शस्त्र र अस्त्रको होडमा थिए । बन्दूकको नालबाट सत्ता जन्माउने आदर्श एकातिर थियो, बन्दुककै बलमा बिद्रोहको नामोनिशान मेटाइन्छ भन्ने अर्कोतिर । लाल र श्वेतबीचको विभाजन विस्फोटक हुनुअघि म निधारमा मुक्ति वा मृत्युको कफन बाँधेर सबैखाले मुक्तिको मोर्चामा होमिएको थिएँ । गाउँगाउँबाट आधार इलाका निर्माणको दिशामा अघि बढ्ने नारा लगाइरहँदा त्यही सिलसिलामा ९१ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई युद्धको मैदानबाट मनाइयो । मैले बुझेरै मनाएको त्यो पहिलो महिला दिवस हो । कम्मरमा ग्रिनेड र काँधमा बन्दूक बोकेको छापामारको हैसियतमा मनाएको महिला दिवस । त्यतिबेलादेखि मलाई ८ मार्च खास लाग्न थालेको हो ।

पछिल्लो दुई दशक महिला मुक्तिको यात्रामा, महिला अधिकारको यात्रामा, समानताको लडाईमा सुनिने गरी परिवर्तन भएका छन्, देखिने गरी परिवर्तन भएका छन् । तर त्यो परिवर्तनको मौलिकता क्रान्तिको यात्रामा छँदा बुनेका सपनाभन्दा धेरै मानेमा कुरुप कुरुप लाग्छ, विरुप विरुप लाग्छ । मुक्ति, अधिकार, समानता र स्वतन्त्रता मुठ्ठीभरका समूहहरुको भागबण्डामा सीमित हुँदा हामीले देखेका सपना त्यही भुईमै लडिरहेको…छटपटाइरहेको जस्तो लाग्ने रहेछ ।

मैले पनि धेरैपटक मेरा सहयोद्धाहरुलाई हौस्याउँदै भनेको थिएँ, यस्तो सपना देख जुन कहिल्यै सपना नहोस् । यस्तो लडाई लडौं जसका लागि हामी फेरि लड्न नपरोस् । महिला दिवस मनाउँदै गर्दा म कहिले काँहि कहिल्यै पूरा नभएका मुक्तिका सपनामा टहलिन्छु । लडाई लड्दालड्दा फेरि उठ्नै नसक्ने गरी लडेको लडाईमा घोत्लिन्छु । बिद्रोहको मुठ्ठीमा कैद महिला हक, अधिकार र समानता कसले कसरी खोसेर पुनः कब्जामा लियो भनेर घोत्लिन्छु ।

२० वर्षअघि अन्तर्रास्ट्रिय महिला दिवस मनाइरहँदा मनमा अनेक भावना सल्बलाएका थिए । के साँच्चै म पनि उत्पीडनमा परेका महिलालाई न्याय दिलाउन उनीहरुको नेतृत्व गर्न सक्छु ? मैले आफैंसँग यो प्रश्न गरेको थिएँ । संसारका उत्पीडित महिलाका लागि जसरि मार्च ८ निर्माण भयो त्यसलाई नेपालमा गति दिने जिम्मेवारी हाम्रो पनि हो भन्ने लाग्यो । सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रमा विद्यमान विभेदको, असमानताको, अन्यायको, हिंसाको पर्खाल नेपाली महिलाले ढाल्नेछन् र त्यसको नेतृत्व जनयुद्धकारी महिलाले नै गर्ने हैसियत राख्छन् भन्ने लाग्थ्यो ।

त्यो त्यतिबेलाको सपना अहिले केलाउँदा रुमानी नै ठहर सही तर, हामीले लडेको लडाईको सबैखाले मोर्चाले लिएको लक्ष्य त्यही हुन्थ्यो जस्तो लाग्थ्यो । हामी सगरमाथाको देश नेपालबाट यही सन्देश संसारमा दिन चाहन्छौ भनेर हामीले धेरैपटक त्यही भाषण गरेका हौं । मैले अग्रह योद्धाहरुबाट पनि त्यही सुनें । मैले सहयोद्धाहरुसँग पनि त्यही विचार र भावना आदानप्रदान गरें । हामीले मनाउने उत्सव वा विजय उत्पीडित महिलाका लागि पनि उत्सव बनोस् भन्ने पवित्र कामना हुन्थ्यो महिला दिवस मनाउँदै गर्दा ।

घरमा सेल्टर लिन आउँथे एकजना पाका मान्छे रामभक्त उप्रेती । माओवादी रातीराती हिंड्ने भुत, पिसाच वा राक्षस केही होइन भन्ने त्यहींबाट थाहा भएको हो । देशमा शासन व्यवस्था फेर्न हाम्रो जत्तिकै योगदान तिमीहरुको पनि हुन्छ भन्थे । पुरुषको जति योगदान छ त्यत्ति महिलाको पनि हुन्छ र चाहिन्छ भन्थे । थितिका कुरा गर्थे, बेथितिका कुरा गर्थे, उनीहरुले बोल्दा आफ्नो हातको पञ्जा मुड्की बन्नु पनि प्रभाव रहेछ । यस्ता महिला, उस्ता महिला भन्थे । त्यही नै सही र त्यही मात्र सही जस्तो लाग्ने बेला रहेछ त्यो । उनीहरुले बोल्दा आफूले दाह्रा किट्नु पनि प्रभाव रहेछ । अनि के चाहियो विस्तारै म पनि लौ त मुक्तिको संग्राममा भन्दै पूर्णकालीन यात्रामा लागें । सेल्टर लिन आउने बुढाबा उप्रेती क्रान्तिकारी पाठशालाका गुरु बनेर आए ।

पूर्णकालीन भएपछि कमरेडहरुले दिएको पुस्तकले नै अध्ययनको बाटो भेटिन्थ्यो । अहिले रसुवा जिल्लाको नेकपाका नेता रहेका तिनै इन्द्र गौतम ऊ जमानाका हाम्रा जगतजंग हुन् जसले मलाई लेनीनको परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति नामको पुस्तक दिएर पूर्णकालीन मोर्चामा अझ दृढताका साथ, प्रणका साथ लाग्न उकासेका थिए । रामभक्त उप्रेती बाका छोरी थिइन् गायत्री उप्रेती अर्थात् कमरेड नमूना । हामी महिला विश्व, महिला आन्दोलन, महिला मुक्ति, बर्गीय मुक्ति भन्दै लामालामा कुरा गथ्र्यौं । त्यतिबेला मनाइने अन्तर्राष्ट्रिय महिला दिवसमा शान्तिको लागि महिला शसक्तीकरणका नारा हुन्थ्यो ।

विरोधको लागि तयार महिला भन्ने नारा हुन्थ्यो । त्यसपछि अफगानी महिलाका विषयमा लैंगिक समानताका विषयमा, महिलाका लागि सुरक्षित भविश्य निर्माणको विषयमा रहेर महिला दिवस मनाइयो । कहिले नारा लगाइयो, कहिले नारा लगाउन लगाइयो । सँगै यी नारा लगाउने समवयी सहयोद्धा नमूनालाई २०५९ सालमा सेनाले थान्सिंगबाट नियन्त्रणमा लियो र सेराको फाँटामा सामूहिक बलत्कार गरी हत्या गर्यो । म अहिले पनि सोच्छु महिला मुक्तिको बिगुल फुक्ने नमूनाहरु आजको समाजका लागि नमूना हुनपर्ने हुन्, मानिन पर्ने हुन् ।

जनयुद्धका सबै पाटा संगत नहुन पनि सक्छन् । संगत पनि छैनन् । तर सबै पक्ष बिसंगत पनि छैन । नेपाली महिला बर्गलाई राजनीतिमा, विद्रोहमा, युद्धमा एकाकार गराउने त्यो युगीन मोर्चाको जिउँदो साक्षी हुन पाउँदा मैले धेरैपटक आफैंसँग गर्व गरेकी छु । राजनैतिक संगठनमा होस वा सैन्य संगठनमा जनयुद्धमा महिलाको उपस्थिति देखेर संसारले अहो भनेर जीब्रो टोकेकै हो । फेरि पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मलाई विद्रोहको त्यो शिराबाट महिला मुक्ति र आन्दोलनका पूर्वदृष्य सम्झना हुन्छ । यसलै यो विषय दिनमा म पनि हामीले कहाँनेर हामीले महिला अधिकार भेट्यौं र कहाँनेर हामी छुट्यौं भनेर सम्झने प्रयास गरिरहेको हुन्छु । समाजलाई बदल्न महिला संगठन र महिला मोर्चा भन्दै हिंडेका दिन र रातहरु सम्झन्छु ।

म याद गर्छु, समाजलाई जतिसक्दो चाँडो परिवर्तन गर्नु छ भने समाजका सबै महिला विद्रोहमा एकाकार हुनपर्छ भनेको कुरा । शसस्त्र भएर हिंडेको प्रारम्भिक दिनहरुमा जब भेदभावको महशुस भएन, जब अन्यायको अनुभव भएन, जब अवसर आफ्नो लागि बाटो कुरेर बसिरहेको हुन्थ्यो, जहाँ एउटा जिम्मेवारी पूरा गरेसँगै थप नयाँ जिम्मेवारीको भारी बोक्न सधैं आफूलाई तयार पाउँथे, जहाँ महिला र पुरुष दुबैले लडाईमा उत्तिकै दिलोज्यान लगाएर प्रयास गर्दथे, जहाँ जातको पर्खाल थिएन, सानो र ठूलोको पर्खाल थिएन… म सोच्थें यसैगरी त हो हामीले चाहेको मुक्तिको बिहान ल्याउने । त्यही यात्रा नै निर्विकल्प हो भन्ने थियो । यही बाटोले नै फासिवादी सामाजिक सत्ता पनि ढालिन्छ र पुरुषवादी सत्ताको चरित्र पनि फेर्न सकिन्छ भन्ने थियो । कसैले रोजा पढाए, कसैले क्ला जेट्किन पढाए, कसैले चिनियाँ क्रान्ति पढाए, कसैले रुसी क्रान्ति पढाए । जजसले पढाए विद्रोहमा तातिरहेको रगत उम्लने गरी पढाए । आजको दिनलाई चटक्क बिर्सेर हिजोका दिनमा यात्रा गर्दा पैदा हुने यो रोमाञ्चकता आफैंमा गौरवशाली लाग्छ ।

मलाई निजी खुसी प्यारो कि सार्वजनिक न्याय ? जनयुद्धका मोर्चाहरुमा कहिले सिपाही त कहिले कमाण्डर भएर हिंड्दा सार्वजनिक न्याय, महिला न्याय र महिला मुक्तिबारे आफैमा पनि कहिल्यै शंका गरिएन । आज उभिएको बिन्दूबाट हेर्दा त्यही बिन्दूमा पो गल्ती गरिएछ कि भन्ने पनि लाग्छ । पुरानो व्यवस्था र नयाँ व्यवस्थाबीचको परिवर्तनभित्र के के थिए भनेर आज फेरि खोज्छु …. हामीले हिजो के के पाएका थिएनौं र आज के के पायौं भनेर खोज्छु….हक र अधिकारबाहेक शिक्षा, स्वास्थ्य, रोजगारका विषयबारे त्यतिबेलाको आश्वासनका पहाडमा उभिएर गरिएको रक्तिम यात्रा पनि खोज्छु….सपनाहरु असरल्ल छरिएका छन् कहाँ के टिपौं कहाँ टिपौं भएर केही पनि टिप्न नसकेका कथाहरु बुनिरहेको हुन्छु । महासमरबाट अनुभवको फोस्रो पोको मात्र बोकेर फर्किएको छापामारको अनभुव त भनिरहेको छैन भनेर कहिलेकाँहि आफैंसँग प्रश्न गरिरहेको हुन्छु ।

बन्दुक बिसाइयो । बिसाइएको हतियार मान्दै आएको शत्रुलाई नै बुझाइयो । हतियार बुझाउँदा खेल भयो कि झेल भयो भनेर अरुले जस्तै मैले पनि प्रश्न गरिन । चारहजार माओवादी लडाकूको हुलमा मिसिएर शक्तिखोर छिरेपछि महिला दिवसकै सन्दर्भमा चितवन बसाइको एउटा उत्सव सम्झन्छु । हामीले शिविरमै धुमधामसँग ८ मार्च मनायौं । त्यो बेलाका तेस्रो डिभिजन कमान्डर थिए धनबहादुर मास्के उर्फ राजेश । कार्यक्रममा कमाण्डर मास्केले भनेका थिए ‘महिला कमरेडहरु ! तपाइहरु अर्को क्लारा जेट्किन हो । तपाइहरुको सहभागिताले जनयुद्धले यो उचाई प्राप्त गरेको छ तपाईहरुबिना यो सम्भव थिएन ।’ अहिले थाहा हुदै छ त्यो दुःखले प्राप्त गरेको उपलब्धि त आमजनता र दुःख गर्ने कार्यकर्ताका लागि होइन रहेछ सीमित धन बहादुर मास्केहरुलाइ रहेछ । ढुंगा, गिटी, वालुवा, काठ, रक्तचन्दन सबैमा घुलन भइसकेपछि मेरा कमाण्डरहरुले आर्जन गरेको विलासमा मैले बगिरहेको क्रान्तिको रगत देखें । कालिबहादुर खामले खाएका भनिएका हिसाबहरुलाई मास्केहरुले कसरी मनपरी निरन्तरता दिए भनेर सानातिना कमरेडहरुले बिद्रोह बोलन नसक्दाका दुर्भाग्यहरु अहिले छरपसट हुँदा कहिं न कहीं ग्लानी त हुने रहेछ ।

तर, महिला विद्रोहीको रुपमा, महिला छापामारको रुपमा, महिला कमाण्डरको रुपमा, जनयुद्धको महिला क्रान्तिकारी लडाकूको रुपमा के पाएँ वा के गुमाएँ त्यसमा किञ्चित दुःख छैन । तर त्यो कष्टकारी यात्राबाट देश र जनताले के के पाए भन्ने विषय दिमागमा सधैं प्राथमिकतामा रहने रहेछ । मैले आफूले लडेको लडाई र सम्हालेको मोर्चाबाट बेखुस् छैन, मेरो हैसियतबाट मेरो भूमिकाबाट मैले जति युद्धको जति किल्ला जोगाएँ त्यो स्थानीय महिला आन्दोलनको उपलब्धीपूर्ण सामाग्री हो भन्ने नै लाग्छ । यी दिवसहरु मनाइरँदा फेरि अर्को मोर्चाबाट महिला अधिकारका लागि बन्दूक नै बोकौं, हतियार नै उठाऔं भन्ने पुरानो फेन्टासी, बन्दूकसँगको त्यो पुरानो प्रेम पुनरावृत्त हुनेरहेछ ।

यी दिवसहरु मनाउँदै गर्दा म हिजोका हाम्रा नेतृत्वहरुलाई आजको तराजुमा राखेर हेर्ने प्रयास गर्छु । हिजोका सिद्धान्त आदर्श र आजको जीवनशैली ब्यवहारमा नमिलेको सन्तुलन हेर्छु । के गर्छु भनेर हिजो लडे लडाए र आज के गरे ? हिजो राज्यसत्ताबाहेक सबै भ्रम हो भन्ने नेताहरुले आज सत्तामा बसेर मनाइरहेको तामस खुशी नयाँ बर्गउत्थानको नयाँ उदाहरणभन्दा केही पनि होइन भन्ने मेरो ठहर हो । निसन्देह हो नै रहेछ, उनीहरुलाई राज्य र सत्ता नै सर्वथोक रहेछ ।

योद्धा र जनता आज किन असन्तुष्ट छन् ? पार्टी कमिटी र राजनीतिक नियुक्तिहरुमा नेताका छोराछोरी, आफन्त, आसेपासे, गुटमा रमाउने र आर्थिक सहयोग गर्नेले मात्रै अवसर पाइरहेका छन् । युद्धमा अभिभावक गुमाएका, घाइते र अपाङ्गका छोराछोरीलाई सानोभन्दा सानो अवसर पनि नदिने भएपछि हिजो शत्रु करार गरिएको सामन्तवाद, नोकरशाही वा दलाल पुँजीवादको अभ्यास स्वयं नेतृत्वले गर्ला वा त्यसकै संरक्षक बन्ला भनेर कसले सोचेको थियो र ?

यस्तो स्थितिमा अब फेरि तिनैलाई अगाडि लाएर अर्को महिला दिवस मनाउन जान म कसरी सक्छु ? फेरि म तिनै नेतृत्वको जय गाउन कहाँ सक्छु ? यसैले यो पाली म स्वाभिमानको झण्डामुनी स्वतन्त्रतापूर्व १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछु ।

२०७६ फाल्गुन २५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको