दाङका प्रतिष्ठित व्यापारीको अपहरण-हत्या गर्ने बाबुलाई २०, छोरीलाई १० वर्ष कैद


पुस २३, दाङ । दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये बाबु-छोरीसहित आठ जना कारागार चलान भएका छन् ।

जिल्ला अदालत सल्यानले अपहरण तथा हत्या काण्डमा संलग्नलाई ९ वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो । पक्राउ परेकामध्ये तीन जनालाई अदालतले सफाइ दिएको छ ।

घटना भएको साढे दुई वर्षपछि जिल्ला न्यायाधीश कुलप्रसाद केसीको इजलासले घटनाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका-६ स्याउलीबजारका ३९ वर्षीय टीकाराम घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा दश–दश वर्ष गरी २० वर्ष जेल सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार दीपक पोखरेलले जानकारी दिए ।

व्यापारी श्रेष्ठलाई अपहरण गर्न ‘हनी ट्रयाप’को रूपमा प्रयोग गरिएकी घर्तीकी छोरी १८ वर्षीया किशोरी पूजा घर्तीलाई अपहरण मुद्दामा दश वर्ष कैद सजाय तोकेको छ । पूजालाई ५० हजार जरिवानाको फैसला समेत सुनाइएको जिल्ला अदालतका स्रेस्तेदार पोखरेलले बताए।

बाबुछोरीबाहेक उक्त घटनामा संलग्नहरुमध्ये कमल भनिने अबिरल महरालाई ज्यान मुद्दामा पाँच वर्ष र अपहरण मुद्दामा थप ११ वर्ष सहित १६ वर्ष कारावासको सजाय तोकिएको छ। महरालाई ५० हजार जरिवाना पनि तोकिएको छ। रमेश भनिने मनबहादुर पुन, रुगत थापा, मानबहादुर भण्डारी र नारायण वलीलाई ज्यान मुद्दामा समान ५/५ वर्ष तथा अपहरण मुद्दामा थप १०/१० वर्ष गरी १५ वर्ष कारावासको सजायसँगै ५० हजार जरिवानाको फैसला भएको छ।

छोरी पूजालाई प्रयोग गरी घर्तीले व्यापारीलाई जंगलमा लगेर बन्धक बनाएको र मारेको अभियोग प्रहरीले लगाएको थियो। तत्कालीन दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहसहितको प्रहरीको अनुसन्धान टोलीले व्यापारी श्रेष्ठ अपहरण र हत्या काण्ड घटनामा मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये ११ जनामात्रै हालसम्म पक्राउ परेका छन् । बाँकी तीन जना फरार सूचीमा छन् ।

व्यवसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते तुलसीपुरबाट अपहरण गरी सल्यान पुर्‍याइएको थियो । अपहरणको तीन दिनपछि जेठ २९ गते नै श्रेष्ठको हत्या भए पनि शव भने २२ दिनपछि मात्रै फेला परेको थियो । शव सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ झिम्पेको ओढारमा फेला परेको हुँदा मुद्दा पनि जिल्ला अदालत सल्यानले हेरेको थियो ।

तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै दाङ घोराहीका अर्का युवा रणबहादुर घर्तीको पनि हत्या भएको थियो । तत्कालीन समयमा पोल खुल्ने त्रासले उनको हत्या गरिएको एसपी धिरजप्रताप सिंहले बताएका थिए ।

२३ पुष २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको