एक शिक्षकको प्रधानमन्त्रीलाई खुल्ला पत्र


प्रधानमन्त्री ज्यु

नमस्कार ,
म यो देशको एउटा नागरिक र पेशाले शिक्षक हुँ । यहाँलाई अवगत नै छ कि नेपालमा शिक्षकको सामाजिक र आर्थिक स्तर के हुन्छ भनेर? जीवनभरको कमाईले आफ्नो पारिवारिक गर्जो टार्न कति सजिलो या अप्ठ्यारो छ यसमा जरुरी नहोला। यो त नेपालका सबै कर्मचारीहरुकै हर्कत नै हो । तर पनि यो एउटा सम्मानित र निष्पक्ष पेशा भएकै कारणले केही लेख्न मन लागेर यथार्थतामा टेकेर केही लेख्दैछु । मलाई राजनीति प्रति धेरै चासो छैन र राजनीति बुझ्नु नि छैन, तर शिक्षकले राजनीति नबुझेर नि सुख छैन। हिजो कक्षा ८ मा अध्ययनरत मेरो छोरोले गरेको प्रश्नले म नजवाफ भएपछि मेरो देशको महामहिम प्रधानमन्त्रीलाई केही जिज्ञासा राख्न मन लाग्यो।

मेरो छोराले मलाई प्रश्न गर्यो कि – बाबा, राजनीति भनेको के हो ?

मैले जवाफ दिएँ- राजनीति एउटा संस्कार , संस्कृति , विधि र विधानलाई अबलम्बित गर्ने पद्धति हो। यो कुरा सुनेर उसले भन्यो – यो कसरी थाहा हुन्छ? प्रजातान्त्रिक प्रणालीको सर्बोत्तम कुरा जनसहभागिताको प्रत्यक्ष संलग्नता रहि आफ्नो मताधिकार प्रयोग गरि आफ्नो मतको माध्यमबाट मन परेको र विकासप्रेमी नेताको छनौट गर्नु नै प्रजातान्त्रिक पद्धतिको एउटा राम्रो उदाहरण हो। चुनाव जितेका प्रतिनिधिहरुले राज्य संचालनका केही नीति निर्माण गर्दछन् र त्यसकै आधारमा राज्य चल्दछ। हामी यसै प्रकृयाको अनुभुती गर्दछौं ।

यति सुनिसकेपछि उसले प्रश्न गर्यो कि- बाबा के हाम्रो देशमा नि प्रजातन्त्र छ र? छ नि बाबू भन्दै मैले जवाफ दिएँ र उसको प्रश्नको उदेश्य प्रति गम्भीर हुदै सोचें – जुन कुरा हामी नेपालीहरुले भाग्यशाली भएरै प्राप्त गरेकाछौं। हामीले छानेकाे नेताहरूले यो देशको विधि, विधान र संविधान जस्ता जनपक्षीय कार्यहरु निर्माण गरेको कुरा निसन्देह छ। तर,राष्ट्र हाक्ने नायकहरुले विधि र विधान मात्र दिएर हुदैन,एउटा असल संस्कारको सुरुवाती गर्नु जरुरी हुन्छ।चुनाव हारेकाहरु नि यो देशका सांसद, मन्त्री र प्रधानमन्त्री जस्ता उच्च तहसम्म पनि तानेर लाने प्रथा भै´रहनु र हामी जनताहरु लाचारी भएर जनमताधिकारको घमण्ड गर्नु, अर्थहिन प्रजातन्त्र हो। यस्ता पद्धति अराजक र विधान विपरीतका तानाशाही प्रणालीहरु हुन। तर पनि जवाफ बिहिन भएर सोच्न थालें- सत्ताधारीहरुले आफुहरुले गर्ने निर्णय जे सुकै नि जनहित र जनमुखी हुन भन्ने ठान्नु र राजनीति प्रणालीको विकास गर्नु कु-राजनैतिक र कु-संस्कारिक धरातल हो।

विश्व जगतका केही राजनैतिक व्यक्तितवहरुलाई हेर्ने हो भने केही दिन अगाडि जापानका प्रधानमन्त्री सिंन्जो आबेले जनमत हुदाहुदै अस्वस्थता देखाउदै उनकै कारण देश र जनतालाई असर परेको भन्दै जनताहरु संग माफि मागेर सत्ताबाट बाहिरिए। केही समय अगाडि २०१५ मा डेनमार्कमा २५ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित पुर्व प्रधानमन्त्री लार्स लोकि लस्मोशेनले सत्ता छोडेर एउटा ब्याग बोकि पैदल फर्किरहेको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो र त्यो वास्तविक तस्बिर पनि थियोे । कतिपय ठाउमा मन्त्रीहरु कार्यक्रम तथा एयरपोर्टहरुमा २ मिनेट मात्र ढिलो पुग्दा पनि क्षमा याचना गर्दै आफ्नो पदबाट राजिनामा दिएका उदाहरण सधैंजसो सुन्दा र पढ्दा यस्तो पनि हुन्छ र? भन्ने लाग्न थाल्यो । हाम्रो देशको राजनिती गर्ने प्रथा देखेर लाग्दछ कि के संसारका सबै देशको राजनैतिक प्रणाली यस्तै होला?

मनमनै आफैंमा प्रश्न तेर्साएर सोचें ।

प्रधानमन्त्री ज्यु, एउटा शिक्षक सामाजिक र आर्थिक हिसाबले कम्जोर पारिएको राज्यको सिपाहि हुन सक्ला, राज्य संचालकले थुपारेका कयौं भ्रमित कुरामा अन्योल हुन सक्ला तर समयानुकूल बुझेका कुरामा शिक्षक कहिले नि सत्य बोल्न हिच्किचाउदैन। तर म एकछिन सोच्न बाध्य भएँ। मैले बोलेका सहि भनेका कुरा मेरो छोराले या त कपोकल्पित र झुठ ठान्ने छ या त राज्य प्रणालीलाई उस्ले गलत ठान्ने छ। यदि आज मेरो छोराले मलाई एउटा आदर्श बाबू या शिक्षक गलत ठान्यो भने उ संसारका कुनै पनि ब्यक्तिलाइ सहि ठान्ने छैन। र मैले राज्यको संरचना र संचालकका गतिविधिहरु लाई जस्ताको तस्तै भनेर गलत सावित गरेंभने मेरो छोराले राष्ट्र र राज्य प्रणाली प्रति नै घृणा गर्न बाध्य हुनेछ। म के गरु? कसरी सम्झाउ कि मेरो छोरा जस्तै आउदो पु्स्ताले सहि प्रजातान्त्रिक पद्धति र सत्यता नै पाएनन् भने भोलिको समय के हुने हो भनेर?

सम्मानीय प्रधानमन्त्रीज्यु, के म यो सब भनिदिउ कि राज्य संचालकहरुले-अरुलाई दम्भ देखाउनु, झुठ बोलेर सत्तामा जानू, भए जति सम्पति कुम्ल्याएर आफ्नो सात पुस्ता सम्मलाई पुग्ने सम्पत्ति जोह गर्नु, दक्षताको नाममा आफ्ना आफन्तहरु भर्नु , समय समयमा अराजक गतिविधि गरिरहनु, पार्टी नै देश भन्दा माथि हुन्छ र हाम्रा कार्यकर्ताहरु मात्रै खुसी र सुखि हुनु भनेकै राजनीति हो र हामीलाई भोट नहाल्ने जति सबै तेस्रो मुलुकका नागरिक हुन भन्ने सोंचको विकास हुनु, जवाफदेहीता कुन चरीको नाम हो थाहा नहुनु, राजनीतिलाई सेवा भन्दा बढी पेशा ठान्नु र चुनावमा हरूवा जति मिलेर सत्ता चलाउनु नै हामी नेपालीहरुको राजनैतिक प्रणाली बन्यो भनेर।

अनि यो पनि भन्दिउ कि- जनताहरुमा कुनै दलले गरेका राम्रा कामहरुको पनि नकारात्मक टिप्पणी गर्ने, आफू संलग्न पार्टीले गरेका गलत कुराहरू वकिल बनी अन्धोभक्त भै सकारात्मक बहस गर्ने प्रवृत्तिले राजनैतिक कर्मीहरुलाई अझै गलत काम गर्ने हौसला मिल्दछ। भनिन्छ नि एउटा डाक्टर असक्षम भयो भने एक जना बिरामीको मृत्युु हुन्छ, एक शिक्षक असक्षम भयो भने हजारौं विद्यार्थीहरु वर्वाद् हुन्छन् भने एउटा राजनितीज्ञ असक्षम भयोभने देश नै दुर्घटना पर्दछ। म के उत्तर दिउँ?

प्रधानमन्त्रीज्यु,

हामी कहिले सम्म आफ्ना सन्ततिहरुलाई असत्यता, अराजकता, अन्योलता, अशान्ति, अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार , शोषण , कुरिति र कुसंस्कार जस्ता कुराहरू नै कु-राजनीति प्रणालीका उपज हुन भनेर सिकाउने ? हामीले कहिले सम्म आफ्ना बालबालिकालाई संसारमा नै यस्तै राजनीति संस्कार छ भनेर हाम्रो देशको असामाजिक राजनैतिक प्रथा संग अरु देशहरुलाई नै त्यहि दृष्टिकोणले हेर्न बाध्य पार्ने? प्रजातान्त्रमा जनताले प्रयोग गरेको मत कहिलेसम्म अपमानित हुने? भ्रष्टाचार र कुरीति कहिले सम्म फैलन दिने? नातावाद ,पार्टीबाद, जातिबाद, धर्मवादका पर्खालहरु तोडेर कहिले परिवर्तनका कुराहरु अविलम्बित गर्ने? कुन शाशक आउनु पर्ने हो वा जन्मनु पर्ने हो देशमा निष्पक्ष अमनचयन र सुशाशन कायम गर्न? कसैले न कसैले त राम्रो कामको शुरुवाति गर्नैपर्ने त पक्कै होला? हामी कतिपटक न सत्ता चलाउने हो र? सत्ता चलाउदा कम्तिमा नेपालीकोलागि र जनताको लागि यो ठिक भन्ने निर्णय गरेर इतिहासमा हामी अजम्बरी बन्ने काम किन नगर्ने? प्रजातान्त्रिक मुल्य र मान्यता कुराले हैन,ब्यवहारले देखाउने वातावरण तयार गरौं। राष्ट्र र राष्ट्रियताको सवालमा खरो उत्रनु प्रधानमन्त्रीज्यु। यस्तो ब्यक्तिले विजारोपन गरेका चक्रब्युहबाट बाहिरिनु र सु-राजनिति, सुशासन , सदाचार र सत्य व्यवहार लागू गर्ने असल शाशक बन्नु। धन्यवाद

२०७७ भाद्र २२,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको