अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध पनि लम्बियो


चैत २५, काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्‍यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए । कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतिबाट शिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताए ।

स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानून बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव विडारीले बताए ।

स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्नेृ कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार (जिटुजी) मार्फत प्रत्यक्ष खरिद गर्ने प्रकृया अघि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको उनले बताए । त्यस्तै, विदेशमा रहेका कुटनीतिक नियोगसँग समेत समन्वय गरेर सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

सचिव विडारीले कोभिड–१९ को संक्रमणका कारण अर्थतन्त्रमा पार्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको जानकारी समेत दिए । बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको विषयमा समेत समिक्षा भएको थियो ।

सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ जना परिवारलाई राहत वितरण गरेको सचिव विडारीले बताए । त्यस्तै, ३० हजार ५ सय जना व्यक्तिहरु अहिले विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेको समेत उनले बताए ।

लकडाउनको अवस्थमा २ हजार ६ सय भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २ सय ३५ सवारी साधनहरुलाई समेत कारबाही गरिएको छ । यस्तै, कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १ हजार ९ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको जानकारी समेत सचिव विडारीले दिए ।

२०७६ चैत्र २५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको