प्रधानमन्‍त्रीलाई नर्मल खाना दिन थालियो

फाइल तस्बिर

फागुन २४, काठमाडौं । मिर्गौला प्रत्यारोपणको चौथो दिन प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेपछि शनिबार पहिलो पटक प्रधानमन्त्री ओलीलाई नर्मल खाना दिइएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार शनिबारबाट नर्मल खान दिन थालिएको हो ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज चौथो दिन, उहाँको स्वास्थ्यस्थितिमा राम्रो सुधार भइरहेको छ’, प्रा.डा. खड्गाले भने, ‘ उहाँलाई नर्मल खाना दिन थालिएको छ ।’

प्रधानमन्त्री ओलीलाई सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको र उनका भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको प्रा.डा. खड्गाले बताए ।

सँगै प्रधानमन्त्रीकी मिर्गौला दाता उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमासमेत सुधार भइरहेको प्रा.डा खड्गाले जानकारी दिए । उनको पनि सबै भाइटल र ल्याब सूचक सामान्य अवस्थामा छन् । समीक्षालाईसमेत नर्मल खाना दिइएको छ भने हिँडडुल गर्न थालिसकेकी छन् ।
अस्पतालले हरेक दिन दिउँसो ४ बजे विज्ञप्तिमार्फत् प्रधानमन्त्री र मिर्गौलादाता समीक्षाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएको छ ।

प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएकी थिइन् । प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।

२४ फाल्गुन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको