सडकका खाल्टाखुल्टी पुर्ने कर्मचारीको व्यथाः २० घण्टा सडकमा, रातभरि अनिँदै


फागुन २४, काठमाडौं । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ ।

काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो ।

त्यहीँ परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ । उनीहरूले न निन्द्रा भन्न पाएका छन्, न सार्वजनिक बिदा । त्यति मात्र हैन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बिहीबार रातभरि काममा खटिएको बताए । ‘हामीले बिहीबार बेलुकादेखि शुक्रबार बिहान करिब ६ बजेसम्म कालोपत्रे थप्ने काम गर्यौ ।’ उनले राजधानीसँग भने । बिहीबार राति डिभिजन कार्यालय काठमाडौंले सोह«खुट्टे–बालाजु र कालिमाटी–विष्णुमती सडकखण्डमा कालोपत्रे थप्ने काम गरेको थियो ।

शुक्रबार राति पनि त्यस सडक खण्डमा काम भइरहेको प्रमुख नेपालीले बताए । ‘हिजो रातभरि काम गरे पनि आज चाँहि ११÷१२ बजेसम्म मात्र गर्ने योजना छ, पानी पर्ला कि जस्तो देखिएको छ, त्यसैले रातभरि नगरौं भन्ने भयो ।’ शुक्रबार साँझ टेलिफोनमा उनले भने ।

सडक विभागले हालै मात्र काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका नागढुंगामा कालोपत्रे थप्ने काम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयको गेट अगाडि, सिंहदरबार अगाडि, टेकु, प्रदर्शनीमार्ग, बानेश्वरलगायतका सडकखण्डमा कालोपत्रे थप्ने काम सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा १७ फागुनमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा २४ हजार तीन सय वर्गमिटर अर्थात् नौ हजार पाँच सय खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी गराएका थिए । त्यस क्रममा काठमाडौं उपत्यकामा २७ किमी सडकमा आवधिक मर्मतसहित कालोपत्रे कार्य सम्पन्न भएको जानकारी गराएका थिए ।

रातभरि काम छैन सुविधा

सडक विभागका कर्मचारीले रातभरि काममा खटिए पनि त्यसबापतको सुविधा भने पाएका छैनन् । डिभिजन प्रमुख नेपालीले आफूलाई सुविधा नदिए पनि अन्य कर्मचारीलाई प्रोत्साहनका लागि सुविधा दिन मन्त्रालयसँग आग्रह गरेको बताए । उनका अनुसार पाँच जना इन्जिनियर, १२ जना सब–इन्जिनियर काठमाडौं डिभिजनमार्फत खट्दै आएका छन् । ‘जेब्रा क्रसिङ’ जोगाउनै मुस्किल सरकारले जेब्रा क्रसिङ तथा लेन बनाउने कामलाई पनि तीव्रता दिएको छ । तर, सर्वसाधरणको असहयोगले काम नै प्रभावहीन बनेको छ । जेब्रा क्रसिङ निर्माणपछि सुक्नका लागि कम्तीमा १५ मिनेट आवश्यक पर्ने हुन्छ । तर, सर्वसाधरणले जथाभाबी सवारी चलाइदिनाले जेब्रा क्रसिङ बनाई नसक्दै उक्किँदै आएको छ ।

सरकारले आफ्नै घर आँगन अगाडि विकास निर्माणको काम गरिरहँदा पनि सर्वसाधरणले भने बेवास्ता गर्ने गरेका छन् । सडक विभागका अनुसार सडक मर्मत तथा स्तररीकरणमा सहयोग गर्ने काममा स्थानीयको भूमिका शून्य जस्तै रहेको छ । कतिपयले विकास निर्माणको विषय उठाए पनि साझा मुद्दाभन्दा पनि स्वार्थका आधारमा मुद्दा उठाउने गरेको एक अधिकारी बताउँछन् ।

सहरी मन्त्रालयको सक्रियता बढ्यो

काठमाडौं उपत्यकाको विभिन्न स्थानका सडकमा कालोपत्रेको कामले तीव्रता पाइरहेको अवस्थामा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि थप पहल अगाडि बढाएका छन् । मन्त्रीको सचिवालयका अनुसार शनिबार सोह्रखुट्टे लिंकरोडदेखि ढल्को लिंकरोडसम्मका विभिन्न स्थानमा कालोपत्रे हुन लागेको छ ।

बालाजु बाइपासदेखि मुड्खु भञ्ज्याङसम्म पुग्ने सडक पनि शनिबारदेखि नै कालोपत्रे सुरु हुने भएको छ । सडक कालोपत्रे भएपछि नुवाकोट र रसुवाको यात्रा गर्ने सर्वसाधारणलाई पनि सहज हुनेछ ।

सचिवालयका अनुसार मन्त्री मानन्धरको पहलमा यसअघि बालाजुको माछापोखरीदेखि बाइपाससम्मको सडक कालोपत्रे भइसकेको छ भने सोह्रखुट्टेदेखि बालाजु चोकसम्मको सडक पनि कालोपत्रे गरिएको छ । काठमाडौं उपत्यकासहित देशभर सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको बताउँदै मन्त्री मानन्धरले केही दिनभित्र उपत्यकाका भित्री सडक सफा हुने बताएका छन् ।

ट्राफिक व्यवस्थापनका लागि पनि मन्त्री मानन्धरले शुक्रबार ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकाल र महानगरीय प्रहरीका प्रमुख धनपति सापकोटासँग छलफल गरेका छन् । छलफलका क्रममा तत्काल लिंकरोडका विभिन्न स्थानमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउने बारे पहल भएको छ । बालाजु माछापोखरीलगायतका स्थानमा देखिएको अव्यवस्थित पार्किङ व्यवस्थापन थालिनेछ ।

२४ फाल्गुन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको