नेपाली समाजलाई चुनौती दिने उदाहरणीय सपना


हिजोको त्यो सपना र आजको यो सपना । हिजो छरछिमेकले बिग्रेको भनिएकी केटी, आज बिश्वले उदाहरण मानेकी बेटी ।

जो हिजो सपनालाई बिग्रेकी केटी भन्नेहरुले पनि आज छोरी होस् त सपना जस्तो भन्न भ्याए । आज हरेकले भन्छ, हाम्रा छोरीहरु पनि सपना जस्तै बिश्वका १०० उत्कृष्ट महिलामा छनौट होउन् । उत्कृष्ट महिलामा छनौट हुनको लागि छोरीहरु सपना जस्तै हुनुपर्छ । सपना बन्न ल्याकत चाहिन्छ ।

एउटा समय आउँछ, सहि के हो ? गलत के हो ? थाहै पाइदैन । त्यो उमेर सबैले भोग्नैपर्छ । बिग्रीनु पनि पर्छ र सप्रीन पनि जान्नुपर्छ । सप्रेर बिग्रीनु भन्दा एकपटक बिग्रेर सप्रेको मान्छे प्रेरणाको स्रोत बन्छ । संधै लडिरहने पो नराम्रो तर लडेर उठ्नु र फेरि दृढताका साथ पाइलाहरु चाल्नु पो साहसिक काम त । सपनाबाट हर छोराछोरीले यहि पाठ सिक्नुपर्छ ।

परिवारले पनि नचिनेको सपनालाई धन्य पहिले बिबिसीले चिन्यो । बल्ल परिवारले चिन्यो, बाबुआमाले चिने, छिमेकले चिन्यो, जिल्लाले चिन्यो, मगर संघले चिन्यो । अर्थमन्त्रीले चिन्यो, नेपालका नामुद पत्रकारहरुले चिने । बैज्ञानिक महाबिर पुनले चिने । यहि रोलक्रममा मैले पनि चिने । उहाँ म्याग्दिको, जोसंग मेरो जमिन जोडिएको छ । नाता लगाउनै प-यो । हिजो बुवाआमालाई समेत यो मेरो छोरी हो भनेर चिनाउन पक्कै सकस लाग्यो होला समाजको अगाडी । आज गर्बले छाती फुलेको होला र दुनियाँलाई म सपनाको बाबुआमा हुँ भन्ने लागेको होला । छिमेकीले म सपनाको छिमेकी, जिल्लाबासीले पनि म सपनाको जिल्लाबासी, अहिले मलाई भन्न मन लागेको छ, म सपनाको देशको नागरिक हुँ । उसको नामले देश रोशन भएको छ । उसको जमिन, जन्मेको गाउँठाउँको परिचय फराकिलो भएको छ र भनिने भएको छ, त्यो सपनाको गाउँ हो । सपनाको देश हो ।

नेपाली समाजको एउटा परम्परा अनुसार दागबत्ती दिनलाई छोरो चाहिन्छ । छोरोले दागबत्ती दिए स्वर्गमा पुग्न सकिन्छ भन्ने मान्यता छ । त्यो मान्यता मलाई बहियात लाग्छ । जुन मान्यतालाई सपनाले धुजाधुजा पारिदिए, चकनाचुर पारिदिए र छोरीले पनि दागबत्ती दिनसक्छे भनेर यो सामाजलाई बलियो सबक सिकाउन सफल भयौ ।

केहिलाई लाग्न सक्छ, सपना घरबाट भागेर गलत गरे । गलत नगरेको भए पाठ पनि त सिक्दैनथे नि । सडकमा नसुतेको भए सडकको जिन्दगी कस्तो हुन्छ ? कसरी थाहा पाउथे ? जे गरे ठिकै गरे । जे भइरहेको छ, राम्रैको लागि भइरहेको छ, जे हुनेछ, राम्रैको लागि हुनेछ ।

इतिहासलाई पनि स्मरण गरौं, सिद्धार्थ नामका केटो पनि घर छोडेरै बुद्ध भएर निस्केका थिए । हाम्रो सपना पनि म्याग्दिबाट भागेर सबैको सपना बने । आज सपना हामी सबैको सपना, यो देशको सपना भएको छ । जे ग-यौ, ठिकै ग-यौ । ओशोले भनेका थिए, केही गर्नुछ भने घर त्याग्नै पर्छ ।

एउटा महत्वपूर्ण कुरा, हाम्रो समाजमा खुट्टा तान्ने प्रवृत्तिको कुनै कमि छैन । हिजो जे थियौ, अन्य सपनाहरु सरह थियौ । केवल तिम्रो निजि सपना थियौ । जिउन पनि सजिलो थियो । कसैले के भन्ला भन्ने डर कमै हुन्थ्यो । आज समय फेरिएको छ । सबैको सपना भएका छौ । सबैको आँखा तिमी माथी केन्द्रित छ । तिमी के खान्छौ ? कहाँ जान्छौ ? कहाँ बस्छौ ? सबै खोजिनिधी हुनेछ । निगरानीको लागि मेरो शरिरमा सिसि क्यामेरा जडान गरिएको छ भनेर संधै याद राखिराख्नुपर्छ । अब तिमी तिमिमा सिमित रहेनौ । मान्छेहरुलाई त्यो चान्स नदिनु जो उनिहरुको खोजिको बिषय रहन्छ । थाहा होला नि हाम्रो समाजमा राम्रो भन्दा नराम्रोको बढी खोजी हुन्छ ।

मैले तिम्रा प्रसारित अन्तरबार्ताहरु सुने । बक्तृत्व पक्ष सबल छ । सबैले आशा राखेका छौँ, सपना सबैको सपना बनिरहनेछौ । र, उचालिएको तिम्रो शिर कहिलै ढल्न दिने छैनौ । शुभकामना !

२१ मंसिर २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको