जनमुक्ति सेनाको योगदान र प्रचण्डको धोकापन


तुफान सिंह कालिकोटे, विश्व कम्युनिस्ट आन्दोलनमा लालसेनाको योगदानलाई जसरी उच्च महत्वका साथ ग्रहण गरिन्छ, त्यो भन्दा कम महत्वको थिएन नेपाली जनमुक्ति सेनाको त्याग र बलिदान । भलै लालगद्दार पुष्पकमलको धोकाधडीले जनमुक्ति सेनाको विघटन भयो । यद्यपि जनमुक्ति सेना न कहिल्यै विघटन हुन्छ, न त यसको अस्तित्व नै नामेट हुन्छ । जबसम्म दुनियाँमा शोषण र उत्पीडन कायम रहन्छ, तबसम्म यसको सार्थकताको अन्त्य हुँदैन ।

अचेल नेपाली राजनीतिक चिया गफमा केपि – प्रचण्ड लुटेरा समुहको फुटको चर्चा चलिरहेको छ । अब फुट मात्रै होइन प्रचण्ड ज्यु तपाइको अब नराम्ररी दशा लाग्ने छ । १९ दिने जनआन्दोलन र १० वर्षे जनयुद्धको उपलब्धिको रक्षासम्म गर्न सक्नु भएन । आम नेताकार्यकर्ताको सपनाहरूलाई कुठाराघात गर्दै खसिको टाउको राखेर कुकुरको मासु बेच्ने संसदिय राजनीतिको सिकार बन्न तयार हुनु भयो ।

हो जो हजारौं नेपाली जनसमुदायका निर्दोष दाजुभाईलाई एक आपसमा लडाउँदै आफू सत्तामा जाने एउटा भर्याङ बनाउने काम तपाइँबाट भयो । कुनै बेला प्रचण्ड व्यक्तित्व होइन, उसको पथलाई लाखौं जनसमुदायले मान्न तयारी थिए । तर विडम्बना उसको एउटा मात्र उद्देश्य भनेको आफू देशको प्रमुख सत्ताको नाइके हुने मात्रै रहेछ भन्ने कुरामा हामीमा कुनै दुई मत छैन । आज आएर कति चाँडै तपाइँले ती भेरीकर्णालीका बस्तिहरूमा दिएको झुठो आश्वासनले कलिला मुनाहरूले हजारौंको संख्यामा बलिदान दिए र हजारौं दिदीबहिनीको सिन्दुर पुछिएको छ, भने बुढी आमा बेपत्ता भएकी छोरी र छोराको बाटो हेर्दै छिन् । कोहि नयाँ मान्छे टाढाबाट आएको देख्न बित्तिकै छोरा आयो की भन्दै झस्किन्छिन् ।

खोइ उनीहरूको सपनालाई त केबल आफुने सत्तामा जाने सपना पो बनाउनु भएछ ! त्यो छट्पटाई रहेको आत्माले तपाईं दुनियाँको कुनै ठाँउमा गएनी तपाइँलाई पोल्ने छ । आखिर किन र केका लागि थियोे ? यहि दिन देख्न मात्रै पनि होइन होला ! सर्वहारा श्रमजीवी वर्गको मुक्तिको लागि भनेर प्रचण्डलाई देशको राजनीतिको मुख्य ठाँउसम्म नेपाली जनताले एकपटक साथ दिएकै हुन् गर्न नसक्नु तपाइँको विवेकको कुरा हो ।

कामरेड जित, बहुबिर, योद्धा, सुनिल, कोपिला, झरना लगायतका झण्डै ८ हजार विद्रोहि पक्ष र राज्यपक्षबाट गरेर झन्डै १७ हजार को परिवारको अवस्था के छ तपाइँलाई थाहा छ ? अहिले बिहान-बेलुकी छाक टार्नसम्म सकिरहेका छैनन् । समाजमा हेर्ने दृष्टिकोण नै फरक छ, सहिद परिवारहरूलाई । यस्को प्रमुख कारक तत्व तपाइँ हो कामरेड प्रचण्ड ज्यु । र हजारौं घाइते साथीहरू अहिले एउटा सिटामोल र एन्टिबायोटिकसम्म किनेर खाने अबस्था त धेरै टाढाको कुरा भयो एक छाक राम्रोसँग खान पाउनु भएको छैन ।

यहि होत दश वर्षे जनयुद्धको उपलब्धि ? तपाइँ लगायत केहि जुत्ताको तलुवा चाट्नेहरूलाई त ठुलो भयो होला उपलब्धि तर जनयुद्धको वेला सपना देख्ने आदरणीय जनसमुदाय र नेताकार्यकर्ताको लागि एकादेशको कहानी नै बनाई दिनु भयो कामरेड प्रचण्ड ज्युले ।

जनयुद्धको वेला गोलिले नमर्ने वीर योद्धाहरू अहिले दिनहुँ जसो छिमेकी मुलुक भारत लगायत खाडी मुलुकमा ६०-६५ डिग्री सेल्सियसको त्यो घाममा आफ्नो श्रम बेच्दाबेच्दै ज्यान कति वेला के हुन्छ थाहा नै हुँदैन । अनि रातो बाकसमा आउन बाध्य छन् । यो कुनै रहर थिएन बाध्यता हो । यद्यपि जनमुक्ति सेना र नेताकार्यकर्ताको उचित व्यवस्थापन भएको भए, सुखदुःख आफ्नै देशमा गर्ने वातावरण मिलाई दिएको भए किन आज यस्तो अवस्था हुन्थ्यो ।

हिजो प्रचण्ड, बाबुराम, बादल लगायतका नेताहरूको टाउकोको मुल्य तोक्नेहरूसँगको घरज्वाईं भनौँ या पार्टी एकता गरेर दलालहरूसँग मिलेर जनयुद्धका कुसल कमान्डर आफ्नै सहयोद्दा नेत्रबिक्रम चन्द ‘विप्लव’लाई प्रतिबन्ध गर्नु कति जायज थियो ?
यो हामी अहिले चर्चा परिचर्चा नगरौं होला समयले आफै यसको फैसला गर्ने छ । जनयुद्धको अधुरो सपना पुरा गर्न अहिले पनि उहाँ जनताकै घर आँगनमा हुनुहुन्छ ।

लोकतान्त्रिक गणतन्त्र बाहली भएको देशमा स्वतन्त्र राजनीति गर्ने अधिकार जो कोहिलाई हुन्छ । त्यसैले २०७१ पुस २३-२६ गतेसम्म दाङको तुल्सिपुरमा ऎतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेर “एकीकृत जनक्रान्ती”को कार्यदिशा सर्वसम्मत रूपमा पारित गरिएको थियो । हाम्रो पार्टीले “एकीकृत जनक्रान्ती”को कार्यदिशाका आधारमा नेपालमा समाजवादी क्रान्ति सप्पन्न गर्ने महान र गौरवशाली योजना बनाएको थियो ।

लगत्तै आम नेताकार्यकर्ता जनताको बीच आफ्नो प्रष्ट विचार र कार्यदिशालाई लिएर देशका विभिन्न ठाँउमा पार्टीको निर्देशनमा संगठन निर्माणका काम कार्बाही अगाडि बढायो ।

“संसदवाद, आत्मसमर्पणवाद र बिसर्जनवादका विरुद्ध संघर्ष गरौं !
माक्र्सवाद – लेनिनवाद – माओवादको विकास गरौं !!”
भन्ने मुल नारा सहित २ वर्ष पछि पार्टीको ८ औं महाधिवेशन २०७३ फागुन १मा काठमाडौंमा उद्घाटन र ५-१० सम्म रोल्पाको थवाङमा बन्दसत्र सहित एकीकृत जनक्रान्ती हुँदै वैज्ञानिक समाजवाद सम्मको हाम्रो निरन्तर कार्यदिशा एक मतले हलबाट गडगडाहट तालिका साथ पारित भयो ।

यही कार्यदिशाको आडमा कामरेड विप्लवप्रति आदरणीय जनसमुदायको उल्लेखनीय साथ देखेर अब सकिदैन भन्ने आँकलन गरि विद्रोही नेकपा पार्टीलाई केपि ओलि-प्रचण्डको कथित कम्युनिस्ट सरकारका गृहमन्त्री रामेले प्रतिबन्ध गर्नु निकम्मा सरकार आफै असफल हुनु हो ।

– लेखक पुर्व जनमुक्ति सेना प्रतिबन्धित नेकपा युवा नेता  हुनुहुन्छ

२१ कार्तिक २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको