रुने साथी


धित मरुन्जेल रुनु
रोएर पुग्छ भने
जति आँसु छ सब चुहिनु देउ
तिम्रो पिडा सुक्छ भने
अझै क्वाँ – क्वाँ धाको छोडेर रुनु।

रोएर खोजेको पूरा होला त ?
अहँ ! हुँदैन
अरुलाई आँसु नदेखाई रुनु,
जीउनुको कला हो।
अरुलाई किन देखाउनु ती अमुल्य अश्रु
जो निर्मल छ।

मेरो दुखित साथी
समवेदना दिनु भन्दा समवेदनामा खेल्न रुचाउने
कलीका काला मनहरु
बल्ल खायो भन्ने छ्न।
होलान विरह र कहरका कहानीहरु,
किचिएका होलान सुन्दर सपनाका विहानीहरु
दुनियाँलाई बालमतलब भो
नाफा र नोक्सानको अङ्क गणित उद्योगमा
आसुको बजार भाउ भए पो मतलब हुन्छ।
दुखमा मलम लगाउन भन्दा त
कुरा र छुरा चलाउन मजा आउछरे
यो मजाकी बजारी दुनियाँमा ।

मेरो रुने साथी
कि रुवाईमा सिंह हुन्कारको गर्जन ल्याउनु
कि रुवाईमा संगीतको मदहोस झन्कार गुन्ज्याउनु
या आँसुमा
जिन बोदका भन्दा नशाको उत्तेजना सुमसुम्याउनु ।
मेरो रुने साथी
यहाँ कित डरको
कित डलरको या त संभोगी नशाको राज्य छ।
होईन भने आँसु नदेखाई
एकान्तमै मन पखाल्दै
पोखिदिनु साराका सारा रुने पारा
अनि सुरु गर्नु नयाँ जीवन ।

  • याङो श्रो मगर
२१ कार्तिक २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको