म किन मंगोलियन होइन ?


दिपा बुढा मगर ।
मङ्गोल र मङ्गोलियन बिचको फरक:
धेरै मान्छेलाई भ्रम छ कि मङ्गोल र मङ्गोलियन भनेको एउटै हो । त्यो गलत बिचार हो । मङ्गोल एउटा वर्ण हो भने मङ्गोलियन राष्ट्रियतासङ्ग जोडिन्छ । चीन र रुसको बिचमा एउटा मङ्गोलिया नामको ठूलो भुपरिबेष्ठित देश छ, त्यही देशका नागरिकहरुलाई मङ्गोलियन भनेर भनिन्छ, जसरी नेपालका नागरिकहरुलाई नेपाली भनिन्छ । म नेपाली नागरिक भएकाले आफुलाई मङ्गोलियन होइन मङ्गोल भन्छु । मङ्गोल चाहिँ किन ? किनभने मेरो छालाको रंग गहुँगोरो छ, मेरो नाकको थेप्चाई र चिम्सा मेरा आँखाहरुको बनावटले मलाई त्यो शिबिरमा राखेको हो ।

चङ्गेजखान र मङ्गोल:
बर्णको हिसावले चङ्गेजखान मङ्गोल थिए । धेरै मान्छेलाई लाग्न सक्छ मङ्गोलिया देशको जन्मसङ्गै मङ्गोल शब्दको उत्पत्ति भएको हो । त्यो गलत बुझाई हो ।

मङ्गोल बर्णका मान्छेहरु मङ्गोलियामा मात्रै नभई अन्य देशहरुमा पनि छौँ । त्यसैले मङ्गोल शब्द आम हो । त्यो हामी सबैको साझा वर्ण हो । बङ्गाली समुदायले आफ्नो देश बङ्गलादेश राख्न मिल्छ भने चङ्गेजखानले आफ्नो देशको नाम मङ्गोलिया राखेको कुरालाई अतिरन्जित रुपमा व्याख्या गर्नुको तुक नहोला । मङ्गोल शब्द १३औं शताब्दी भन्दा अगाडी नै अस्तित्वमा आएको बुझिन्छ । यहि शब्दबाटै मङ्गोलिया रहन गएको हो न कि मङ्गोलिया देशकै कारणले मङ्गोल बर्णको उत्पती भएको हो ।

मानव शास्त्रमा बर्णको बहस:
भन्न त मङ्गोलियाका नागरिकहरुले पनि आफुलाई मङ्गोल भन्दैनन् । मङ्गोलियन भन्छन् । बाटोमा हिडिरहेको कुनै चाइनिज वा जापानीज नागरिकलाई “तिमी मङ्गोल हौ ?” भनेर सोध्यो भने झटारो हान्न बेर लाग्दैन । किन ? किनभने त्यो देशका नागरिकहरुको बिचमा त्यो बहस छैन । त्यहाँ बहसको जरुरी पनि छैन । किनभने त्यहाँ रङ्गभेद छैन तर कुनै चाइनिज वा जापानीज मानब शास्त्रीहरुलाई जापान कोरिया वा चाइनिजको रङ्ग वा वर्ण के हो भनेर सोध्यो भने मङ्गोल भनेर जवाफ आउँछ । यो दार्शनिक कुरा हो । गहुँगोरो मान्छेले आफुलाई हब्सी वा आर्य भन्ला र ? उसले भन्ने मङ्गोल नै हो ।

ती समाजहरु र नेपाली समाजको सामाजिक परिबेश भिन्न छ । त्यहाँ एकल समुदायको समप्रभुत्व रहेकाले अफ्रीकी र नेपाल भारत जस्तो देशहरुमा जस्तो त्यहाँ रङ्गबादको आन्दोलन कहिलै भएन । छुवाछूतको बिरुद्धमा बहस गर्नुको अर्थ त्यहाँ छुवाछूत छ भन्नू हो । जातिय विभेद बिरुद्ध आन्दोलन हुनु भनेको त्यहाँ जाती विभेद छ भनेर बुझ्नुपर्छ । यदि कुनै देशमा छुवाछूत र जातीय विभेद छैन भने त्यसमाथि छुवाछूत र जातिय बिभेदको बहस पनि आबस्यकता छैन । यहि कारण ती देशहरुमा जातिय र रङ्गभेदी बिरुद्धको बहस भएन ।

नेपालमा जातिय र बर्णभेदको बहस किन ?
नेपाललमा जातिय र बर्णभेद बिरुद्धको आन्दोलन अबस्यकता छ । किनभने यहाँ जातिय र बर्ण विभेद छ । कतिपयलाई लाग्ला यो बहसले समाजलाई बिखण्डन तर्फ दो-याउनेछ । त्यो गलत तर्क हो । समाज त जातिबादी र बर्णभेदी शासकहरुले उहिलै बिभाजित गरिसकेको हो । यो बहसको अर्थ त्यो बिभाजित समाजको खाडललाई पुरौँ भन्ने हो । हामी भन्छौं, हिजो गलत भयो, त्यो गलत इतिहासलाई सच्याउँ । गलत कुरालाई गलत भन्दा समाज बिखण्डन हुन्छ ? गलत कुरालाई सच्याउँ भन्दा समाज विभाजित हुन्छ ? यदि यो बहस नउठाउने हो भने यो बिभाजनको रेखा भोलीको पुस्तासम्म पनि तन्किएर जानेछ । त्यसैले यो बहस जरुरी छ ।

भन्न त भनियो, यो देशलाई सयौं जातको फुलाबारी भनेर तर कहाँ फुल्न दिइयो सयौं फुलहरुलाई ? फुलाइयो त केवल एउटै फुललाई । देशका अंगअंगहरुमा हेरौं, निजामती कर्मचारी तन्त्रमा हेरौं, सेनामा हेरौं, सरकारमा हेरौं, अहिलेसम्म सबैभन्दा बढी प्रधानमन्त्री कुन जातको भएको छ ? कति जना दलितहरु सिडियो भए ? हालसम्म कतिजना मगर, गुरुङ, राई लिम्बू, जिरेल, सुरेल, धिमाल, कोचे, मेचे प्रधानन्यायाधीश भए ? कुन मन्दिरमा दलित पुजारी छ ? के यहि हो सयौं जातका साझा फुलबारी ? के यहि होइन जातीय विभेद ? के यहि होइन बर्णभेद ? यो गलत भइरहेको छ, यसलाई सच्याउन जरुरी छ भनेर भन्दा हामी बिखण्डनकारी हुन्छौँ ?

सयौं बर्ष देखि पीडा भोगेका छौँ । हामीलाई दुख्दा दुख्यो भनेर भन्न पनि नपाउनु ? ऐया पनि भन्न नपाउने कुरा हुन्छ ? त्यो चित्कारको अध्याय खतम गरौं र ईतिहासको नयाँ अध्याय लेखौं भनेर भन्दा कसैको टाउको दुखेर हुन्छ ? ती गल्तिहरुलाई सच्याउँ भन्दा के हामी बिखण्डनकारी भयौं ? लोकतन्त्रले दिएको अधिकारलाई सदुपयोग गर्न नपाउने पनि हुन्छ ? हामी यो देश भित्र अधिकार मागेका हौं छुट्टै देश होइन ।

ब्राह्मण क्षेत्री समुदायले जातिबाद र बर्णबाद बिरुद्धको बहसमा टाउको दुखाउन जरुरत छैन । आउनुस एकै ठाउँमा बसेर बहस गरौं । तपाइँका पुर्खाहरुले हामी माथि गरेको अत्याचारको फल हामी बर्तमानमा भोगिरहेका छौँ । यस बिषयमा समीक्षा गरौं न ।

हाम्रा पुर्खाहरुको कयौं नाक कानहरु काटिए, हामी नाकको बदला नाक भनेका छैनौं, कानको बदला कान मागेका छैनौं । केवल समानता मागेका हौं । यदि समानता मागेर पाइदैन भने आफ्नो अस्तित्वको लागि नयाँ ईतिहास लेख्न बाध्य हुनेछौं ।

२२ श्रावण २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको