चैत २४, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण कार्य जारि राखेको छ । आइतबारसम्म एक सय २८ घरपरिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
राहत सामग्रीको दुरुपयोग नहोस् भनेर विशेष ध्यान दिइएको जनाउँदै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सम्बन्धीत वडा कार्यालयले पहिचान गरेका पिडितलाई राहत उपलब्ध गराइएको जनाए ।
यसअघि वडा नम्बर २, ३ र ४ मा खाद्यान्न लगाएतका सामग्री वितरण गरिसकेको गाउँपालिकाले आईतबार वडा नम्बर १ र ६ का ५३ विपन्न घर परिवारलाई राहत प्रदान गरेको छ । १ नम्बर वडामा १७ र ६ नम्बर वडामा ३६ घर परिवारलाई चामल, नुन, तेल, दाल, साबुन वितरण गरिएको अध्यक्ष सेनले बताए ।
राहत वितरणको बेला हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै गाउँपालिकाले एक ब्यक्तिबाट अर्काे ब्यक्तिविचको दुरी कायम गरि राहत वितरण गरेको जनाएको छ । राहत संगै कोरोनाबाट बच्ने उपायका बारेमा पनि परामर्श गरिएको स्वास्थ्य शाखा संयोजक अरुण दाहालले जानकारि दिए ।
जनस्तरमै आएर परामर्श संगै खाद्यान्न सामग्री पाएपछि विपन्न परिवारहरु खुसि भएका छन् । कपुरकोट १ का कृष्ण लोहारले रोग र भोकको बेला स्थानीय सरकारले आफुहरुको पिडा बुझिदिएको भन्दै गाउँपालिकालाई धन्यवाद दिए ।
यस्तै कपुरकोट ६ सिनवांगका तुल्सी बुढाथोकीले घरमा अव के खाने हो भन्ने चिन्तामा परेको बेला आफ्नो वडामै आएर राहत प्रदान गर्दा हाम्रो लागि सरकार रहेछ भन्ने महसुस भएको बताईन् ।
कोरोनाको सम्भावित संक्रमणलाई रोक्न कपुरकोट गाउँपालिकाले शुरु देखी नै विभिन्न कदमहरु चाल्दै आएको छ । वडा स्तर र टोल स्तरमा पनि सतर्कता तथा निगरानी समूह गठन गरेर विदेश लगाएत शहर बाट आएका नागरिकलाई छुट्टै बस्न लगाउने जस्ता कार्य भइरहेको वडा नम्बर १ का वडा अध्यक्ष बालाराम खड्काले बताए ।
यस्तै ६ नम्बर वडामा पनि मास्क प्रयोग गर्ने, साबुनपानीले पटक पटक हात धुने, सामाजिक दुरी कायम राख्नुपर्ने जस्ता सचेतना फैलाउने कार्य नियमित रुपमा भइरहेको वडा अध्यक्ष हेरम बहादुर बुढाथोकीले बताए ।
प्रतिक्रिया दिनुहोस