चैत २४, काठमाडौं । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप तयारी गरेको छ। भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको संक्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो।
नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिए। गृहमन्त्री रामबहादुर थापाले पनि लकडाउनको समय बढाइने तयारी भइरहेको जानकारी दिए।
सरकारले यही चैत ११ गतेदेखि कोरोनाको संक्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै, चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मंगलबारसम्मका लागि थप गरिएको थियो।
लकडाउनलगायत मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। ‘लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ। सम्भवतः आज भोलि नै थप हुने निर्णय हुनसक्छ,’गृहमन्त्री थापाले भने।
उनले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो।
कोरोना संक्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म लकडाउनको अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारी रूपमा काम गर्न सरकारले निर्देशन दिएको छ।
मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरूपमा (मास स्केलमा) परीक्षण प्रक्रिया सुरू गर्ने निर्णय समेत गरेको थियो। समग्र अवस्थाको मूल्यांकन गरेर नागरिकको स्वास्थ्य अवस्थालाई समेत केन्द्रमा राखेर महत्वपूर्ण निर्णय लिइने मन्त्री थापाले जानकारी दिए।
कोभिड– १९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा समेत लकडाउनको अवधि थप गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो।
त्यसो त सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना संक्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न संघीय सरकारलाई आग्रह गरिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म नौ जनामा कोभिड– १९ को संक्रमण भएको छ।
यसैबीच गृहमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानूनी गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरूपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको बताए।
दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्वका साथ आफूहरूले संयोजन एवं निर्देशन गरेको उनको भनाइ छ। रासस
प्रतिक्रिया दिनुहोस