मलेशियालाई पराजित गर्दै हङकङ एसीसी एसिया कप छनोटमा


फागुन २३, काठमाडौँ । मलेशियालाई पराजित गर्दै हङकङ एसीसी एशिया कप छनोट प्रतियोगिताका लागि छनोट भएको छ । थाइल्यान्डमा सम्पन्न एसीसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटमा हङकङले मलेशियालाई ६ विकेटले पराजित गरेको हो।

यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको छ। हङकङ उपविजेता बन्दै एशिया कपमा छनोट भएको हो।

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा मलेशियाले जितका लागि दिएको १३३ रनको लक्ष्यलाई हङकङले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

हङकङका शाहिद वासिफले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जेम्स जोनले अविजित ३३ रन बनाए। बलिङतर्फ मलेशियाका पवनदीप सिंहले दुई विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो। उसका लागि भिरणदिप सिंहले ३३, सायद अजिजले ३० तथा खिजार हायतले २२ रन बनाएका थिए।

हङ्कङका मोहमद अजिज खानले दुई विकेट लिए। हङकङले चार खेलमा ६ अङ्क जोडेको हो। प्रतियोगिताको उपाधि भने सिङ्गापुरले जित्यो। सिङ्गापुरले सात अङ्क जोड्दै उपाधि जितेको हो।

शुक्रबारै हुने भनिएको नेपाल र सिङ्गापुरबीचको खेल वर्षाका कारण टस नै गर्न नपाइ रद्द भएको थियो। वर्षाले मैदान खेल्न योग्य नभएपछि दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए। नेपाल भने यसअघि नै प्रतियोगितबाट बाहिरिएको थियो।

२०७६ फाल्गुन २३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको