प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पछिल्लो अपडेट: कस्तो छ अवस्था ?


फागुन २३, काठमाडौँ । प्रधानमन्त्री केपी ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षा गरेभन्दा धेरै राम्रो छ,’ शल्यचिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले भने ।

ओलीलाई तरल तथा नरम खानेकुरा दिन थालिएको छ । प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालिसकेको अस्पतालले जनाएको छ । तर, मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति संक्रमणको उच्च जोखिममा रहने भएकाले उपचारमा संलग्न चिकित्सकबाहेक अन्यलाई भेट गर्न दिइएको छैन । नयाँ पत्रिकामा खबर छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले भने, ‘प्रधानमन्त्रीज्यू घाउ दुख्यो भने दुख्यो भन्नुहुन्छ । अन्य वेला ठीक छ, दुखेको छैन भन्नुहुन्छ ।’ संक्रमणलाई मध्यनजर गर्दै ओलीलाई एक सातापछि आइसियूबाटै डिस्चार्ज दिने तयारी चिकित्सकको छ ।

प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गर्न थाले पनि अहिले नै शरीरले मिर्गौला लियो भनेर दाबी गर्ने वेला भने नभएको चिकित्सकहरू बताउँछन् । ओलीको ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई पनि तरल तथा नरम खाना दिन सुरु गरिएको निर्देशक खड्गाले बताए ।

२३ फाल्गुन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको