बादलले राखेको प्रस्ताव सचिवालय सदस्यले गरे अस्वीकार

फाइल तस्बिर

मङ्सिर २०, काठमाडौँ । नेकपाको सचिवालयमा अध्यक्षद्वयले पेस गरेका दुई प्रतिवेदनले चुलिएको विवाद समाधानका लागि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अघि सारेको दुई प्रस्ताव बहुमत सद्स्यले अस्वीकार गरेका छन् ।

बादलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव र त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याएको जवाफी प्रतिवेदनलाई थाती राखेर साझा प्रस्ताव ल्याउन सुझाव दिएका थिए।

सचिवालयका एक नेताका अनुसार उनको सो प्रस्तावलाई अरु सदस्यहरुले अस्वीकार गरेका थिए ।

ती नेताका अनुसार दुई अध्यक्षले पेस गरेका दुवै प्रस्तावमा एकले अर्कोलाई लगाएका आरोपहरुको सत्य अन्वेषण गर्न तीन सदस्यीय छानबिन समिति गठन गर्न पनि बादलले प्रस्ताव गरेका थिए । तर त्यसलाई बहुमत सदस्यले अस्वीकार गरेपछि सो प्रस्ताव अघि बढ्न सकेन।

सो प्रस्ताव झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अस्वीकार गरेका थिए ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको १९ पृष्ठको राजनीतिक प्रस्तावबाट थप आक्रोशित भएका अध्यक्ष ओलीले १५ दिनपछि जवाफी प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए।

दुई प्रतिवेदनपछि झनै चुलिएको विवाद समाधान गर्न सचिवालय असफल भएपछि सो प्रतिवेदन स्थायी समितिमा पेस हुन लागेको हो।

भोलि १ बजे धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्थायी समिति बैठक बस्ने तय भएको छ ।

२० मंसिर २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको