२० दिनमै थपिए ९ हजारभन्दा बढी संक्रमित


असार २१, काठमाडौँ — लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३० देखि जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन भएको थियो । सरकारी कार्यालय पूर्ण रूपमा सुचारु भएको असार १ मा ६ हजार २ सय ११ जना संक्रमित थिए ।

असार १० मा संक्रमितको संख्या १० हजार नाघ्यो । शनिबारसम्म १५ हजार ४ सय ९१ पुगेको छ । यो बीचमा ९ हजार २ सय ८० जना संक्रमित थपिएका छन् । दुई जना मात्रै संक्रमित हुँदा मुलुकमा लकडाउन घोषणा गर्ने संयन्त्रले अहिले दैनिक ५ सयभन्दा बढी हुँदा पनि प्रभावकारी कदम चाल्न योजना बनाउन सकेको छैन ।

संक्रमितको संख्या दिनहुँ ३ अंकमा बढिरहँदा सरकार र सत्तारूढ दल भने आन्तरिक शक्ति संघर्षमा व्यस्त छन् । अप्ठेरो पर्दा जनतालाई सेवा गर्छौं भन्दै चुनाव जितेर आएका नेताहरू मुलुकमा आगोसरी फैलिरहेको कोरोना नियन्त्रणमा संवेदनशील देखिएका छैनन् । सरकार र सत्तारूढ दलमा नागरिकप्रतिको जिम्मेवारी र संवेदनशीलता कति छ भन्ने पछिल्लो दुई सातायताका घटनाक्रमले छर्लङ्ग पार्छन् ।

नेपालमा शनिबार मात्रै २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण देखिएको थियो । अहिले कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ । प्रदेशगत विवरणलाई हेर्ने हो भने प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, वाग्मतीमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३ र प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना संक्रमित छन् । यस्तै, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा एक/एक जना छन् भने सबैभन्दा बढी रौतहटमा १ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा. दिनेश न्यौपानेले कोरोनाको संक्रमण बढिरहेका बेला सरकार र सत्तारूढ पार्टीका शीर्ष नेताहरू राजनीतिक जोडघटाउमा लाग्नु दुर्भाग्य भएको बताए । ‘कोरोनाबाट ध्यान हट्ने कुनै पनि कार्य अहिलेलाई बर्जित गर्नुपर्छ,’ उनले भने, ‘हामीले देशलाई सुरक्षित बनाएर ठूलो क्षतिबाट जोगाउन धेरै मौका गुमाइसकेका छौं । अहिले यो अवस्थामा फेरि पनि राजनीति नै ठूलो भनेर त्यता बहस केन्द्रित गर्ने हो भने ठूलै दुर्घटनाले हाम्रो ढोका ढक्ढक्याइरहेको छ भनेर बुझे हुन्छ ।’

जनस्वास्थ्यविद् तथा विश्व स्वास्थ्य संगठनजस्ता निकायले नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अवस्था नजिकिएको बताइरहेका छन् । ‘देश र नागरिकलाई सरकार चाहिने भनेकै संकटका बेलामा त हो, अरू बेलामा त देश यसै चलिरहेकै छ,’ उनले भने, ‘नेताहरूले देश र जनताको जीवनरक्षाका बारेमा सोच्नु जरुरी छ ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार अहिले शक्ति प्रदर्शन गर्ने, सत्ता ढाल्ने, बनाउने र द्वन्द्व गर्ने बेला होइन । ‘कोरोना भाइरसको महामारीविरुद्ध जुध्नुपर्नेमा झगडा गर्नु गलत हो,’ उनले भने, ‘पार्टी एकतालाई मजबुत बनाएर फैलिरहेको कोरोनाको चेतना विस्तार गर्न तल्लो तहका कार्यकर्तासमेत परिचालन गर्नुपर्नेमा पार्टी फुटाउने खेल खेल्नु कसैको पनि हितमा हुँदैन ।’

कोरोनाप्रति सरकार संवेदनशील नभएको अहिले मात्रै होइन, मुलुकमा कोरोना संक्रमितको संख्या ३१ जना पुग्दा सरकारको ध्यान दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनमा केन्द्रित थियो । वैशाख ८ मा ३१ जना संक्रमित पुगेकै दिन सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरी गरेको थियो । राष्ट्रपतिबाट तत्काल अध्यादेश प्रमाणित भएपछि नेकपामा शक्ति संघर्ष सुरु भएको थियो । त्यसयता सरकारको नेतृत्व गरेको दल नेकपाका नेताहरू, प्रधानमन्त्री र मन्त्रीहरूको ध्यान कोरोना नियन्त्रणभन्दा शक्ति संघर्षमै बढी छ । वैशाख १७ मा संक्रमितको संख्या ५७ जना पुग्यो, त्यही दिन नेकपाका सचिवालय बैठकमा पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको थियो । सबैभन्दा बढी संक्रमित देखिएको शुक्रबार पनि ओलीको राजीनामाकै मागवरिपरि राजनीति घुमिरहेको थियो ।

प्रधानमन्त्री र मन्त्रीको ध्यान सरकार जोगाउनेतर्फ केन्द्रित छ । नेकपाभित्र आन्तरिक द्वन्द्व बढ्दै गएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति (सीसीएमसी) ले प्रभावकारी काम गर्न नसकेपछि भंग गर्नुपर्ने अवस्था आएको छ । समिति र सीसीएमसीको काम प्रभावकारी नभएकै कारण जेठ १ मा २ सय ४९ संक्रमित देखिएकामा जेठ ३२ मा यो संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

चैत ११ मा लकडाउन हुँदा मुलुकमा दुई जना मात्रै संक्रमित थिए । हवाई सेवासमेत बन्द भएपछि विदेशबाट आउजाउ रोकिएको थियो । सीमानाका बन्द गरेपछि भारतबाट आउने क्रम रोकिएको थियो । लकडाउनकै बीच भारत हुँदै लुकीछिपी आउन थालेपछि विस्तारै संक्रमितको संख्या बढ्दै गएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार चैत अन्तिमसम्म संक्रमित १२ जना मात्रै थिए । वैशाख अन्तिममा यो संख्या २ सय ४३ पुग्यो । यो समाचार आजको कान्तिपुरमा विस्तृतमा छ |

२०७७ असार २१,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको