कमरेड आफैमा प्रीय शब्द । झन यो शब्दलाई उच्चारण गर्दा छाती त्यसै गर्विलो हुने । आहा ! कति ओजन्दार शब्द हो “कमरेड” ? मन त्यसै खुसि हुने , दिमाग त्यसै तातिने । कस्तो गजबको शब्द छ “कमरेड” ? जिउ त्यसै हल्लाई दिने । हुन त यो शब्द संग मेरो कुनै हाडनाता छैन । तै पनि आफ्नै लाग्ने शब्द बोल्दा र बोलाउदा । बिगतमा मेरो कमरेडहरु संग निकै बोलचाल थियो । अझै यदाकदा बोलिन्छ । अतीत त अतीत नै भैइहाल्यो । त्यही अतीत संग जोडिएको शब्द हो कमरेड । सायद त्यसै कारण पनि मलाई “कमरेड” शब्द प्रीय लागेको होला । आत्मिय लागेको होला ।
प्रीय र आत्मिय पनि कसरी नलागवस ? जहाँ खादै गरेको भुतेको मकैको खाजा बाँडेर खाइन्थ्यो । मुखमै हालेको गास फर्काएर भाग लगाइ बाँडिचुडी खाइन्थ्यो । लगाइ रहेको कपडा फुकालेर दिइन्थ्यो “कमरेड” लाई । कमरेड खुसी हुने अनि हामी पनि । खानै नपाए पनि , लगाउनै नपाए पनि मुखमा “कमरेड” शब्द झुन्डिन्थ्यो । गाउँमा कतै कमरेड आउनु भएको खबर पाए गाउँले भेला हुन्थौं । कमरेडलाई सुन्न , कमरेडलाई हेर्न । एकचोटि बिहानै बिहानको खाजाको रुपमा “आमा”ले हाँडिमा मकै भुत्दै हुनुहुन्थ्यो । हामी त्यहि मकै चपाउदै , सके जतिको गोजा भरी बनाउदै घाँस , दाउरा , स्याउला खेर्न जान्थियौं । त्यो दिन पल्लो गाउँको “काका” कमरेड टुपुलुक्क आगनमा आइ पुग्नु भयो । म आगन बदार्दैथे । काकालाई मैले त्यति खेर नै हो “काका” नभनेर “कमरेड” भनेर सम्बोधन गरेको । अलिअलि आएको जुङ्गा हल्लाउदै काकाले भन्नू भयो – लु लु लालसलाम भन काकालाई । मैले काकालाई काका हैन “कमरेड” भनेर भने । त्यसपछि काकालाई लालसलाम भने । काकाले त्यसरी हैन अलिक बेस्सरी मुठी कसेर भने। मैले मुठ्ठी कस्न नजाने पछि काकाले “लाल सलाम – अभिवादन ” अभिवादन – लाल सलाम” भनेर तिनचार चोटि सिकाउनु भएको थियो । हो त्यही दिन देखि मैले “कमरेड – लालसलाम – अभिवादन कमरेड ” भन्दै मुठ्ठी कस्न सिकेको ।
त्यति खेर काकाले हात मिलाउने तरिकाहरु पनि सिकाउनु भएको थियो । हात मिलाउदा “च्याप्पै” कसेर मिलाउनु पर्ने रहेछ त्यो पनि त्यही दिन जाने मैले । त्यसरी कस्दा हातका औलाहरु कर्याककुरुक नै हुने रहेछ । मैले आगन बदार्न छोडेर त्यो दिन बिहान काक”कमरेड” संग “लाल सलाम – अभिवादन ” अभिवादन- लालसलाम” अनि हात मिलाउन सिके । मन खुसी भयो । एक प्रकारको तागत बढेर आयो दिमागमा , मनमा , तनमा । काका कमरेड र मैले त्यति गरिरहदा भित्र आमाले मकै भुती सक्नु भएछ । खाजा खान बोलाउनु भयो । काका कमरेड संग भित्र पसेउ । काकाले आमालाई भाउजू “नमस्कार” भन्दै छेवैको चकटी तानेर अगेना छेउमै बस्नु भयो । म काका कमरेड संगै ताँसिएर बसे । काका कमरेडको गोजाबाट अनेकथरी गन्ध आइरहेको थियो । मैले सोधे काका कमरेडलाई । काका कमरेडले भन्नू भएन – मैले जबर्जस्ति काका कमरेडको गोजिमा हात हाले । प्लास्टिकको पोको थियो । खोलेर हेर्न खोजे , हेर्न दिनु भएन । त्यतिकैमा आमा कराउनु भयो – कति सताउछस तेरो काकालाई ? मैले भने काका हैइन के “आमा” – “कमरेड” पो त ।
काका कमरेडको गोजामा के थियो त्यो ? त्यो जान्ने मनसायले काका कनरेडको गोजामा हात हाले फेरी , पोको निकाले , खोलेर हेर त्यो त भरुवा बन्दुक भर्ने बारुद पो रहेछ । एकछिन पछि काका कमरेडले मैले पोको खोलेको थाहा पाएर आफै भन्नू भएको थियो । यो बारुद हो भनेर । त्यति खेर मलाई यो बारुद के गर्छन भनेर थाहा सम्म पनि थिएन । पछि त्यही काका कमरेड , मामा कमरेड , दाइ कमरेडहरुको संगत गर्दा गर्दै थाहा पाए । त्यो दिन काका त्यही बस्नु भयो । म गोजामा भुतेको मकैको खाजा गोजा भरी हाल्दै हसिया र नाम्लो बोकि जंगल गए । गाई बस्तुलाई घाँस कात्ने , मल फाल्ने , गाई बस्तुको हेरचाह गर्ने लगभग मेरो दिनचर्या नै थियो । म घाँस काटेर फर्किदा काका कमरेडले डोको बुनिराख्नु भएको थियो । आमाले तल्लो बारीमा सिस्ना टिप्दै हुनुहुन्थ्यो । काका कमरेडले डोको बुनेर नभ्याउदै आमाले खाना तयार पारिसक्नु भएको थियो । खाना खाएर काका कमरेडले एकछिन आराम गर्नु भएको थियो । भुसुक्कै निदाउनु भएछ , उठ्नु नै भएन । म गाई बस्तु चराउन गए । बाख्राको पछि , गाई गोरुको पछि लाग्ने , स्यागु बोकेर , जानी नजानी बांसुरि बजाएर रनबन गाइबस्तुकै पछि डुल्थे । बाल्यकाल त्यही गोठाला जिवनले खाइदियो । साँझ गाइबस्तु ल्याएर घर आए । काका कमरेड हुनुहुन्थ्यो । मैले आमालाई सोधे – कमरेड खै त ? आमाले जवाफ दिनु भयो को कमरेड ? काका के मैले आमाको जवाफ फर्काए ।
ए ए तेरो काका ? आमाले भन्नू भयो । अँ अँ मैले भने । ए ए गैगे उनी ता पछि आउछन अरे । ह्वामामा के काम थियो त्यतै जाने हुन अरे । आमाको जवाफ नसकिदै बाहिर आगनमा आएर हेरे – काका कमरेडले बुन्नु भएको डोको आधी नै थियो । अनि मैले भने अनि डोको त पूरा नै नबनाएर जानू भएछ त “कमरेड” त । आमाले भन्नु भयो पछि आएर पूरा बनाउनुहुन्छ अरे – साँझ पर्यो दुई जनाले खाने खाना दिउँसो नै तीन जनाले खाएपछि साँझ बनाउने आटोको मीठो दिउँसो नै सकिएछ । त्यो रात आमा र मैले आटो खाएनौ । आमाले फेरि मकै भुट्नु भयो । चाङुली (गाइको नाम) गाइको मोही संग आमा र मैले त्यो रात मकैको खाजा खाएर सुतिउ । तै पनि केही गुनासा थिएन्न । केही आपत्ति थिएन्न । कहिले खाएर कहिले नखाएर अनि कहिए आधी खाएर हामी बानी नै परि सकेका थियौं । जेठा दाजु र माइला दाजु कहिले कता कहिले कता हिड्नुहुन्छ । घर आउने जाने कुनै समय हुदैन्थियो । त्यही कारण बाबाको देहान्त पछि प्राय: घरमा आमा र म नै हुन्थियौं ।
गाउँमा (हाङबाङ) मकै पिस्ने घट्ट या मिल नभएपछि सजिलोको लागि एकदिन आमा र मकै पिस्न माडिचौर आएका थियौं । ती कमरेड काकाको घर माडिचौर पनि हो । तल लुङ्री खोलामा मिल । त्यसैको माथी तिर ती काका कमरेडको घर । मिलमा पालो नपाएकोले आमा र म मिल बाहिर घाम ताप्दै बसिरहेका थियौं । लुङ्री खोला एकनाशले सुसाउदैथियो । भित्रबाट मिलको आवाज “गड्र्याक-गुड्रुक” आइरहेको थियो । त्यसै बखत खोलापारीको बाटो हुँदै एकहुल पुलिशले दुइतिनजना अपरिचित मान्छेलाई समाटेर लगिरहेको थियो । ति मध्यमा एक जनाले हड्कडी लगाएको दुबै हात हामी तिर हल्लाउदैथे । त्यसको इसारा मैले त्यो पल बुझेन । को हुन ? किन हात हल्लाएका ? हामी त्यसको को हौं र ? मनमा यस्तै कुरा खेलिरहेको थियो । एकछिन पछि मिलमा खबर आयो फलानालाइ पुलिशले समाटेर लग्यो । घरमा उनको जोई (स्वास्नी) बच्चा जन्माउने छन अरे ती भएर घर आएका हुन अरे त्यही बेला कुरा लगाइदिएर घरमाथिको ओडारबाट पुलिशले समातेर लग्यो । ती मान्छेहरुले काका कमरेडको नाम लिइरहेकाथिए । मैले हतारहतार हात हल्लाएको बाटो तिर हेरे । त्यति सम्म तिनिहरुले डाँडा काती सकेका थिए । मैले कतै देखिन तिनिहरुलाई । काका कमरेड संग बिताएका पल , जिस्केको दिनहरु याद आयो एक्कासि , मैले बाटो तिर हेरेर हात हल्लाए तर कोइ थिएन्न त्यहाँ ।
मिलमा सबैले अडकल गर्न थाले । अब मार्छन , यो सारी हाङ क्रस गर्ने बितिकै मार्छन । जिउदो राख्दैन्न । भाग्नु – भाग्नु अलिक टाढा भाग्नु नि किन घर माथिको ओडारमा लुक्नु ? किन फ्हर आउनु ? मिलमा आएको मान्छेहरु प्राय: काका कमरेडले चिनेकै थिए । र मैले पनि आमाको माध्यमले चिनेकै थिए । मैले सब यो कुरा सुनिरहेको थिए । मैले हात हल्लाएको देखेर आमाले भन्नू भयो – अहिले हल्लाउछस ? अगिन तेरो काकाले हल्लाउदा हल्लाईदिएनस क्यार ? साँझ आमा संग घर फर्कियौं , आगनमा त्यही “काका कमरेड” ले बुन्नु भएको डोको थियो । डोकोको वरिपरि वहाँ “काका कमरेड” नै बसिरहनु भएको जस्तो लाग्थ्यो । आएर डोकोको बित मार्दिन्छु भनेर जानू भएको “काका कमरेड” त्यस पछि कहिल्यै फर्केर आउनु भएन । पछि कुरा थाहा भयो । काका कमरेडलाई मारेन्छन । सिधै लिवाङ कारागारमा चलान गरेछ्न । एक हप्ता पछि आमाले मलाई यो कुरा सुनाउनु भएको थियो । अ खुसी भए । एकदिनमा एक दिन त कसो काका कमरेड संग भेट नहोला ? मनमा कुरा खेल्दै गयो । मैले त्यो डोकोलाई आगनबाट उठाइ लागि गोठ माथिको रह (पोखरी) मा हाल्दिए । दिनदिनै ओल्टाइपल्टाइ गर्थे । पछि काका कमरेड नफर्के पछि त्यही काका कमरेडले आधी बुन्नु भएको डोकोमा मल बोके । डाउरा ल्याए । पानी भर्न गाग्री बोके । त्यो पल मलाई “काका कमरेड” लाई बोकिरहेको जस्तो महसुस हुन्थ्यो ।
समय बित्दै गयो , दिन ढल्दै गए । बर्ष बित्दै गयो । म पनि हुर्किदै गए । प्रत्यक्ष वा अप्रत्यक्ष कमरेडहरु संग साँठगांठ हुँदै गयो । उठबस बाक्लिदै गयो । म जानीजानी या अनजानमा “कमरेड” हरुलाई सहयोग गर्दै गए । काका कमरेडले सिकाउनु भएको “लाल सलाम – अभिवादन – अभिवादन – लाल सलाम” सिक्दै गए । म कसरी कसरी कमरेडहरु संग जोडिदै गए । शब्द आफैमा प्रीय लाग्दै गयो । आत्मिय लाग्दै गयो । पछि लिबाङ कारागारमा “काका कमरेड ” छन भन्ने कुरा थाहा पाएर कहिले सब्जी बेच्ने न्यू पारी कारागार पुग्थे त कहिले सरकारले काकालाई दिएको चामल लिउने न्यू पारी कारागार पुग्थे । बजारमा मेरो सब्जी बिक्री भएन भने म सिधै कारागार पुग्थे । त्यहाँ गएर “काका कमरेड” लाई बोलाउन लगाउथे । एकदुइ मुठा बाजि या तोरिको सब्जी दिएर काका कमरेडलाई भेट्थे । भेट्दा “लाल सलाम ” भन्न मन लाग्थ्यो । अभिवादन गर्न मन लाग्थ्यो । हात मिलाएर “कर्याककुरुक” बनाएर कस्न मन लाग्थ्यो । काका कमरेडले मेरो बजारमा बिक्री नभएको सब्जी पनि बिक्री गर्दिनुहुन्थ्यो । त्यहाँ आफु जस्तै कैदी जीवन बिताइरहेका कैदिहरुलाइ एक मुठा किन्दिने आग्रह गर्नुहुन्थ्यो । जेलरलाई भएर पुलिश दाइलाई किन्न लगाइदिनु हुन्थ्यो । काका कमरेड संगको नजिकको साथिभाइलाई किन्न लगाउनुहुन्थ्यो । म खुसी हुन्थे तर सब्जी बिक्री भयो भनेर हैन “काका कमरेड” संग भेटेर । “काका कमरेड” संग भेट हुने मौका जुरेर ।
त्यसपछि समय परिवर्तन हुँदै गयो । मलाई आर्थिक अबस्थाले च्याप्दै लग्यो । जिन्दगीले उछ्ट्याउदै लग्यो । जिन्दगीमा कहिले ठेस खादै गैइयो । समयको अन्तराल संगै हामी छुटियौं । भौगोलिक रुपले दुर भयौं । समय संगै हरेक चिज परिवर्तन भयो । तर अझै परिवर्तन भएको छैन मेरो मन , मेरो दिमाग , मेरो तन । कमरेड शब्द प्रती । कति प्रीय लाग्छ , कति आत्मिय लाग्छ यो शब्द । त्यही त आज त्यही शब्दलाई आधार बनाएर लेख्ने कोशिश गरे । अतीत तिर फर्किने प्रयास गरे । आहा ! कमरेड ।। मैले अक्सर हिन्दी फ्लिम हेर्दैन । हेरे पनि मन लाग्दैन । म आफ्नै भाषालाई माया गर्ने मान्छे । आफ्नै देशलाई प्यारो मान्ने मान्छे । कसरी हेरौ अर्काको देशको फिल्म ? कसरी हेरौ अर्काको भाषाको फिलिम ? अहं पटक्कै हेर्न मन लाग्दैन । सुन्न मन लाग्दैन त्यसै माथी भारतलाई मैले दुश्मन मान्छु । भारतलाई मैले अबसरवादी ठान्छु । केही महिना अगाडि भारतिय फिलिम (हिन्दी भाषामा) “DEAR COMRADE” युटुबमा आएको छ भनेर साथिहरुले सामाजिक संजालमा खुबै हल्लाखल्ला गरे । सुरुमा त दिमागले हेर भनेन मैले पनि युटुब खोल्दा भेटाएको थिए वास्ता गरेन ।
DEAR COMRADE को हल्ला सामाजिक संजालमा धेरै भएपछि मैले पनि हेर्ने निदो गरे । डिउतिमा मोबाईल चलाउन नपाए पनि कुना गएर लुकिलुकी डाउनलोड गरे र बसमा डिउती रुम -रुम डिउती जादा-आउदा हेरेर भ्याए । तर मन खाएन फिल्मले । भनौ फ्लिम त्यति मन परेन । लाग्यो “कमरेड” शब्द बेचेर निर्माताले ठुलै रकम कमायो । तर फिल्म हेर्दाको अबधी भर मैले मैले “काका कमरेड” लाई सम्झिरहे । समग्र नेपालका “कमरेड” हरुलाई सम्झिरहे । राता मान्छेहरुलाइ सम्झिरहे ।
देश र जनताको आहुती दिने ती वीर सहिद , अपाङ्ग , घाइते , बेपत्ता योगदाहरुलाई सम्झिरहे । कहाँ होलान अहिले ती मेरा आदरणीय “काका कमरेड , मामा कमरेड , दाइ कमरेड , जेठान कमरेडहरु ? जसले मलाई ” लाल सलाम ” गर्न सिकाए । लाल सलाम भन्न सिकाए । अभिवादन फर्काउन सिकाए । अभिवादन दिन सिकाए । लिन सिकाए । परदेशमा बसेर अतीत संग जोडिनु , अतीत सम्झिनु पनि एउटा परदेशिलाई समय चाहिने । अतीत सम्झिनु – अतीत सम्झाउन पनि समय छुटाउनु पर्ने कस्तो समयको पिजडा भित्र कैदी भएको म ? कस्तो जिन्दगी जिएको मैले ? कहिलेकाही मलाई जिन्दगी देखि अत्यार लाग्छ । निरास बन्छु त्यो बेला मैले ती काका कमरेड , ती मामा कमरेड , ती जेठान कमरेड अनि ती दाइ कमरेड समग्र “कमरेड नै कमरेड” हरुको भिडको मान्छे हुँ भन्ने लाग्छ अनि मनबाट निरासापन हट्दै जान्छ ।
अचेल पनि समाजिक संजालमा कसैले “कमरेड” भनेर सम्बोधन गरि लेखेर म्यासेज गरे भने मन खुसी हुन्छ । छाती गर्विलो हुन्छ । दिमाग तात्छ । सामाजिक संजाल तिर कतै ती काका कमरेडहरु भेटिनु हुन्छ कि ? दाइ कमरेडहरु देखिनु हुन्छ कि ? जेठान कमरेडहरुको म्यासेज पो आएको छ कि ? मामा कमरेडले पो फ्रेन्ड रिक्वीस्ट पठाउनु हुन्छ कि भनेर मन आशै आशमा छ । सामाजिक संजाल , फेशबुक , टुइटर , तिर कमरेडहरु देख्ने आश अनि भेटिने मनसाय अझै हटेको छैन । म संग जति पनि संजालमा कमरेडहरु जोडिनु भएको छ मात्रै तपाईंहरुको नाम पढ्न पनि मलाई गर्व लाग्छ । तपाईंको नाम संग मेरो मिटेरी साइनो छ जस्तो लाग्छ ।
अन्तमा जो कमरेड हुनुहुन्छ तपाईं अझै “कमरेड” बन्ने कोसिस गर्नुस जो कमरेड हुनुहुन्न तपाईं “कमरेड” हुने कोसिस गर्नुस । जो हुनुहुन्न वहाँलाई “कमरेड” बन्ने हौसला दिनुस । काका कमरेडले मलाई सिकाउनु भएको जस्तै । मामा कमरेडले देखाउनु भएको जस्तै , दाइ कमरेडले देखाउनु भएको हिम्मत जस्तै । अनि समग्र नेपाल भित्रका “कमरेड” हरुले दिनु भएको आहुती जस्तै हरेकले हरेकलाई “कमरेड” बन्न लालायित गर्नुस । हरेकलाई “कमरेड” बन्न हौसला दिनुस । किनकी “कमरेड” शब्द भित्र आफैमा बिम्ब छ । आफै बिद्रोही छ , आफै आधिकारिक छ अनि आफै प्रीय पनि छ आफै आत्मिय पनि छ ।
-केशब पुन मित्ज्यू
रोल्पा नगरपालिका नौ रोल्पा
हाल :- अरब
mgrkpk9@gmail.com
प्रतिक्रिया दिनुहोस